हरेक व्यक्ति परिस्थितिको दास हो । परिस्थितिले सृजना गरेका विपद, सुख, दुख हरेक व्यक्तिले झेल्नैपर्छ । विश्वमा विभिन्न समयमा विभिन्न प्रकारका प्राकृतिक प्रकोप तथा विपदहरू आएका घटनाहरू हाम्रा सामु जगजाहेर नै छन् तर विज्ञानलाई नै चुनौती दिने अन्य प्रकोपहरूभन्दा पृथक रूपमा प्रस्तुत भएको यो कोरोना भाइरसको महामारीले अहिले विश्व नै सन्त्रासपूर्ण वातावरणमा छ । कोरोनाकै कारण यस डायरी लेख्न शुरु गर्ने समयसम्म विश्वमा२ लाख ३० हजार भन्दा बढीव्यक्तिहरूले ज्यान गुमाइसकेका छन् भने झन्डै ३३ लाख ३ हजार भन्दा बढीव्यक्तिहरू संक्रमित छन्। अन्य मुलुक जस्तै नेपाल सरकारले पनि आफ्नो देशमा थप संक्रमण बढ्न नदिन लकडाउन गरिरहेको छ। विपदको अवस्थामा हरेक व्यक्तिलाई मानसिक तनाब बढ्नु स्वाभाविकै हो तर हरेक समस्याको पनि सकारात्मक पक्ष खोतली परिस्थितिसँग सामना गर्ने र आफुलाई अग्रगामी दिशातर्फ लैजान सक्नु नै एक सफल र जिम्मेवार नागरिकको कर्तब्य हो।
म दुइ वालवालिकाकी आमा ( अभिभावक ),एक गृहिणी तथा पेशाले शिक्षक हुँ। म सँग मेरो व्यक्तिगत जीवनको अलावा मेरा बालबच्चा,मेरो परिवार,मेरा विद्यार्थी तथा सिङ्गो समाज नै जोडिएको हुन्छ। मेरो आचरण तथा कार्यशैलीले मसँग सरोकार राख्ने सबैलाई प्रभाव पारिरहेको हुन्छ । त्यसकारण मैले यस विपदको घडीमा कत्ति पनि बिचलित नभई आफुलाई विभिन्न रचनात्मक कार्यमा सामेल गराई लकडाउनलाई अवसरको रुपमा लिने प्रयत्न गर्दै सिङ्गो समाजलाई पनि त्यसै अनुरुप प्रेरित गर्ने जमर्को गरेकी छु।
व्यक्तिगत जीवनयात्रामा घटेका क्षण (घटना) लाई सिलसिलेवार रुपमा अभिलेख राख्ने माध्यम दैनिकी हो । विपदको बेला दैनिकीलाई भरोसायोग्य अनि सहानुभूतिशील साथीको रूपमा लिन सकिन्छ।कालान्तरमा दैनिकी एक शैक्षिक सामग्री पनि बन्न सक्छ । “शिक्षकहरूको अमेरिकी फेडेरेशन बालबालिकाका आमाबाबुलाई सधैं दैनिकी लेख्ने सल्लाह दिन्छ” । दैनिकीको महत्वलाई मध्यनजर गर्दै मैंले पनि आफ्ना दिनचर्याहरूलाई एउटा ढांचा दिने प्रयत्न गरेकी छु महामारीको बारेमा जनचेतना जगाउंदै आफू र समाजलाई सृजनात्मक कार्यमा समाबेश गर्नु र व्यक्तित्व बिकासमा टेवा पुर्याउनु नै मेरो यस लेखनको प्रमुख उद्देश्य रहेको छ ।
