बाल्यकालका ती अविस्मरणीय दिनहरू जहाँ अभाव र गरीब नै निरन्तरका साथीहरू थिए । पन्चायत विरुद्ध कांग्रेस-कम्युनिस्टहरू फरकफरक शैलीको विद्रोहमा उत्रिएका थिए। निर्दलीय पन्चायती व्यवस्थाभित्र जति पनि राजतन्त्र विरोधी मानिसहरू थिए ती सबै जना अराष्ट्रिय तत्त्व , भेडाको छाला ओढेका ब्वाँसा अनि राजद्रोही भनेर आरोपित हुन्थे। अधिकांश नेताहरूको जीवन भूमिगत थियो। यो अवस्थामा नेताहरूको दिनचर्या जति कठिन थियो त्यति नै खतरापूर्ण पनि थियो। राज्यले भेट्यो कि, कि त मृत्युदन्ड कि त कठोर कारावास१ हाम्रो घरमा त्यो बेला दाजु नारद पोखरेललाई खोज्दै कतिपय अपरिचित मानिसहरू आइ राख्थे। यसरी आउने प्रायः सबै मानिसहरू दुब्ला, पातला र खियाउटे हुन्थे। उनीहरू घरपरिवार त्यागेर समाज परिवर्तनको महान अभियानमा निस्किएका निडर र निस्स्वार्थ नेताहरू थिए ।
एक दिन रातको करिब ९ बजे हामीले खाना खाइ सकेपछि २ जना मानिसहरू हाम्रो घरमा आए। दाजुले उनीहरूलाई साथीको रूपमा चिनाउनु भयो। छोराका साथीहरूका लागि भनेर आमा खानाको सुरसार गर्न लाग्नु भयो तर खाना खाइसकेको भनेर बनाउन दिएनन्। हाम्रो छाप्रोमा एक रात बिताएर बिहान नहुँदै अनिश्चित गन्तव्यमा उनीहरूले जानुपर्ने रहेछ। मलाई लाग्छ त्यो बेला उनीहरू भोकै थिए तरपनि हामीलाई दुस्ख नदिने मनसायले उनीहरूले खाना खान मानेनन्।
काका शम्भुप्रसाद पोखरेलको घरमा कांग्रेस – कम्युनिस्टका ठुल्ठुला नेताहरूको आवागमन भइ रहन्थ्यो, कृष्णप्रसाद, मनमोहन आदि आदि। उनीहरूको सादगीपूर्ण जीवनशैली र समुदायबाट पाएको अपार श्रद्धा देख्दा मेरो कलिलो मस्तिष्कमा पटकपटक एउटै भाव उम्लिन्थ्यो ठुलो भएपछि आफू पनि यस्तै नेता हुन सक्छु कि !
