के चीन विश्वको महाशक्ति बन्ला ? यस्तो छ अन्तराष्ट्रिय परिदृष्यहरु !

के चीन विश्वको महाशक्ति बन्ला ? यस्तो छ अन्तराष्ट्रिय परिदृष्यहरु !

हुन सक्छ विश्वले अर्को भयंकर युद्धबाट गुग्रनु पर्नेछ

  • शुक्रबार, बैशाख १२, २०७७
  • -प्रज्वल श्रेष्ठ

  • 28.7K
    SHARES

विश्वमा मानव समाजको विकासक्रमसगँै प्रकृतिसगँ अनेकौँ टकराबहरु पैदा भएका छन् त्यो हो माहामारी र अरु प्रकोपहरु । यसले समाजमा केही ध्वश गरेर अर्को विकास र निर्माणको लागि मार्ग प्रसस्त गरेको देखिन्छ । २१ औं शताव्दीको पहिलो चौथाईतिर पाईला हाल्दै गर्दा विश्वले अप्रत्यासीत रुपमा कोरोनाको सामना गर्नु परीरहेको छ । यस्तो लाग्छ कि यसले धेरै ठुलो उथलपुथल र परिवर्तन ल्याउने छ विश्वमा ।
बिध्वंशकारी देखिएको सानो कोरोना भाईरसले विश्वको भूराजनीतिक समीकरण बदल्ने संकेत दिएको छ । अहिले चीनदेखि यूरोप हुदै अमेरीकासम्मको आन्तरीक तथा बाह्य परिस्थितिहरुको आधारमा पूर्वानुमान हुन थालेको छ कि विश्वको नेतृत्व अब अमेरीकाले हैन चीनले गर्न सक्छ । त्यसो भए त्यो कसरी संभव छ त ? चीनले अमेरीकाको दशकौंदेखिको एक छत्र प्रभाव रोकेर आफ्नो हातमा त्यो शक्ति हात पार्ला केवल अनुमान र विष्लेषणहरु चलिरहेका छन् । अमेरीकाको सुपर पावर छिनिने र शक्तिकेन्द्र पूर्व अर्थात एशियामा सर्ने र त्यसको मुख्य नेतृत्व चीनको हुने टिप्पणीहरु चलिरहेका छन् । यस सन्दर्भमा हामीले विद्यमान अन्तराष्ट्रिय परिदृष्यहरुको समिक्षा गर्नै पर्ने हुन्छ ।

पृष्टभूमि

बिशाल भूगोल र जनसंख्या हुनुका बाबजुद भोकमारी र गरीबीको लामो चक्कर काटेर आएको आजको चीनको विकास र शक्ति आर्जनको मुख्य आधार भनेको चीनीया कम्युनिष्ट क्रान्ति नै हो । सन् १९४९ अक्टोबर एक मा माओको नेतृत्वमा सम्पन्न क्रान्ति पछि स्थापित नयाँ चीनले केही हदसम्प माक्र्सवादी वैज्ञानिक समाजवादी प्रणाली त्यागेको छ तर आधारभूत रुपले नताकेन्द्रीत नीति समातिरहेको छ । जसलाई उसले चीनीया बिशेषता सहितको समाजवाद भन्ने गरेको छ । उसको आजको अन्तराष्ट्रिय सामथ्र्य उसगँ भएको भूगोल, सेना र हतियार अनि पैसा मात्र हैन जनता पनि हो । यसको उदाहरण महामारी नियन्त्रणमाका बेला सरकारले लागू गरेको लकडाउनमा देखिएका अनुसासित जनता । यही लकडाउन लागू गर्न अमेरीका, बेलायत, भारतलाई हम्मे परीरहेको छ ।
यो उनीहरुले विकास गरेको संस्कृति र कम्युनिष्ट पार्टीले निर्माण गरेको शिक्षा पद्धतिको उपज हो । सन् १९७८ सम्म पनि गरीब देशहरुकै सूचीमा रहेर विश्वमा सबै भन्दा धेरै अनुदान स्वीकार गर्ने यो देशले अहिले विश्वमा सबै भन्दा धेरै देशहरुलाई औषधी र मेडिकल उपकरण सहयोग गरीरहेको छ । समयले कोल्टे फेरेको छ हिजो लिएर खाने चीन आज दिएर खाने भएको छ ।
पछिल्लो समयमा विश्वमा आश्चर्यजनक विकास र प्रगति काहीँ भईरहेको छ भने त्यो चीनमा छ । चीन विकसित र समृद्ध हुनु भनेको विश्वको १८ दशमलव ४७ प्रतिशत जनता विकसित र समृद्ध हुनु हो । विश्वको कुल जनसंख्याको त्यति प्रतिशत अर्थात एक अर्ब ४२ करोड बढी जनसंख्या चीन एक्लैको छ । विश्वको सात अर्ब बढी छ ।

