बुधबार बेलुकी पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नयाँ ललिपप देखाए बामदेव गौतमलाई । अर्थात कोरोना नियन्त्रण पछि प्रधानमन्त्री हुने । यसमा वामदेव स्वयंले कसरी सोचिरहेका छन् त्यो उनको भित्री मनशाय बुझ्न सकिएको छैन । यसले उनलाई आधा खुसी त बनाएको हुनु पर्छ । किन भने उनी समकालीन नेता सबै प्रधानमन्त्री भए पछि अब आफ्नो पालो भएको बताउदै आएका थिए । पार्टी नेताहरुसगँ प्रस्ताव पनि राखे । सविधान ससोधन गरेर राष्ट्रिय सभामा जाने र त्याहाँबाट प्रधानमन्त्री हुने ढोका खुल्ने भनिए पनि विवाद पछि फेरी थुनियो ।
त्यस पछि राष्ट्रिय सभामै भए पनि जान्छु भन्ने तयार भए तर दुर्भाग्य प्रधानमन्त्री ओलीकै कारण उनी फागुण २१ मै हुनु पर्ने राष्ट्रिय सभा सदस्य अहिले सम्म हुन सकेका छैनन् ।
त्यसमाथि प्रतिनिधिसभामा वामदेवको उपस्थिति नभएको स्थितिमा उनलाई प्रधानमन्त्री बनाउने कुराको निश्चितता के ? संविधान शसोधन नगरी उनी प्रधानमन्त्री हुनै सक्दैनन् , सविधान सशोधन गर्न स्वय नेकपा भित्रकै केही समुह र प्रतिपक्षी तयार छैनन् र आम जनता पनि त्यसको बिपक्षमा जस्तो देखिन्छ । यस अघिको प्रतिकृया हेर्दा । अर्को कुरा राष्ट्रिय सभामै गौतमलाई सिफारीस गर्दिन, जे जे आईपर्छ सामना गर्छु भनेर शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीले एका एक ल्याएको यो ललिपप वामदेवलाई भित्री चाहना देखिनै आएको हो त ? त्यसमा पनि शंका गर्नेहरु छन् ।
विगतको ईतिहास हेर्यो भने गौतमले यस्ता झुट्टा आस्वासन, उधारो प्रस्तावले धेरै पटक झुक्याएको छ । धोका खाएका छन् । उनी अहिले दोधारमा, दोमनमा परेका पनि हुन सक्छन् । कसरी सोच्ने उनको कुरा हो । तर ईतिहासका धोकाका श्रृखलाले उनलाई पक्कै पनि यो ललिपप हातमा आईहाल्लाा भन्न सकिने देखिदैन ।
जनआस्थाले ६ वटा गौतमले खेपेका धोकाका श्रृखलाहरु लेखेको छ । जस अनुसार
धोका १
०६४ मा गठित प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री हुनुहुन्थ्यो वामदेव गौतम । यो सरकारले ०६४ चैतमा नेपाली सेनाका तीनतारे जर्नेल कूलबहादुर खड्कालाई प्रधानसेनापति नियुक्तिका लागि निर्णय गर्यो । त्यो निर्णय हुनुअघि पार्टी अध्यक्ष झलनाथ खनाल चीन जानुभएको थियो । यता, वामदेवलाई यस्तो निर्णयमा अडिग हुन निर्देशन दिएर निर्णय भयो । त्यसमा व्यापक विवाद आयो । र, झलनाथ खनालसहितका राजनीतिक दलहरुको सुझावमा टेकेर राष्ट्रपतिबाट उक्त निर्णय खारेज भयो । प्रचण्डले सरकारबाट राजीनामा दिनुभयो । वामदेवमाथि धोका भयो ।
धोका २
