भोजपुरको हतुवागढीमा कोरोना पुष्टि भएसँगै सीमा जोडिएका गाउँपालिका प्रवेशमा रोक

भोजपुरको हतुवागढीमा कोरोना पुष्टि भएसँगै सीमा जोडिएका गाउँपालिका प्रवेशमा रोक

  • शुक्रबार, बैशाख १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

भोजपुर, १२ वैशाख । भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना सङ्क्रमित भेटिएपछि हतुवागढीसँग सीमा जोडिएका स्थानीय तहका नाकामा कडाइ गरिएको छ । हतुवागढीसँग सीमा जोडिएको रामप्रसाद राई, पौवादुङमा र आमचोक गाउँपालिकाका नाकामा सुरक्षा व्यवस्था कडाइ गरिएको हो ।

पौवादुङमा गाउँपालिका–६ ठूलोदुङमा र हतुवागढी गाउँपालिकाको होम्ताङको सिमानामा पर्ने मार्ताङ नाकामा सुरक्षा व्यवस्थामा कडाइ गरिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । त्यस्तै मार्ताङ नाकासँगै र धनकुटासँग सीमा जोडिएको अँधेरीघाट नाकामा क्वारेन्टाइन निर्माण गरिएको र कोही सुरक्षाकर्मीको आँखा छलेर लुकीछिपी गाउँपालिका प्रवेश गरेको पाइएमा २१ दिनसम्म सीमाको क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरेर मात्र गाउँपालिकामा प्रवेश गर्न दिइने गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो । राईले आफ्ना नागरिकलाई जहाँ छन् त्यहाँ सुरक्षितरूपमा बस्न अनुरोध गर्दै गाउँपालिकाभित्र पनि आवतजावतमा पूर्णरूपमा बन्द गरिएको बताउनुभयो ।

अध्यक्ष राईले भन्नभुयो, “हाम्रो सीमा जोडिएको स्थानीय तहमा कोरोना पुष्टि भइसकेको छ, अब हामी अझ सचेत हुने अवस्था आएको छ, यसर्थ हतुवागढी गाउँपालिकासँग सीमा जोडिएका क्षेत्रबाट आवतजावतमा कडाइ गरेका छौँ भने गाउँपालिकाका नागरिकलाई अन्य क्षेत्रमा जान पूर्णरूपमा बन्द गरेका छौँ, गाउँपालिका बाहिर रहेका आफ्ना ठाउँका नागरिकलाई गाउँपालिकाले राहतको व्यवस्था मिलाएको छ ।”

सुरक्षाकर्मीसँगै सबै वडाका स्थानीय युवा सीमा नाकाको सुरक्षामा रहेको अध्यक्ष राईले जानकारी दिनुभयो । “सुरक्षाकर्मीसँगै स्थानीय युवा आफैँ आफ्नो ठाउँको सुरक्षामा लागेका छन्, मध्यपहाडी लोकमार्ग पनि हाम्रो स्थानीय तह हुँदै जाने भएकाले त्यहाँ पनि कडाइ गरिएको छ, कतिपय अवस्थामा एम्बुलेन्सको प्रयोग गरेर मानिसहरू ओसार–प्रसार गरेको सुनिएको साथै ढुवानीका साधनले पनि मानिस ओसारप्रसार गरेको पाइएकाले त्यसो नगर्न हामीले अनुरोध गरेका छौँ, त्यस्तो भेटिएमा कारवाहीको दायरामा ल्याइने छ”, अध्यक्ष राईले भन्नुभयो ।

भोजपुरमा एक जनामा कोरानाको पुष्टि

भोजपुरमा पनि कोरोना भाइरसका एकजना सङ्क्रमित भेटिएको पुष्टि भएको छ । भोजपुरको हतुवागढी गाउँपालिकाका २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीका अनुसार गत फागुन ३० मा साउदी अरबबाट आएका ती युवकमा कोरोना पुष्टि भएको हो । भोजपुरमा गरिएको आरडिटी परिक्षणमा कोरोना देखिएपछि स्वाब परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा लगिएको थियो । उनलाई धरानमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । युवकका परिवारका दुईसहित अन्य तीन जनाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको छ । ती युवकलाई आज कोभिड अस्पताल विराटनगर लैजाने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