कोरोनाको नियन्त्रणमा उसले प्राप्त गरेको सफलता विश्वका ९० बढी देशमा उसले पठाईरहेको सहायता, नियन्त्रणका लागि जी २० को बैठकमा चीनीया राष्ट्रपतिले राखेको विश्वव्यापी युद्ध ( कोरोना विरुद्ध ) घोषणा गरेर साझा, एकतावद्ध भएर लड्नु पर्ने भनी राखेको प्रस्तावले उसलाई अन्तराष्ट्रिय जिम्मेवारीमा उत्तरदायी र अग्रसर भएको अर्थमा व्यवहारीक रुपले हेर्न सकिन्छ ।

अहिले कोरोना महामारी भलै चीनबाट फैलन शुरु भयो । त्यस पछि यसको नियन्त्रणमा उसले प्राप्त गरेको सफलता विश्वका ९० बढी देशमा उसले पठाईरहेको सहायता, नियन्त्रणका लागि जी २० को बैठकमा चीनीया राष्ट्रपतिले राखेको विश्वव्यापी युद्ध ( कोरोना विरुद्ध ) घोषणा गरेर साझा, एकतावद्ध भएर लड्नु पर्ने भनी राखेको प्रस्तावले उसलाई अन्तराष्ट्रिय जिम्मेवारीमा उत्तरदायी र अग्रसर भएको अर्थमा व्यवहारीक रुपले हेर्न सकिन्छ ।
फा्रन्सका बादशाहले चीनलाई दुई शताव्दी अघि नै सुतेको सिंह भनेर संज्ञा दिएका थिए । यदी त्यतिखेर यो सुतेको सिहं थियो भने यो ब्युझिएर लम्किन थालेको मान्नु पर्ने अवस्था छ अहिले । चीनलाई ड्रागन पनि भनिन्छ , जुन जनावारले आगो ओकल्न सक्छ । जो बिशेषता आजको चीनले प्रस्तुत गरिरहेको छ ।