दोस्रो संविधानसभा निर्वाचनलगत्तै झलनाथ खनाल पार्टी अध्यक्ष भएको नाताले स्वतः संसदीय दलको नेता हुनुपर्ने माधव नेपालसहितका नेताहरुको मान्यता थियो । विकल्पमा माधव नेपालको नाम अगाडि सारियो । तर, वामदेव गौतमको तर्क फरक रह्यो । उहाँले भन्नुभएको थियो, पार्टी अध्यक्षलाई संसदीय दलको नेतृत्व पनि दिँदा काम विकेन्द्रित हुँदैन । त्यसैले पार्टी नेतृत्वदेखि संसदीय नेतृत्वसम्म नपाएको व्यक्ति दलको नेता हुनुपर्छ भन्ने तर्कका साथ केपी ओलीलाई संसदीय दलको नेताका रुपमा अगाडि सारियो । झलनाथ र केपीबीच चुनाव भयो । केपीले जित्नुभयो । यसमा वामदेवसँग रहेका ३० प्रतिशत सांसदहरुको भूमिका महत्वपूर्ण थियो ।
त्यसलगत्तै सुशील कोइरालाको नेतृत्वमा गठन भएको सरकारमा एमालेका तर्फबाट वामदेव गौतमले तेस्रोपटक उपप्रधान तथा गृहमन्त्रीका रुपमा जिम्मेवारी पाउनुभयो । त्यसपछि केपीको तर्फबाट शर्त थपियो, महाधिवेशनबाट पार्टी अध्यक्ष बन्ने कुरामा भूमिका खेल्नुपर्ने । त्यसबापत बचन दिइएको थियो, अध्यक्ष भएपछि पुनर्गठन हुने सरकारको प्रधानमन्त्री बनाउने । संविधान जारी भएपछि वामदेवकै पहलमा माओवादी केन्द्रसँग सत्तासमीकरणको सहमति बन्यो । आफूलाई प्रधानमन्त्री बनाउलान् भनेर गरेको यो मेहेनत खेर गयो, केपी ओली आफैँ प्रधानमन्त्री बनेपछि । यो स्थितिमा वामदेवकै कारण प्रधानमन्त्री बन्नमै समस्या आउला भन्ने बुझेपछि केपीले आश्वासन दिनुभयो, ‘प्रधानमन्त्री भएको एक हप्ताभित्र संसदीय दलको नेता तपाईं ।’ तर, न प्रधानमन्त्री, न संसदीय दलको नेता । वामदेवलाई हात लाग्यो शून्य ।
आफैँ प्रधानमन्त्री बनेपछि केपीले आश्वासन दिनुभयो, ‘प्रधानमन्त्री भएको एक हप्ताभित्र संसदीय दलको नेता तपाईं ।’
धोका ३
०७४ को स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा (०७३ फागुनदेखि) अर्को तुरुप फ्याँकियो, माओवादीसँग गठबन्धन गराउनका लागि । त्यो थियो, माधव, झलनाथ र केपी गरी एमालेबाट तीनजना प्रधानमन्त्री भइसकेका कारण अब पार्टीबाट प्रधानमन्त्री बनाइनुपर्ने व्यक्ति वामदेव हो भन्ने ।
होला त भन्ने भएर वामदेव रातदिन प्रचण्ड फकाउन व्यस्त हुनुभयो । तर, कांग्रेससँगको गठबन्धन सरकार,त्यो गठबन्धन तोड्दा हुनै लागेको चुनाव पनि नहोला भन्ने प्रचण्डको मनशाय आएपछि त्यसपछिका चुनावमा गठबन्धन गर्ने बचन आयो ।
र, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा मुख्यतः वामदेवकै पहलमा माओवादीसँग चुनावी गठबन्धन हुँदै पार्टी एकतासम्मका कुरा आए । यतिबेलासम्म यो प्रक्रियामा अरु पनि जोडिए, जस्तै विष्णु पौडेल, घनश्याम भूषाल हुँदै स्वयं अध्यक्ष केपी ओली । तर, पहिला ‘प्रधानमन्त्री बन्ने पालो वामदेवको’ भन्ने कुरा यतिबेलासम्म के भयो ? यसबारे न वामदेवले जान्ने प्रयास गर्नुभयो, न अन्य नेताले नै भन्ने आँट गरे । फलतः बर्दियामा भावी प्रधानमन्त्रीका रुपमा उहाँले भोट माग्नुभयो । काठमाडौंबाट सूर्य थापाहरुको कमाण्ड खडा गरेर उहाँलाई चुनाव हराउने योजना बन्यो । काठमाडौंले हराउने योजना बनाउँदै जाने, बर्दियामा कार्यान्वयन हुँदै जाने क्रमले उहाँले चुनाव हार्नुभयो ।
धोका ४
