बाँके, १९ बैशाख । बाँकेमा रहेका मस्जिद, मन्दिर लगायत धार्मिक स्थलका धर्म गुरुहरुको पीसीआर विधिबाट कोरोना परीक्षण सुरु गरिएको छ ।
बाँकेको नेपालगञ्जमा रहेको फैजाने मदिनाबाट बुधबारदेखि परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाहले जानकारी दिनु भयो ।
बिहीबार नेपालगञ्जको बागेश्वरी मन्दिरमा हिन्दु धर्मगुरु तथा बागेश्वरी मन्दिरका मुल महन्त सद्भाव समितिका संयोजक चन्द्रनाथ योगीसहित मन्दिरमा बस्दै आएका ७ जना धर्म गुरुहरुको कोरोना परिक्षणको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहले बताउनुभयो ।
मुस्लिम आयोगले बिशेष गरि मस्जिद मदरसाको अनुगमन गर्नका लागि समिति बनाएर जिल्लागत रुपमा काम सुरु गरेको छ । बाँके आयोगको समितिले काम सुरु गर्नु भन्दा पहिला प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाको संयोजकत्वमा सर्वपक्षीय बैठक बसी सबै धर्मको धार्मिक स्थलमा रहेका धर्म गुरुहरुको कोरोना परिक्षण गर्ने सहमति बमोजिम मन्दिरमा स्वाब परिक्षण गरिएको हो ।

बागेश्वरी मन्दिरमा मुलमहान्त योगीले रोगले जात धर्म नहेर्ने भएकोले सरकारले सुरु गरेको कोरोना परिक्षणमा सहयोग गर्ने सबै पक्ष संग अपिल गर्दै उहाँले कोरोना परिक्षण वा कोरोना रोगलाई धर्म जात लिङ्ग संग जोडेर कुनै प्रकारको अभिव्यक्ति नदिन आग्रह गर्नु भयो । उहाँले भन्नुभयो, मन्दिर परिसरमा नै बिहीबार भारतबाट आएका बैजनाथ गाउपालिकाका ११ जना, डुडुवाका १३ जना, खजुराका ७ जना, जानकीका २ जना गरि ४० जनाको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको छ ।
मुल महान्त योगीले नेपालगञ्जको फैजाने मस्जिदबाट मौलाना तथा विद्यार्थीहरुको स्वाब लिएर कोरोना परिक्षण सुरु गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको बताउनु भएको थियो । स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश श्रेष्ठका अनुसार संकलन गरिएको सबै स्वाब भेरी अस्पतालको विषेशल्यावमा जाँच हुने बताउनु भयो ।
बागेश्वरी मन्दिरमा स्वाब संकलनका क्रममा प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, सुरक्षा अधिकारीहरु बिभिन्न धर्मका धर्म गुरुहरु, मुस्लिम आयोगको अनुगमन समिति संयोजक हाजी अब्दुल हमिद सिद्धिकी, सदस्य एंव थर्ड एलायन्सका प्रमुख आलम खान, हज समितिका सदस्य मेराज अहमद हिमालय,कादिर शेख लगायतको उपस्थिति रहेको थियो ।

मुस्लिम आयोगको अनुगमन समितिका संयोजक सिद्धिकीले कोरोनालाई लिएर सद्भावमा असर पुग्ने खाले अभिव्यक्ति कसैले पनि दिन नहुने बताउदै कोरोनाको समाप्तिका लागि एकताबद्ध भएर लाग्न अपिल गर्नु भयो ।
उहाँले गलत गर्ने व्यक्तिलाई नछोड्ने बताउदै अनुगमन समितिका एक जना सदस्यले मुस्लिम मुस्लिम बिच द्धन्द गराउन प्रयास गरेको देखिए पछि आन्तरिक कारवाही गरेको जानकारी गराउनु भएको थियो ।