यस अवधिमा मैंले आफूलाई सधैं सृजनात्मक कार्यमा समावेश गरेकी छु । आफ्नो पेशागत बिकाशलाई टेवा दिने खालका रचनात्मक कार्यमा सामेल भै आफ्ना बाबुनानी ,परिवार साथै विद्यार्थीहरूलाई समेत महामारीबाट बच्न सतर्कता,सुरक्षाका उपाय बताउने,जनचेतना जगाउने,एक मनोशिक्षकको रूपमा मनोसामाजिक परामर्श दिदैआशा र हौसला प्रदान गर्ने, तनाब ब्यबस्थापन गर्ने तथा रचनात्मक कार्यमा लाग्न प्रेरणा दिने गरेकी छु । प्रायः जसो दोहोरिइरहने दिनचर्याहरू जस्तै : आफु,आफ्ना बालबालिकाप्रतिकोजिम्मेवारी, घर परिवारप्रतिको दायित्व त छँदैछन्, त्यसका अलावा प्रबिधिमैत्री शिक्षक समाज, नेपालले शिक्षणमा प्रविधिको प्रयोग, शैक्षिक सामग्री निर्माण तथा सङ्कलन गर्ने उद्देश्यका साथ निरन्तर सँचालन गरिरहेको अनलाइन तालिममा सक्रियतापूर्बक भाग लिई सिक्ने र सिकाउने कार्यमा दैनिक रूपमा संलग्न छु । अन्य अनलाइन कोर्ष पनि गरिरहेकी छु।
शैक्षिक सत्र २०७७ बाट नयाँ पाठ्यक्रम लागु हुँदैछ । यस समयमा उक्त पाठ्यक्रमको ढांचा अध्ययन गर्ने ,वार्षिक कार्ययोजना तथा शिक्षण सुधार योजनाको लागि आवश्यक सामग्रीहरू जुटाउने कार्यमा तल्लीन छु ।महामारीको कारणले विद्यार्थीहरूको पठनपाठनमा बाधा पुगेको छ । अबको शैक्षिक सत्रमा तुलनात्मक रूपमा विद्यालय संचालन हुने दिन निश्चित नै कम हुनजान्छ । त्यसकारण छोटो अवधिमा पनि लक्षित सिकाई उपलब्धि हासिल गराउन शिक्षण रणनीतिहरू परिवर्तन गर्नुपर्ने हुनसक्छ । त्यसको लागि तयारी गर्ने ,अध्ययन गर्ने, पठनपाठनमा आफूलाई ब्यस्त राख्ने, नेपाल सरकार शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयले तयार गरेका स्वाध्यायन सामग्रीको अध्ययन गर्ने, संगीत सुन्ने, खुशी हुने, प्रेरणादायक जीवनीहरू पढ्ने तथा
SEE अभ्यास पुस्तक लेखन कार्यमा आफूलाई ब्यस्त राख्ने गरेकी छु ।
सिकाइ विद्यालयको चौघेराभित्र मात्र सिमित हुँदैन । बच्चाको लागि घर पहिलो पाठशाला हो । आमा पहिलो शिक्षक हुन् । विना पाठ्यपुस्तक पनि सिकाइ हुन्छ । सिकाइले बालबच्चाको ब्यबहारमासकारात्मक परिवर्तन गराउन सक्नुपर्छ ।जब बच्चाहरूले आफ्नो कार्य आफै गर्न सक्छन, अनुशासित र असल हुन्छन तब मात्र सिकाइ भएको ठहर्छ ।त्यसकारणबच्चाहरूलाई आफ्नो सामानको सुरक्षा, जतन र प्रयोग गर्न सिकाउने, आफ्नो ब्यक्तिगत तथा वातावरणको सरसफाई गर्न सिकाउने,परिवारका सदस्य तथा अन्यसंग गरिने शिष्टाचार सिकाउने, धर्म, संस्कृति, संस्कार, नैतिक शिक्षा, ज्ञानगुनका कुराहरू सिकाउने, करेसावारी तथा फूलवारीको हेरचाह गर्न सिकाउने, घरायसी काम तथा भान्साको काम सिकाउने, मायाँ ममता तथा सद्भाव आदानप्रदान गर्न सिकाउने,पारिवारिक वातावरण उल्लासमय बनाउन प्रयत्न गर्ने, बच्चाहरूलाई उपयोगी सामग्रीहरू डाउनलोड गर्न सिकाउने जस्ता क्रियाकलापहरू मेरो लागि प्रत्येक दिनको दिनचर्या नै हुने गरेका छन् ।शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयले बालबच्चाको लागि अभिभावकको सहयोगमा घरमै बसेर गराउन सकिने सिकाइ क्रियाकलापका पुस्तक / सामग्रीहरू तयार गरेको छ जुन सामग्रीहरू Unicef.org Nepal मा प्रशस्त भेट्न सकिन्छ । ती सामग्रीहरूको सहयोग लिई बच्चाहरूलाई सिकाउने तथा विद्यार्थीहरूको अभिभावकलाई त्यसको बारेमा जानकारी दिलाउने कार्यमा आफुलाई संलग्न गराउंदै दिनचर्या बितिरहेका छन् ।यी दिनचर्याहरू मेरा लागि आइन्दा दिनमा पनि जारी नै रहने छन् ।
यी र यस्तै अन्य दिनचर्याका अलावा प्रत्येक दिनमा गरिएका थप विशेष क्रियाकलापहरूलाई मैले शिर्षक दिएर मेरो डायरीमा टिपोट गर्दै आइरहेकी छु । त्यसै डायरीबाट एक हप्ताका क्रियाकलापहरू जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरेकी छु:
मिति २०७७ / ०१ / १२ शुक्रवार
( शिर्षक : खोजी गरी पढ्ने बानीको विकास गराउने )
बालबालिकाको पहिलो शिक्षक आमा हुन् । उनीहरूलाई सुमार्गमा लगाउने पहिलो दायित्व आमाको नै हुन्छ। बच्चाहरू प्रायः मोबाइल वा कम्प्युटरमा अनावश्यक गेम खेलेर समय बिताउने गर्छन् । त्यसकारण त्यो समय बच्चाहरूलाई उनीहरूकै मन परेको पुस्तक या अन्य कबिता आफैं डाउनलोड गर्न सिकाई समयको सदुपयोग गराउने तथा पढ्ने बानीको विकास गराउने जमर्को गरें । बच्चाहरू स्वभाबैले कथा / कविता पढ्न पाउँदा खुशी हुन्छन् ।कथाले बालबालिकाको बौद्दिक विकासमा टेवा पुर्याउँछ। मष्तिष्कको विकास तिब्र गतिमा हुन्छ,ध्यान केन्द्रित गर्ने क्षमताको विकास हुन्छ,वरपरको संसार चिन्ने क्षमताको विकास हुन्छ,शब्दभण्डार बृद्दि हुन्छ, कल्पनाशक्ति तथा अनुभूति सिपको विकास हुन्छ । त्यसकारण मैले डिजिटल पुस्तकालय (इ – पुस्तकालय ) मा भएका कथाहरू खोज्न लगाई आफु पनि पढ्ने र पढ्न लगाउने गर्न थालें । जसले गर्दा उनीहरू अन्य विषयबस्तुसंग सम्बन्धित पुस्तकहरू समेत खोजी गरी पढ्न सक्षम भएको महसुस गरें र यसको बारेमा छिमेकमा रहेका अभिभावकलाई समेत शेयर गरें ।
मिति २०७७ / ०१ / १३शनिवार
( शिर्षक:महामारी विरुद्द जनचेतना )
म एक विज्ञान शिक्षक हुँ । विज्ञान शिक्षक समाज,नेपालसंग मेरो आवद्दता छ । समाजले विज्ञानसंग सम्बन्धित विभिन्न सामग्री निर्माण, खोज तथा अनुसन्धान गर्ने गर्छ ।उक्त समाज अहिले कोरोना महामारीको समयमा महामारीसँग सामना गरी आफु र समुदायलाई सुरक्षित राख्नको लागि विभिन्न जनचेतनामूलक सामग्रीहरूको माध्यमबाट जनचेतना जगाउने कार्यमा अग्रसर भएर लागेको छ । त्यसकारण म पनि एक जिम्मेवार शिक्षक भएको नाताले यस महामारी सम्बन्धि सन्देशमूलक सामग्री (भिडियो ) तयार गरें र सबैलाई शेयर गरी लक्षित वर्गसम्म पुर्याउने कार्यमा लागेँ । यो कार्यबाट मलाई समाज र समुदायप्रतिको जिम्मेवारी बहन गरेको अनुभूति भयो ।