बिहान उठ्दा पाहुनाहरू बिदा भइसके छन्। पछि थाहा भयो उनीहरू त प्लेन अपहरणको घटनामा सहभागी नरेन्द्र ढुंगेल र दुर्गा सुवेदी रहेछन्।
उनीहरू राज्यबाट छलिएर ज्यान जोगाउन यसरी नै भौंतारिदै हिँड्दा रहेछन्। यसरी हिँड्दा सामान्य नागरिकका घरमा आश्रय लिनु र भित्रभित्रै पन्चायत विरोधी जनमत तयार पार्नु उनीहरूको अभीष्ट रहेछ।
इनरुवा, बलाहाका गोपी ढकाल सरको घरमा हामी सीमित सङ्ख्याका विद्यार्थी भेला भएका थियौँ। बन्द कोठाको अंध्यारोभित्र एक जना बौद्धिक व्यक्तिले हामीलाई आततायी राज्यव्यवस्था विरुद्ध झन्डै २ घन्टा प्रवचन दिए। देशमा क्रान्तिको ज्वालामुखी विस्फोट गराएर पन्चायती व्यवस्थालाई ध्वस्त नगरे सम्म गरिबहरूको कल्याण हुन सक्दैन भन्ने उनका विचारहरूको निष्कर्ष थियो। अति सामान्य देखिने उनी वास्तविक रूपमै विपन्न वर्गका प्रतिनिधि देखिन्थे। भोलिपल्ट मात्रै थाहा भयो उनी त तत्कालीन ूमालेू पार्टीका नेता प्रदीप नेपाल पो थिए। उनले हामीलाई विद्रोही चेतले भरिपूर्ण केही किताबहरू दिएका थिए( अजम्बरी गाउँ , नौलो बिहानी आदि।
काका शम्भुप्रसाद पोखरेलको घरमा कांग्रेस – कम्युनिस्टका ठुल्ठुला नेताहरूको आवागमन भइ रहन्थ्यो, कृष्णप्रसाद, मनमोहन आदि आदि। उनीहरूको सादगीपूर्ण जीवनशैली र समुदायबाट पाएको अपार श्रद्धा देख्दा मेरो कलिलो मस्तिष्कमा पटकपटक एउटै भाव उम्लिन्थ्यो ठुलो भएपछि आफू पनि यस्तै नेता हुन सक्छु कि !
समय अन्दाजी रातको ९/१० बजेको हुँदो हो हालका चरा विशेषज्ञ प्राज्ञ जीवनाथ पोखरेलको आँगनमा २०-२५ मानिसहरू बसेका थिए। बीचमा एक जना ज्यादै आकर्षक र तेजिलो अनुहार भएका व्यक्तिले सबैलाई आफ्ना कुरा सुनाइ रहेका थिए। म ९ कक्षामा पढ्दै गरेको कलिलो बालक पनि छेउमै बसेर कुरा सुनिरहेको थिएँ। ती व्यक्तिका कुराले यति धेरै मन्त्रमुग्ध बनायो कि आफ्नो परिवार र पढाइ छोडेर उनीसँगै जान पाए हुन्थ्यो जस्तो लाग्यो। भीडमा कसैले कानेखुसीको आवाजमा भनिरहेको थियो उनी “माले” पार्टीका उदीयमान नेता मदन भण्डारी हुन् भनेर।
भौतिक सुखसुविधाले मानिसको नैतिक मूल्य मान्यतालाई कति सम्म तल झार्दो रहेछ भन्ने कुरा आजको पहिलो पुस्ताका कतिपय नेताहरूको विलासपूर्ण जीवनशैलीबाट प्रष्ट हुन्छ। ती नेतालाई देख्दा कलिला मस्तिष्कहरूले पनि भावी लक्ष्यको सुन्दर परिकल्पना गरेका हुन्थे। हेर्दा साधारण थिए ती नेताहरू तर अनुभूतिमा असाधारण बिम्ब बनेर जनजनको मुटुभित्र विराजमान भइ रहन्थे।
आश्चर्य त यो कुरामा लाग्न थालेको छ, त्यसबेलाका नेतालाई देख्दा जति गर्व लाग्थ्यो अहिलेकालाई देख्दा त्यति नै लाज लाग्ने गर्छ।