कोरोना नियन्त्रणमा चीनको विश्वव्यापी भूमिका

डिसेम्बर ३१, २०१९ मा सार्वजनिक भएको कोरोनाको पहिलो निशाना चीनको वुहानमा थियो । त्यसपछि निरन्तर संक्रमण र मृत्युको सामना गरेको चीनले कडा लकडाउन सहितका उपायहरु अवलम्बन गर्यो । फलत उसले प्रभावकारी नियन्त्रण गर्न सफल भयो । भलै अहिले पनि चीनमा कोरोना संक्रमणका केही संख्या भने थपिरहेको छ । तर मुलभुत रुपमा ८३ हजार बढी संक्रमण र ४६ सय बढी मृत्युको मुल्यमा कोरोना त्यो स्तरबाट कम छ र उसले जनजीवन सामान्य बनाउदै लगेको छ ।
यसबाट आफू मुक्त भए पछि विश्वभर फैलिएको कोरोना नियन्त्रण र रोकथाममा उसले आफ्नो हाात पाउ पसार्यो । ल्याटीन अमेरीका, अमेरीका, युरोप, रुस, अफ्रीका र एशियाका ९० भन्दा बढी देशहरुमा मेडिकल सहायता, स्वयसेवक , स्वास्थ्य उपकरण उसले पठाईसकेको छ । जुन आजको विस्वमा कुनै पनि देशले त्यति गर्न सकेको छैन । उसले भ्याक्सिन परीक्षण पनि दोस्रो चरणमा पुर्याएको छ । शायद निकट भविष्यमा उसले कोरोना विरुद्धको सफल भ्याक्सिन विश्वमा वितरण गर्ने अपेक्षा गरिएको छ । समग्रमा हेर्दा चीनमात्रै त्यस्तो देश बनेको छ जसले एकै पटक विश्वको आधा भन्दा बढी हिस्सामा स्वास्थ्य सामाग्री र स्वयंसेवक परिचालन गरेको छ । जब कि अमेरीका जस्ता शक्तिशाली देशहरु आफैभित्र नियन्त्रणको लागि संघर्ष गरीरहेका छन् ।
कोरोनाले जहाँ जहाँ दाह्रा गाडेको छ त्याहाँ चीनको प्रभाव विस्तार हुन पुगेको छ । भलै ट्रम्पले नचाहेर पनि चीनबाट भेन्टिलेटर सहयोग लिनु परेको छ भने मेडिकल उपकरण खरीद गर्न उसैसगँ पुग्नु परेको छ । बाकीँ यूरोपको पनि हालत उस्तै छ । अमेरीकाले प्रतिस्पर्धीको रुपमा उदाउदै गरेको बुझेर चीनलाई घेरा हाल्ने नीति लिदै आए पनि अहिले उ आफै कुटनीतिक भाषा प्रयोगका हिशाबले एउटा कुरा होला तर प्राविधिक रुपले हेर्ने हो भने चीनतिर फर्कन विवस छ । अमेरीकी केवल न्युज नेटवर्कका लागि राष्ट्रिय सुरक्षा विज्ञको रुपमा काम गर्ने सामन्था भिनोग्रादले चैत्र २३ मा प्रकाशन गरेको एउटा लेखमा , ट्रम्पले अमेरीकीहरुको जीवनलाई चीनको हातमा राखिदिएको भनेर लेखेकी छन् । यसको मतलव न्यूयोर्क सहित कोरोना केन्द्रमा चीनको सहयोग विना अहिले काम नचल्ने स्थिति छ । न्यूयोर्कका गभर्नर एन्ड्रयुका अनुसार एक हजार भेन्टिलेटर चीनले सो राज्यलाई सहयोग स्वरुप पठाएको छ । जसले गर्दा भेन्टिलेटरको अभावका बीच केही राहत पुगेको छ ।
त्यस पछि ईटाली जो विश्वमै कोरोनाबाट मृत्यु हुने संख्यामा अमेरीकापछि दोस्रो नम्बरमा छ , त्यसले शुरुमा अमेरीकाको पछि लागेर कोरोना भाईरस चीनीया भाईरस, वुहान भाईरस भन्दै आएको थियो । शुरुमा चीनको वुहानबाट फैलिएको हुनाले यूरोप र अमेरीकाले यसलाई एक प्रकारको जातिवादी दृष्टिकोणले चीनीया भाईरस र वुहान भाईरस भनिरहे । यति सम्मकि जी सेभेनको बैठकमा समेत अमेरीकाले यो बिषयमा अडान लिए पछि साझा विज्ञप्ति जारी हुन पाएन । यस बेला सम्म चीनले यसको खण्डन गर्न विवश थियो । अन्ततः ईटालीको हालत खराब भए पछि चीनबाट मेडिकल उपकरण, मास्क, स्वास्थ्यकर्मी समेत गएर काम गरेका छन् र अहिले ईटालीयनहरु चीनीयाको पक्षमा बोलिरहेका छन् । स्वास्थ्यसामाग्री पनि चीनबाट तीव्र मात्रामा उसले खरीद गरीरहेको छ । त्यस्तै स्पेनले पनि चीनबाट सहायता र खरीद सबै काम गरीरहेको छ कोरोना विरुद्ध । ४ सय ३२ मिलियन यूरोको स्वास्थ्य सामाग्री चीनबाट स्पेनले खरीद गरीसकेको छ ।
यस बाहेक चीन ईरान, क्यानडा, अरु ल्याटीन अमेरीकी र एशियाली देशहरुमा मेडिकल उपकरण आपुर्ति गरीरहेको छ । चीनले सेवा र सहयोग त केही गरेको छ नै त्यो भन्दा धेरै उसले उपकरण बिक्रीबाट आर्थिक नाफा र राजनीतिक प्रभाव विस्तार गरीरहेको छ । एक तथ्याकंक अनुसार चीनले ९० बढी देहहरुमा मेडकल उपकरण सहयोग गरीरहेको छ भने ५० बढी देशले चीनतिर फर्किएर मेडिकल उपकरण खरीदको लागि पर्खिरहेका छन् । यो महामारी केही महिना वा बर्ष सम्म लम्बियो भने चीनले ठूलो राजनीतिक प्रभाव विस्तार त छदैछ ठूलो आर्थिक मुनाफा हासिल गर्ने छ केवल मेडिकल उपकरणबाट मात्रै ।
चीन विश्वको सबै भन्दा ठूलो उत्पादन केन्द्र हो । दुनियाका कुनै पनि देशले उत्पादनमा चीनलाई टकराव दिन सकेको थिएन महामारी अघि पनि । यस्तो देखिन्छ कि चीनले विश्का जनताको स्वास्थ्यको रेखदेख गर्ने क्रममा हेल्थ केयर सिल्क रोड बनाईरहेको देख्न सकिन्छ ।
यस बाहेक सन् २०१७ मा अमेरीकी राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षा रणनीति घोषणा गरेका थिए । यसको उदेश्य विश्वमा आयात निर्यात प्रतिस्पर्धालाई बल पुर्याउनु । ट्रम्पको बुझाई के थियो भने यदी विश्वभर प्रतिस्पर्धाको स्थिति आयो भने अमेरीकालाई चीनले चूनौती दिन सक्दैन ।
यस्तैमा ट्रम्पले चीन विरुद्ध व्यापार युद्ध छेडे । यो सकिन नपाउदै आयो कोरोना भाईरस । यो कोरोनाले गर्दा विश्वमा कुनै पनि शक्ति प्रतिस्पर्धा गर्ने स्थितिमा पुग्न पाएनन् । अब अमेरीकाको पछिल्लो स्थितिले अमेरीकाले हार स्वीकार गरेको मान्नु पर्ने हुन्छ किन भने उसको पूर्ववत नीति विपरीत उसले कोरोना विरुद्ध मेडिकल उपकरण चीनबाट ल्याउन स्वीकृति दिएको छ । तत्कालका लागि हेर्ने हो भने चीनलाई प्रतिस्पर्धा गर्न सक्ने कोही नहुने भयो । यो महामारीसगँ जुध्न अमेरीकालाई यति कठिन परेको छ कि आउने २ वर्ष सम्म सामाजिक दुरी, स्कुल बन्द जस्ता परिस्थिति कायम रहन सक्ने त्यो भन्दा अघि खुल्नलाई भ्याक्सिन तयार भएमा मात्रै भनेर अधिकारीहरले चेतावनी दिईरहेका छन् । यसले अमेरीकाको अर्थतन्त्र खराब भन्दा खराब अवस्थामा पुर्याउन सक्छ ।
कोरोना विरुद्ध अमेरीकी निरीहताले दुनियामा एउटा रिक्तता देखिएको छ । यस अघि अमेरीकाले दुनियाँमा परिस्थितिको विष्लेषण र आफ्नो झुकाव प्रस्तुत गर्दथ्यो तर अब उ आफै घुडाँ टेकेर बसेको छ । अरुका लागि हैन आफ्नै लागि जनता बचाउन सकियो भने उसका लागि धन्य हुने स्थिति छ । हो यो रिक्ततामाथि चीनले परिपुर्ति गर्न सक्छ भन्ने पुर्वानुमान र विष्लेषण करीब दशक अघि देखि नै शुरु भएको हो ।