मिति २०७७ / ०१ / १४आइतवार
( शिर्षक: MOOCs अनलाइन कोर्ष )
संसारका उच्च युनिभर्सिटीहरूबाट अनलाइन कोर्ष गरी विभिन्न पेशागत प्रमाणपत्रहरू प्राप्त गर्नको लागि Massive Open Online Courses (MOOCs) प्रख्यात छ यस्ता कोर्षहरूमाCoursera,eDX,FutureLearn,OpenWho जस्ता उच्च युनिभर्सिटीहरूबाट दिइने कोर्षहरू पर्दछन्आजको दिन मैंले पूर्णरूपमा आफ्नो रुची ,पेशा र बिषय अनुसारको अनलाइन कोर्षछनौटगर्ने,छोटो अवधिका कोर्षहरू गरी प्रमाण पत्र प्राप्त गर्ने र लामो अवधिका कोर्षहरू गर्न शुरू गर्ने निधो गरें जस अनुसार WHO बाटCOVID-19कोInfection,Prevention and Control, MRBU बाटLet’sbreak the chain of COVID-19 Infection, WHO कोHealth Emergencies Program अन्तर्गतCOVID-19 Partners Platform to support country preparedness and response कोर्ष अध्ययन गरि प्रमाणपत्र प्राप्त गर्ने काम गरें र आजैबाट Coursera र FutureLearn मा अन्य लामाअवधिका कोर्षमा आफुलाई जोडेर आफ्ना बच्चाहरूलाईScholastic अनलाइनकोर्षमा संलग्न गराएँ ।
मिति २०७७ / ०१/ १५सोमवार
(शिर्षक: बच्चाहरूको लागि सिकाइ सामग्री जुटाउने )
आजको दिन अलि फरक किसिमले बिताउने सोच गरें ।जस अन्तर्गत बच्चाहरू तथा विद्यार्थीहरूले घरमै बसेर अध्ययन गर्नको लागि नेपाल सरकारलेतयार गरेकासिकाइका विभिन्नमंचहरूको खोजी गर्ने काम गरें। जसमाOLE Nepal,Deerwalk Learning Centre mobile, MiDAsEclass, Kullabs,सिक्ने थलो.कम, साझा शिक्षा ई पाटीको ई – पुस्तकालय, ई पाठ,PraadisEdu, Global Digital Library आदिको खोजी गरी बच्चाहरूलाईअध्ययन गर्नको लागि उत्प्रेरणा दिने तथा खोज गर्न लगाउने साथै आफुलाई आबश्यक पर्ने सामग्रीहरूको छनौट गर्न लगाएँ र यो कुरा सम्पर्कमा रहेका विद्यार्थी भाईबहिनीहरूलाई समेत शेयर गरें ।
मिति २०७७ / ०१/ १६मंगलवार
( शिर्षक: विज्ञानका सबभन्दा महत्वपुर्ण वेवसाइटहरूको खोजी )
आजको दिन मैले आफुलाई खोजी कार्यमा ब्यस्त गराएँ। आधारभूत तथा माध्यमिक तहको विज्ञानको अनलाइनशिक्षणका लागि अति महत्वपुर्ण वेवसाइटहरूको खोजीगरें जसमाHHMI Biointeractive, Biology Junction, Biology Corner, NOVA labs, ChemCollective, Bozeman Science, American Association of Chemistry Teachers, Middle School Chemistry, Chemdemos, ChemMatters, Online Exploring Earth Investigations, The Environmental Literacy Council, The Physics Classroom, Physics for the 21st Century जस्ता वेवसाइटहरू प्रमुख छन्। यीवेवसाइटहरूमा शिक्षण सामग्री देखि लिएर प्रयोगात्मककाविभिन्न क्रियाकलापहरू समेटिएका छन्।