चुनाव हारेर फर्किएपछि बालुवाटारबाट वामदेवलाई थम्थम्याइयो, पुनःनिर्माण प्राधिकरणको स्तरोन्नती गरी उपप्रधानमन्त्री तहको व्यक्तिलाई सबैखाले भौतिक निर्माणको कामको अगुवाई दिने भनी ।
यसमा वामदेव निक्कै उत्साहित भएर लाग्नुभयो । प्राधिकरण ऐनको संशोधनका लागि मस्यौदा बन्यो । चित्त नबुझेका कुरा वा आफ्नो चाहनाका बुँदा उहाँद्वारा नै संशोधन भयो । संसदमा पेश गर्नका लागि मन्त्रिपरिषद्ले स्वीकृत दिने तहसम्म पुग्यो । तर, मन्त्रिपरिषद्को फाइलबाट त्यो मस्यौदा कहाँ हरायो ? अहिलेसम्म पत्तो छैन ।
धोका ५
वामदेवले हारेपछि चुनाव जितेका थुप्रै सांसद उहाँसँग भेट्न गए । सबैले भने, हामी सबैले जित्नु र तपाईं एउटाले हार्नुमा तपाईंको हारको नरमाइलो बढी छ । यसो भन्नेमध्येका एक हुन्, डोल्पाबाट जितेर आएका धनबहादुर बूढा ।
उनलाई राप्रपाबाट एमाले प्रवेश गर्नासाथ पहिलो र दोस्रो संविधानसभामा सांसद बनाएकै वामदेवले । उनले ०७४ को चुनावपछि भने, ‘मलाई तीन महिनाका लागिमात्रै भए पनि मन्त्री बनाइदिनुपर्यो । म हजुरका लागि मेरो क्षेत्र छोडिदिन्छु ।’
‘होला त’ भनेर वामदेवकै पहलमा उनी पर्यटन राज्यमन्त्री बने । तीन महिना बित्यो, तर डोल्पाको सांसदबाट राजीनामा दिएनन् । बरु, वामदेवका लागि धनबहादुरले राजीनामा दिने कुरा बजारमा जति–जति हल्ला हुँदै गयो, उति–उति धनबहादुर बालुवाटारबाट खोजिने, माया गरिने पात्रका रुपमा रुपान्तरित हुन थाले । पछि वामदेवबाट सोधनी भयो, ‘खै त राजीनामा दिएको ?’ उनको जवाफ थियो, ‘बा (केपी) ले नदेऊ भन्नुभयो ।’
धोका ६
फेरि ०७५ सालको असोज लागेपछि रामवीर मानन्धर आए, काठमाडौं क्षेत्र नं. ७ बाट राजीनामा दिन्छु भन्दै । एक हप्ताअघिसम्म ‘वामदेव प्रबृत्ति’ भन्दै जोडदार गाली बर्साउने मान्छे एकाएक त्यसरी वामदेवका लागि क्षेत्र नै छोडिदिन्छु भन्दै पुग्नु आश्चर्यको विषय त थियो । तर, वामदेवले पत्याउनुभयो । रामवीरले प्रचण्डकहाँ लगेर राजीनामा बुझाए । सामाजिक सञ्जालदेखि अनलाइन मिडियाहरु अनेक क्रिया र प्रतिक्रियामा उत्रिए । वामदेवको बदनाम गर्नेहरु यसबेला निक्कै सल्बलाए पनि । अन्ततः राजीनामाको निर्णयबाट रामवीर फिर्ता भए ।
भनिन्छ, वामदेवलाई संसदमा लैजान हैन, उनको बेइज्जत गर्न रामवीर परिचालित भएका थिए । नभन्दै,वामदेवको संसद यात्रा भएन,बरु बद्नाम गरियो र डामेर छाडियो ।
६ धोकामाथि अर्को धोका थपिएर बामदेवका लागि सातौ धोका नबनोस् प्रधानमन्त्रीको ललिपप । बाकीँ स्वय उनले कसरी सोच्ने र कसरी अघि बढ्ने उनकै हातमा छ ।
तर तुलनात्मक रुपमा राष्ट्रवादी, स्पष्ट वक्ता, कम छलकपट भएका , हक्की र ईमान्दार किशान नेताको रुपमा पनि गौतमलाई चिनिन्छ । उनले ओलीको दाउमा खुट्टा लाउछन् कि प्रचण्ड माधवसगँको आन्तरीक गठबन्धनको निरन्तरताबाट अको निर्वाचन पछि प्रधानमन्त्री बन्ने बाटो कोर्छन् त्यो हेर्न बाकीँ छ ।