हेटौंडा, १९ वैशाख । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले स्थानीय तहसँगको समन्वयमा कक्षा १ देखि ९ सम्मको रोकिएको वार्षिक परीक्षाको नतिजा तत्काल प्रकाशन गर्ने ब्यवस्था मिलाउन सम्बन्धित विद्यालयहरुलाई निर्देशन दिएको छ ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि मुलुकमा जारी लकडाउनका कारण नयाँ शैक्षिकसत्र सुरु हुनुपर्नेसमय सम्म पनि नतिजा प्रकाशन नभएकाले बिद्यार्थी तथा अविभावकमा अन्यौलता श्रृजना भएकाले तत्काल वैकल्पिक माध्यमबाट नतिजा प्रकाशन गर्न मन्त्रालयले बिद्यालयहरुलाई निर्देशन दिएको हो ।
मन्त्रालयले बिहिवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तहको समन्वयमा विद्यालय तहका कक्षा १ देखि कक्षा ९सम्मको रोकिएका वार्षिक परीक्षाको नतिजा तत्काल प्रकाशन गर्न व्यवस्था मिलाउन अनुरोध छ।’
यसका साथै मन्त्राललयले सामाजिक दूरी कायम राख्दै नतिजा प्रकाशन पश्चात उपर्युक्त वैकल्पिक माध्यमबाट भर्नाको व्यवस्था मिलाउन विद्यालयहरुको सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न पनि निर्देशन दिएको छ।
पाठ्यपुस्तकहरुको यथावत व्यवस्था गर्नुका साथै विक्रीवितरणको लागि सामाजिक दूरी कायम गरी सम्बन्धित जिल्लामा पठाउन समेत मन्त्रलयको निर्देशन छ।
विद्यार्थी भर्नापछि पाठ्यपुस्तक विद्यार्थीलाई उपलब्ध गराउन मन्त्रालयले सहजीकरण गर्ने पनि सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिनुभयो । नियमित कक्षा सुरुवात नहुँदासम्म घरमै बसेर विद्यार्थीले अध्ययन गर्ने वातावरण निर्माणको लागि दुरशिक्षा कार्यक्रम, अनलाइन र अफलाइन सिकाइका अवसरहरुमा बालबालिकालाई सहभागी गर्न÷गराउन उहाँले आग्रह गर्नुभएको छ ।
त्यसका लागि घरमै बसेर सिक्ने अवसर सुनिश्चित गर्न राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यमबाट प्रसारण भइरहेको दूर शिक्षा कार्यकम लगायत अन्य वैकल्पिक व्यवस्थाबाट पनि सिकाई जारी राख्न मन्त्री दुलालको आग्रह छ ।