डब्लुएचओः अमेरीकाले हात झिके पछि

दोस्रो विश्व युद्ध सकिए पछि अप्रील ७, १९४८ मा स्थापना भएको विश्व स्वास्थ्य संगठनलले विश्वयापी रुपमा स्वास्थ्य समस्याहरु, महामारीहरुको अन्वेषण , गरीब राष्ट्रहरुमा स्वास्थ्य सहायता र चूनौतीहरु नियन्त्रणमा भूमिका खेल्दै आएको छ ।
अहिले विश्वको सुपर पावर अमेरीकाले त्यही विश्व स्वास्थ्य संगठनलाई दिईदै आएको ४० करोेड डलर भन्दा बढी सहयोग दिईदै आएकोमा त्यसलाई रोकिदिएको छ । विश्व स्वास्थ्य संगठनले थोरै पैसा दिने चीनको पक्ष लिएको, कोरोनाको सूचना होल्ड गरेको लगायतका आरोप राष्ट्रपति ट्रम्पको छ । जसको अन्तराष्ट्रिय स्तरमा आलोचना भएको छ । यस्तो सम्म संकट पर्यो कि डब्लुएचओको सहयोगका लागि विश्वका चर्चित कलाकारहरुले वन वल्र्ड, टुगेदर एट होम भनेर अनलाईन सांगितिक कार्यक्रम गर्न पुगे ।
अमेरीकाले डब्लुएचओलाई दिने सहयोग विश्वको कुल सहयोगको करीब १५ प्रतिशत रहेको देखिन्छ र यो सबै भन्दा बढी हो । जहाँ चीनले ४ करोड डलर दिदै आएको थियो । अमेरीकाको यो कदम पछि चीनले थप तीन करोड बढी डलर कोरोना नियन्त्रणका लागि भन्दै डब्लुएचओलाई दिएको छ । यसले अमेरीका विश्वव्यापी जिम्मेवारीबाट पन्छिन खोज्दै गरेको र चीन अघि बढ्दै गरेको संकेतको रुपमा हेर्न सकिन्छ । एक हिशाबले डब्लुएचओ र सयुत्तः राष्ट्रसंघमा आफ्नो लामो प्रभुत्व राख्ने अमेरीका आफ्नै कारणले पछि हट्दै जानु उसको अद्योगतिको परिणाम हो भन्दा फरक पर्दैन । यसमा ट्रम्पले केवल पैसा हेरेका छन्, अमेरीका फस्टको नीति लिएका छन् । जसले गर्दा जलवायु परिवर्तन लगायत थुप्रै अन्तराष्ट्रिय एजेन्डामा ट्रम्प विश्वव्यापीकरणबाट सीमित हुन खोजिरहेका छन् । उनले चीन सहित अनेकौ देशरुसगँको व्यापारमा चालेका कदमहरुले पनि निकै प्रश्न उठीरहेकै छ ।

यूरोपः अमेरीकासगँ रिसाउदै, चीनको सहयोग लिदै

कोरोनाका कारण बेलायत बाहेकका यूरोपेली देशहरुको उडानमा प्रतिवन्ध लगाउने ट्रम्पको निर्णयको यूरोपेली देशहरुले आलोचना गरेका थिए । अहिले पनि यी उडानहरु बन्द छन् । विषय त्याहाँ मात्र सीमित रहेन कि जर्मनीको एक मेडिकल कम्पनीले अमेरीकामा उत्पादन गरेको लाखौँ मास्क जर्मन आउनै लाग्दा अमेरीकाले रोकिदियो र आफै खोस्यो । जसलाई जर्मनीले अमेरीकाको आधुनिक डकैती भनेर टिप्पणी गर्यो । साथै ट्रम्पले कोरोना भाईरसको भ्याक्सिनमाथिको बिशेषाधिकार खरीद गर्ने प्रस्तावले पनि विवादको रुप लियो । जर्मनका अर्थमन्त्री पिटर अलटाईमरले जर्मन बिक्ने खालको मुलुक नभएको भन्दै उक्त प्रस्तावको आलोचना गरेका थिए । जुन कम्पनी मार्फत उत्पादन हुने भ्याक्सिन केवल अमेरीकाको लागि सुरक्षित गर्न एक अर्ब डलर दिने ट्रम्पको प्रस्ताव थियो । यसले बर्लिन र वासिंग्टनको सम्बन्धमा केही असन्तुष्टीहरु पैदा भएका छन् । बर्लिन अर्थात जर्मनी भनेको बेलायत बाहिरीए पछिको यूरोपको एक हिशाबको शक्तिकेन्द्र बन्दैछ ।