मिति २०७७ / ०१/ १७बुधवार
( शिर्षक: विद्यार्थी / शिक्षकहरूसँगको सम्पर्क )
आजमैंले आफ्ना विद्यार्थीहरुसंग आफू पनि सम्पर्क गर्ने तथा आफ्ना बच्चाहरूलाई उनीहरूको शिक्षकसँग सम्पर्क गराउने विचार गरें ।महामारीको बारेमा सुनिएका धेरै थरीका भ्रमहरूले गर्दा पनि बच्चाहरू अत्तालिएका हुन्छन् । इन्टरनेट वा टि भी बाट देखिएका समाचारहरू उनीहरूका लागि बुझ्न कठिन हुनसक्छ । त्यसकारण उनीहरू हतास हुने,उदासी हुने गर्दछन् ।जिज्ञासु बालबालिकाका लागि कुनै बिषयगत प्रश्नहरू पनि हुन सक्छ । फेरी बच्चाहरू स्वभावैले आफ्ना बाबुआमा भन्दा शिक्षकहरूलाई बढी बिश्वास गर्ने हुन्छन् । त्यसकारण लकडाउनको समयमा उनीहरूसँग खुला छलफल गरी सत्य तथ्य बताउने तथा जिज्ञासा मेटाउने काम शिक्षकले गर्ने हुँदा मैले आफु र आफ्ना बच्चाहरूलाई आज यहि कार्यमा ब्यस्त राखें ।
मिति २०७७ / ०१/ १८बिहिवार
( शिर्षक: अनलाइनकक्षामा बिद्यार्थी जोड्ने प्रयास)
आजSEE दिने विद्यार्थीहरूलाईप्रत्यक्षअनलाइन कक्षामा जोड्ने प्रयास गरें । सबैसंगइन्टरनेटको सुबिधा नभएकोले उनीहरूको सहभागिता कम थियो ।( सबैस्थानमाश्रोत, साधन तथा इन्टरनेटको पहुँचभएत यो कक्षा वास्तविक कक्षाभन्दा प्रभावकारी हुन्छ किनकि शिक्षणको लागि आवश्यक विषयगत प्रयोगात्मकसामग्रीहरू बिभिन्न वेबसाइटमा प्रशस्त भेट्न सकिन्छ ।)परीक्षाको तयारीमा रहेका विद्यार्थीहरूलाई आफ्नो तर्फबाट हुनसक्ने सम्मको सहयोग गर्नुपर्छ भन्ने सोच राखीगूगलफर्मको माध्यमबाट विभिन्न क्वीज तथा छोटा प्रश्नहरू पठाउने काम त पहिलेदेखि नै शुरू गरिसकेकी थिएँ।त्यस्तै आज आफ्नागूगल कक्षा, इ जी कक्षातथा अन्य सिकाई ब्यबस्थापन प्रणालीहरूको निर्माण गरी ती कक्षाहरूमा अनलाइन कक्षाको लागि विभिन्न सामग्रीहरू तयार तथा छनौट गरी राख्ने काम गरें ।
आज हामी कोरोना भाइरस संक्रमणको एउटा नयाँ चुनौतिको सामना गर्दैछौं । यो हामी सबैलाई एकतावद्दबनाउने, सहयोगका ससाना गतिबिधि आदानप्रदान गर्ने र मानिसहरूले एक अर्कालाई कसरी सहयोग गरिरहेका छन् भन्ने कथा र समाचार बाँड्ने समय पनि हो । प्रकोप सधैं रहँदैन भन्ने तथ्यलाई मनन गर्दै उक्त समयमा सिकाइलाई निरन्तरता दिनुपर्दछ किनकि उक्त समयमा गरिएकोसिकाइले जीवनभरको आचरण निर्माण तथा पेशागत बिकासकालागि ठुलो भूमिका खेल्नसक्छ । यो कुरा हामीले कदापी भुल्नुहुँदैन ।
( डायरी लेखनका क्रममा विभिन्न मिडियाहरू, वेवसाइटतथा अनलाइन पत्रपत्रिकाहरूलाई सन्दर्भ सामग्रीको रूपमा लिईएको छ ।)
चन्द्रकला दवाडी,श्री सरस्वती मा. वि. धनगढी, कैलाली