इलाम, १५ वैशाख । इलामको फाकफोकथुम ३ को फाकफोक खोलामा आएको बाढीले जलाउन लागेको शव वेपत्ता बनाएको छ भने खोलामा आएको भेलले बगाएर एकजना बालकको मृत्यु भएको छ।
फाकफोकथुम गाउँपालिकाको २ र ३ को सिमानामा रहेको खप्परे घाट नजिकको भिरबाट खसेर मृत्यु भएका स्थानीय ४१ वर्षीय तिरमान लकान्द्रीको शव जलाउन लाग्दा अचनाक खोलामा आएको बाढीले चितासँगै शव बगाएको थियो ।
खोलाको माथिल्लो भेगमा बादल देखिए पनि चिता जलाउने ठाउँमा चर्को घाम लागिरहेको थियो । दागवत्ति दिएर चिता जल्न सुरु गरेको अवस्थामा अचनाक खोलामा बाढी आएको स्थानीयले जनाएका छन् ।
स्थानीय जेष्ठ नागरिकले पनि यो पहिलो घटना भएको बताएका छन् ।फाकफोकथुम ३ का वडा अध्यक्ष राजु पौड्यालले लकान्द्रीको शव नभेटिएको बताउनु भयो । लकान्द्रीको आइतवार सुगुरलाई चारो खोज्न जाँदा लडेर मृत्यु भएको पौड्यालले बताउनु भयो ।
त्यस्तै सोहि फाकफोक खोलाको बाढीले बगाएर सोमबार नै पौडी खेलिरहेका स्थानीय वीर बहादुर लिम्बुका छोरा १२ वर्षीय मनिष लिम्बुको मृत्यु भएको पौड्यालले बताउनु भयो । गर्मीमा पौडी खेल्न गएका ४ मध्ये बालक लिम्बुको शव मृत अवस्थामा फेला परेको उहाँले जानकारी दिनुभयो ।