अहिले अमेरीकालाई अझै पनि सैन्य प्राविधिक हिशाबले ठूलो टक्कर दिने रुस छ । एटम बमकै हिशाबमा पनि अमेरीकामा भन्दा धेरै संख्यामा परमाणु बम हातमा लिएर बसेको छ रुस र आर्थिक हिशाबले टक्कर दिने मुलुक बनेको छ चीन ।

यसले विगतमा रुस विरुद्ध सयुक्त रुपमा खडा भएका अमेरीका र युरोपेली युनियनबीच अबको परिदृष्यमा त्यस्तो एकता भेट्न कठिन पर्नेछ । जलवायु देखि औषधी सम्म र हवाई उडान र व्यापार सम्मका मुद्धाले यो स्थिति ल्याउने देखिन्छ ।
त्यही यूरोपमा अर्कोतिर अहिले चीनीया स्वयसेवक, औषधी र उपकरणको बाक्लो मात्रामा ओसार्ने काम भईरहेको छ । ईटाली स्पेन लगायतका मुलुकमा चीनबाट ठूलो मात्रामा सहयोग र खरीद गरिएका स्वास्थ्य सामाग्रीहरु पुगिरहेका छन् । त्यसो त त्यस अघि पनि जर्मनी सहितका युरोपेली मुलुकले चीनसगँको व्यापार र सम्बन्ध अघि बढाईनै रहेका थिए । त्यो अझ बढीरहेको देख्न सकिन्छ । यस हिशाबले पनि अमेरकिा भन्दा चीन युरोपमा पनि फ्रन्टलाईनमा जान सक्छ ।
मध्यपूर्वः अमेरीकामाथि अर्को संकटको भार

अमेरीकाको अर्को संकटको भार भनेको सिरीयादेखि ईरान ईजरायल सम्म हो । ईरानी कमाण्डर जनरल क्वासीम सुलेमानीको जनवरी ३ मा हत्या गरे पछि मध्यपूर्वमा ईजरायल बाहेक अन्य अरबीक राष्ट्रहरु रुष्ट छन् । ईरानले ईराकमा रहेको अमेरीकी सैन्य अखडामा गरेको प्रतिरोध कार्बाहीले दुबैदेशबीच युद्धहुदाँ ईराक वा यमनमा बम हाने जस्तो मात्रै हुने छैन ईरानसगँको युद्ध भन्ने सन्देश स्पष्ट दिएको छ । त्यहीँ नेर सिरीयामा अमेरीका एह हिशाबले बगदादीको हत्या गरेर मात्रै हो अन्यथा पछि हटिसकेको अवस्था छ । उता ईजरायललाई काधँ हालेर ट्रम्पले जेरुसेलमलाई मान्यता दिए पछि उ विरुद्ध संसारभर विरोध भयो । अहिले पनि सयुक्त राष्ट्रसंघ र युरोपेली युनियनको बिरोधका बीच अमेरीकाको समर्थनमा ईजरायलले प्यालेष्टाईनी भूभाग वेष्ट बैंक कब्जा गर्ने थप योजना ल्याएको छ । त्यसले पनि भविष्यमा अमेरीकाको मध्यपूर्व संकट बढ्ने देखिन्छ । मध्यपूर्वमा अहिले चीन र रुसको प्रभावकारी उपस्थिति सावित हुदै गएकाले ईरानमाथिको कार्बाही अमेरीकाका लागि सजिलो हुने छैन । र उसले कठिन संकटको सामना गर्नु पर्ने देखिन्छ ।

