धनगढी, २३ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तरगत कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुरमा मंगलवार एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
मृत्यु हुनेमा सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत सहायक हवल्दार ३५ वर्षीय गोरख ऐर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको ओमसाइ अस्पतालको से १ च १८२८ नम्बरको एम्बुलेन्स र पूर्वबाट पश्चिमतर्फ आइरहेको म २ प ५३०३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार हवल्दारको मृत्यु भएको हो ।
मोटरसाइकल चालक घोडाघोडी नगरपालिका वडा नम्बर १० का २८ वर्षीय भरत बोहरा भने घाइते भएका छन्। एम्बुलेन्स चालक धनगढी उपमहानगरपालिका वडा नम्वर १० का ५४ वर्षीय आशाराम चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ ।