धरान बैशाख १५ । विप्लव नेतृत्वको नेकपा निकट अखिल ( क्रान्तिकारी ) मेची– कोशी क्षेत्रीय समन्वय समितिले विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण शहरमा बसेर अध्ययन गर्ने प्रभावित विद्यार्थीहरुलाई राहत वितरण शुरु गरेको छ ।
महामारीका कारण शहरमा बसेर पढी रहेका विद्यार्थीहरु समस्यामा परेको भन्दै धरानमा राहत वितरण गरेको अखिल क्रान्तिकारीले जनाएको छ । त्यहाँ विद्यार्थीहरुलाई दाल, चामल सहितका सामाग्री प्रदान गरिएको छ । आज पहिलो दिन एक १० जना भन्दा बढी विद्यार्थीलाई राहत आज दिईएको छ ।

क्षेत्रीय समन्वय समितिको नेतृत्वमा प्रथम चरणमा राहत वितरण थालिएको हो । यस राहत वितरणमा सुनसरी लगायत अखिल क्रान्तिकारीका जिल्ला समितिहरुले पनि सक्रिय सहभागीता जनाएको मेचीकोशी समन्वय समितिका सयोजक पुष्प न्यौपानेले बताए ।
संयोजक न्यौपानेका अनुसार यस चरणमा ५ क्विन्टल चामल र ५० किलो दाल अति विपन्न र घर छोडेर पढ्न बसेका विद्यार्थीहरुलाई अझै पनि वितरण गरिने छ । यसक्रममा ३३ जना विद्यार्थीहरुलाई प्रतिब्यक्ती १५ किलो चामलका साथै दाल बितरण गर्ने तयारी भएको छ ।
यस्तै पुर्वका झापा, मोरङ र सुनसरी जिल्लामा राहत वितरणलाई अघि बढाइने बताइएको छ । खाद्यान्नको सहजीकरण क्षेत्रीय समन्वय समितिले गर्ने र वितरण भने जिल्ला समितिले नै गर्ने जानकारी संयोजक न्यौपानेले दिएका छन् ।
राहत वितरणलाई प्रभावकारी बनाउन जिल्ला देखि इकाइ कमिटी सम्मका सदस्य तथा पदाधीकारीहरुलाई परिचालित गरिने न्यौपानेले बताए ।
खास गरी पहाडी जिल्लाहरुबाट शहरमा डेरा भाडा लिएर बसिरहेका बिद्यार्थीहरुलाई राहतमा प्राथमिकता दिएको अखिल क्रान्तिकारीले जनाएको छ ।