विश्व आर्थिक हैसियत विस्तारमा चीन

सन् १८७१ देखि हाल सम्म अमेरीकी कुल ग्राहस्थ उत्पादन विश्वकै कुनै पनि देशको भन्दा बढी छ । अहिलेको अमेरीकी जीडिपी २२ ट्रिलियन डलर पुग्ने अनुमान थियो । तर शायद कोरोनाले अब त्यसमा ब्रेक लगाउने स्थिति हुन सक्छ । अमेरीकालाई पछ्याएको एक मात्र मुलुक चीन हो । जसको १४ ट्रिलियन डलर नजिक रहेको छ । यद्यपि, यसमा कोरोना पछि १९९२ यताकै ठूलो गिरावट आएको छ । यसले सबै देशहरु प्रभावित हुने नै छन् । त्यही भएर चीनले अहिले जिडिपी वृद्धिलाई ध्यान दिने तर गरीबी उन्मुलुन र बेरोजगारी अन्त्यमा जोड दिने नीति अघि सारीसकेको छ । जसले अन्तराष्ट्रिय बजारमा जुनसुकै प्रभाव परे पनि झण्डै डेढ अर्ब नागरिकको व्यवस्थापन गर्न उसलाई सजिलो हुनेछ । अमेरीकी अर्थतन्त्रलाई अबको केही बर्ष पछि चीनले उछिन्ने प्रक्षेपण हुदै आएको छ ।
दोस्रो अर्थतन्त्र हुनुका बाबजुद अमेरीकाको तुलनामा चीनको विश्वव्यापी लगानी बढी छ । सार्वजनिक त्रृण चीनको तुलनामा अमेरीकामा धेरै बोझ बन्दै गएको छ । केही बर्ष अघि दिईएको बिबरण अनुसार अन्तराष्ट्रिय मुद्राकोष र विश्व बैंकको भन्दा बढी चीनीया त्रृण विश्व बजारमा प्रवाह भएको छ । ब्रिक्स मार्फत बढ्दै गरेको अन्तराष्ट्रिय साझेदारी र बैकल्पिक बैंकको स्थापना जस्ता कदमहरु चीनको अगुवाईमा भएको छ । त्यस बाहेक बेल्ट एण्ड रोड ईनिसिएटिभ मार्फत एशिया मध्यपूर्व यूरोप जोड्ने जो महत्वकाक्षी परियोजना चलिरहेको छ । यसले बिशाल चीनले विश्वमा आफ्नो लहर ल्याउने अभियानको हेरिएको छ । जसको विरुद्ध अमेरीका, जापान र भारत लगायतका देश उभिएका छन् ।

सन् १९७७ मा एशियामा काम गरेका अमेरीकी मेरिन कप्र्स गुप्तचर अधिकारी विलियम कोर्सनले ‘आर्मिज अफ् ईग्नोरेन्स’मा मार्न खोएिको नेता चाउएनलाई थिए भनेर लेखेबाट स्पष्ट हुन्छ । सिआईएले दशकौं अघि निकालेको त्यो निष्कर्ष सही साबित भयो कि चीनले अहिले अमेरीकालाई टक्कर दिईरहेको छ ।

अहिले कोरोना संकटका कारण विश्व अर्थतन्त्री ठूलो नोक्सानीको शिकार भएको छ । परपावर बन्ने पहिलो शक्तिको आधार भनेको अर्थतन्त्र नै हो । जो चीनले हैसियत प्राप्त गर्ने दिशामा जाँदैछ । अमेरीका र यूरोपको आर्थिक संकटका बीच चीनीयाहरुले तीस प्रतिशत भन्दा पनि सस्तो मुल्यमा अमेरीकी तथा यूरोपेली कम्पनीको शेयर खरीद गरीरकेको छ । जानकारहरुले प्रकाशित गरेका दृष्टिकोणहरुका आधारमा हेर्ने हो भने आउदो ६ महिना सम्म अमेरीका र यूरोमा मन्दीको समय रहन सक्छ ।
यो मन्दी सन् १९३० अघि अर्थात दोस्रो विश्व युद्ध भन्दा अघिको स्थितिमा पुग्न सक्ने अन्तराष्ट्रिय मुद्रा कोषले जनाएको छ । यद्यपि, प्रारम्भिक रुपमा सन् २००८ को मन्दी पछिको ठुलो मन्दीको बिन्दुमा मात्रै विष्लेषण सीमित राखिएको छ । यस्तो स्थितिमा विश्व अर्थतन्त्रको पुननिर्माण र भूमिकामा चीनको अग्रणी हुने कुरा स्पष्ट हुदै गएको छ ।
अहिले यूरोप अमेरीका लगायतका मुलुकमा धेरै डुब्न लागेका कम्पनहिरुमा चीनीयाहरुले ठूलो मात्रामा लगानी गर्न शुरु गरे पछि भविष्यमा एक खालको आर्थिक उपनिवेश कायम हुन सक्ने खतरा देखेर जर्मनी, बेलायतदेखि भारतसम्मले चीनीया लगानीमा नियन्त्रणका केही नीतिहरु ल्याउन थालेका छन् । यसले भविष्यमा कस्तो असर पार्ला त्यो अहिले भन्न सकिदैन ।
जे भए पनि चीनको आर्थिक लगानी र हैसियत ठूलो आकारमा विश्वव्यापी रुपमा बढेको स्पष्ट चित्र भने देख्न सकिन्छ । जसले गर्दा विश्वव्यापी नेतृत्व गर्न मुख्य कुरा भनेको आर्थिक हैसियत हो जो अहिले चीनले बनाईरहेको छ ।
फाइनान्सीयल टाईम्सका अनुसार विश्वका तीन शक्तिशाली शहरहरुमध्य चीनमा मात्रै २१ वटा रहेको देखाएको छ सन् २०१९ को रिपोर्टमा । यो उसको आर्थिक उत्पादन र व्यापारीकरणकै उपज हो । यसले शक्ति र सभ्यता चीनतिर सरीरहेको अनुमान गर्न कुनै कठिनाई पर्दैन ।