ती नेताहरू भोका हुन्थे तरपनि कसैसँग माग्नुपर्दा धेरै असहज देखिन्थे। उनीहरूले चाहँदा शुभेच्छुकहरूले भोज नै ख्वाउने निश्चित हुँदाहुँदै पनि कि त रुखोसुखो मै चित्त बुझाउँथे कि त भोकै सुत्दथे। हामी केटाकेटी नै थियौँ तरपनि हाम्रो मस्तिष्कमा आदर्श व्यक्ति कस्तो हुन्छ भन्ने गहिरो छाप छोड्न उनीहरू सफल भएका थिए। उनीहरूलाई देख्दा संसार कै भाग्यमानी भएको अनुभूतिले हामी फुरुङ्ग पर्थ्यौँ। देश र जनताको मुक्तिका लागि ज्यानकै बाजि थापेर हिँडेका महान आत्माहरूलाई नेता मान्न पाउनु कम गौरवको कुरा थिएन।
भौतिक सुखसुविधाले मानिसको नैतिक मूल्य मान्यतालाई कति सम्म तल झार्दो रहेछ भन्ने कुरा आजको पहिलो पुस्ताका कतिपय नेताहरूको विलासपूर्ण जीवनशैलीबाट प्रष्ट हुन्छ। ती नेतालाई देख्दा कलिला मस्तिष्कहरूले पनि भावी लक्ष्यको सुन्दर परिकल्पना गरेका हुन्थे। हेर्दा साधारण थिए ती नेताहरू तर अनुभूतिमा असाधारण बिम्ब बनेर जनजनको मुटुभित्र विराजमान भइ रहन्थे।
अहिले नेता देख्दा कि त स्वार्थले नमस्कार गरिन्छ कि त अनिच्छापूर्वक करले। नेताको पछि लाग्दा कुनै पनि बेला मृत्युसँग साक्षात्कार हुनसक्ने अवस्थामा पनि सँगै जाउँजाउँ लाग्थ्यो। भय पटक्कै थिएन किनकि मनमा लेसमात्र पनि स्वार्थ थिएन। आज कतिपय नेता देख्दा पौराणिक कथाका दैत्यहरूको आकृति प्रतिबिम्बित भए झैँ लाग्छ।
आवरण जतिसुकै संस्कारयुक्त देखिए पनि पेटभित्रको कालोलाई त्यसले छोप्न सक्दैन। त्यो बेलाका नेताहरू आवरणमा विकर्षक हार्दिकतामा लोकप्रिय उपन्यासका नायक सरह हुन्थे। आजका नेताज्यूहरू मोटाघाटा, मूल्यवान पहिरनले सुशोभित अनि अत्तरको महकले मग्मगाइ रहेका पाइन्छन् तरपनि यिनीहरूको छेउमा उभिँदा हीनताबोधले शिर झुकाउनु पर्छ। त्यो मर्यादा, त्यो आदर्श, त्यो निस्वार्थता, त्यो सहनशीलता, त्यो कोमलता, त्यो गाम्भीर्य अनि गरिबीभित्रको वैभवशाली व्यक्तित्व वर्तमानको शीर्ष पुस्तामा खोज्नु पनि मुर्खता हुन पुगेको छ।
यसैगरी “नेता” शब्दको अवमूल्यन हुँदै जाने हो भने नयाँ पुस्ताका स्वच्छ प्रतिभाहरू राजनीतिप्रति कहिले आकर्षित हुने छैनन्। संस्काररहित राजनीतिको दुस्प्रभावले हाम्रो समाजलाई यति धेरै आक्रान्त पारिसकेको छ कि अब कुनै पार्टी विशेषको नेतृत्व परिवर्तन वा सुधारबाट मात्रै राजनीतिभित्रको फोहोर सफा हुन किमार्थ सक्दैन। आज सम्पूर्ण पार्टीभित्रका कथित शीर्ष नेताहरूको गिर्दो आचरणले नेता शब्दको साखलाई नै धमिल्याइ सकेको छ। यस्तै अवस्थाले निरंतरता पाइ राख्ने हो भने नेताप्रतिको जनआस्था शून्यबाट पनि तल झर्ने छ र हिजो स्वतन्त्रताको पक्षमा चट्टान जत्तिकै उभिएको जनलहरले विकल्पका रूपमा क्रूर तानाशाहको आवश्यकता बोध गर्ने छ। त्यो बेला अहिलेका सुकिलामुकिला नेताहरूको हालत, हविगत कति दुर्दशापूर्ण हुने हो र यिनीहरूका पछाडि अन्धो भएर दौडिनेहरूको जमात कत्रो हुने हो कल्पना गर्न समेत गाह्रो देखिन्छ।