चीन–अमेरीका टकरावको संभाव्य परिणाम

जब चीन नयाँ युगमा प्रवेश गर्यो सन् १९४९ मा । त्यतिखेर देखि नै अमेरीकाले यसका बिरुद्ध कठोरता अपनायो । जस्तो कि लामो समय सम्म उसलाई सयुक्त राष्ट्रसंघको सदस्यता नदिनु । सन् १९५५ मा त अमेरीकी जासुसी संस्था सिआईकै योजनामा तात्कालीन चीनीया प्रधानमन्त्री चाउ एन लाईलाई मार्न भारतीय विमान कास्मीर प्रिन्सेसमा टाईम बम फिट भएको थियो । जसमा प्रत्यक्ष सहभागीता चाहीँ ताईवानको जासुसहरुले जनाए । आकाशमा चाउएनलाई मार्न नसकिए पछि ईन्डोनेशियामा भएको तेस्रो विश्वको सम्मेलनमा भारतमा बिष हाल्ने सम्मको योजना अमेरीकाले बनाएको थियो । पछि त्यो योजना रद्ध भएको र खास गरी चीनले भविष्यमा अमेरीकालाई टक्कर दिन सक्छ भनेर यस्तो षड्यन्त्र गरिएको कुरा सन् १९७७ मा एशियामा काम गरेका अमेरीकी मेरिन कप्र्स गुप्तचर अधिकारी विलियम कोर्सनले ‘आर्मिज अफ् ईग्नोरेन्स’मा मार्न खोएिको नेता चाउएनलाई थिए भनेर लेखेबाट स्पष्ट हुन्छ । सिआईएले दशकौं अघि निकालेको त्यो निष्कर्ष सही साबित भयो कि चीनले अहिले अमेरीकालाई टक्कर दिईरहेको छ ।
आर्थिक, सामरीक, विज्ञान प्रविधि हरेक क्षेत्रमा चीनको प्रतिस्पर्धा अमेरीकासगँ चलिरहेको छ । यो अमेरीकाको सन् १९९० दशक पछि एक ध्रुवीय विश्वको घोषणा गरेर त्यसको सबै भन्दा शक्तिकेन्द्र आफू भएको जनाउ दियो । जसका लागि उसले तीन दर्जन बढी देशमा बम आक्रमण, हत्या, नरसंहार गर्यो र अहिले पनि जारी छ । अमेरीका बन्दुकको बलमा शक्ति कायम गर्न खोजिरहेको छ । अहिले रुसको भन्दा कम परमाणु बमको संख्या भएकाले बढाउनेतिर ट्रम्पले कदम चाल्दैछन् । अमेरीका केबल बन्दुकको भाषाबाट सार्वभौम देशहरुमाथि आक्रमण र हस्तक्षेपका माध्यमबाट कच्चा स्रोतहरुको दोहन गरेर धनी भईरहने नीतिमा छ ।
त्यसको ठाँउमा चीन साझेदारी, व्यपार र आर्थिक गतिविधि मार्फत विश्वव्यापी सम्बन्धमा जोड दिईरहेको छ । यही फरकपनले गर्दा पनि चीनको खोजी र अमेरीकाको विदाई मध्यपूर्वदेखि ल्याटीन अमेरीकी मुलुकसम्म बढीरहेको छ । अफ्रीकामा पनि त्यही स्थिति बन्दै छ । यसको अर्को कारण भनेको अमेरीकाको स्वेत जातिवाद हो । जसले सेताहरु र पश्चिमाहरु मात्रै सर्वश्रेष्ठ हुन् भन्ने मान्यता राख्दछ ।
आर्थिक स्थितिको टकराबलाई रोक्न अब अमेरीकाले बन्दुक र बमको भाषा बोल्न सक्छ । त्यसको हटस्पट भनेको दक्षीणी चीनीया सागर र प्रशान्त महासागर हुन सक्छ । जहाँ अहिले कोरोनाकै महामारीका बेला पनि अमेरीका र उसका सहयोगीहरुले युद्धपोतहरु पठाईरहेका छन् र त्यसको काउन्टरमा चीनले अप्रेसन जारी राखेको छ ।
अहिले कोरोना भाईरस चीनको ल्याबबाट फैलिएको, चीनीया भाईरस, वुहान भाईरस जस्ता नस्लीय टिप्पणी र विवाद सृजना गर्नुको पछाडी सबै भन्दा ठूलो अमेरीकी कारण भनेको एउटा अन्तराष्टिय युद्ध जन्माउनु हो । किन भने अमेरीकाले फेरी त्यस्तो युद्धमा विश्व पुग्यो भने हतियार र स्पेसक्रयाफ्ट बेचेर फेरी पैसा असुल्न सक्छ । जसरी सन् १९६० पछि उसले अकुत मुनाफा कमायो । त्यो बिकल्पको बिरुद्धमा विश्वका अरबौं मानिसहरु छन् । तर अमेरीकाले त्यस्तो परिणाम नल्याउला भन्न सकिन्न । जसको परिणाम चीन रुस उत्तरकोरीया गठबन्धन र अमेरीका नेतृत्वको गठबन्धनबीच संभाव्य युद्ध नहोला भन्न सकिन्न । यस्तो स्थितिमा के परिणाम आउछ भन्न कठिन छ । तर रुच चीन समिकरण र सामरिक साझेदारीले अमेरीका या नेटोलाई यो शक्तिमाथि बिजय सजिलो हुने छैन ।

चीन रुस गठबन्धन बलियो हुन सक्छ

सोभियत संघको विघटन हुनु अघि धर्तीदेखि समुन्द्र सम्म अन्तरीक्ष सम्म प्रतिस्पर्धा र टकरावको हैसियतमा कोही थियो भने रुसी महासंघ । अमेरीकी प्रयत्न समेत जोडेर जब रुस टुक्रियो । र समाजवादको पतन भयो त्यस पछि घोषणा गरिएको हो ईतहासको अन्त्य, माक्र्सवादको अन्त्य र विश्वव्यापीकरण र एक ध्रुवीय विश्वको घोषणा ।
तर समयले कोल्टे फेरेको छ । अहिले अमेरीकालाई अझै पनि सैन्य प्राविधिक हिशाबले ठूलो टक्कर दिने रुस छ । एटम बमकै हिशाबमा पनि अमेरीकामा भन्दा धेरै संख्यामा परमाणु बम हातमा लिएर बसेको छ रुस र आर्थिक हिशाबले टक्कर दिने मुलुक बनेको छ चीन । अमेरीका सैन्य प्रविधिमा सर्वश्रेष्ठ हुन रुसको बिपक्षमा हुन्छ भने आर्थिक सर्बश्रेष्ठ हुन चीनको बिपक्षमा । यही कारण हो जसले रुस र चीनलाई एक ठाँउमा ल्याउछ । उनीहरुबीच बढेको ब्यापारीक एवं सैन्य रणनीतिक साझेदारीले स्पष्ट रुपमा त्यो संकेत दिएको छ । सन् २०१८ मा रुसले आयोजना गरेको अहिले सम्मकै सबै भन्दा बिशाल सैन्य अभ्यासमा चीनीया जनमुक्ति सेनाको सहभागीता त्यसको संकेत हो । अहिले कोरोनासगँ जोडेर चीनका बिरुद्ध प्रोपोगण्डा छेडिरहेको अमेरीकालाई सामना गर्न मिलेर डट्ने सहमति पुटिन र सि बीच भएको छ । यसले रुसचीनबीचको गठबन्धन बलियो बन्दै जाने देखिन्छ । यस्तो भयो भने अहिलेको हकमा एउटा युद्ध टारेर वा लडेर पनि चीनरुसको साझेदारीमा पनि विश्वको नेतृत्व तय हुन सक्छ । यस्तोमा लागू हुने भनेको युरेसिया मोडल हो । अर्थात यूरोप र एशियाको हिस्सा मिलेर विश्वव्यापी नेतृत्व गर्ने । तर आउदा परिस्थितिहरुमा सरल ढंगले हैन जटिल तवरले नै यस्तो स्थिति आउने छ ।
२०१९ मा अमेरीका आफैंले खुलासा गरेको अर्को प्रवृत्ति भनेको संयुक्त राज्यको नेतृत्वमा रहेको सामूहिक पश्चिमहरुको शक्ति हो, अन्तराष्ट्रिय कानूनमा आधारित भन्दा “नियमका आधारमा विश्व व्यवस्थाको अवधारणा“ थोपर्ने हो ।
यो अवधारणा पश्चिमी विश्वव्यापी एजेन्डाको शीर्ष प्राथमिकतामा रहनेछ जुन संयुक्त राष्ट्र संघलाई मुख्य अन्तराष्ट्रिय संस्थाको रूपमा प्रतिस्थापित गर्नु हो जुन सामूहिक पश्चिमा शक्तिले अन्तराष्ट्रिय राजनीतिमा व्यवहारको नियम बनाउँदछ। रूस र चीनले यस पश्चिमी दृष्टिकोणको प्रतिरोध गर्न जारी राख्नेछन् जुन २०२० मा विवादको अर्को हड्डी हुनेछ । यो रुसी र चीनीयाहरुको साझा दृष्टिकोण भएकाले उनीहरु आफैले यस्तो रणनीतिका बिरुद्ध थप मोर्चाबन्दी गर्ने कुरामा दुई मत छैन ।

कोरोना, चीनमाथिका अभियोग र नेतृत्वको प्रश्न

महामारीको सूचना लूकाएको जस्ता आरोप चीनमाथि लागेको छ । डा. लिले शुरुमा कोरोना पत्ता लगाए उनलाई चुप लगायो र अन्ततः कोरोनाबाट उनको मृत्यु भयो । चीनले डब्लुएचओसगँ मिलेर कोरोनाको महामारीको सूचना दवाायो । चीनले लापरबाहीका कारणले या नियतबस नै यो महामारी फैलन दियो भन्ने आरोप छ । अमेरीकाको फ्लोरीडामा एउटा ल फर्मले चीन विरुद्ध २० ट्रिलियन डलर क्षतिपुर्तिको माग सहित मुद्धा दायर गरेको छ । यो चीनको जैबिक हतियार भएको दाबी छ उनहिरुको । ईन्टरनेसन कमिसन अफ् जुरिष्टले चीनले क्षतिपुर्ति दिनु पर्ने भनी सुरक्षा परिषद्मा माग गरेको छ । यो एंगलबाट हेर्दा पश्चिमा प्रजातन्त्रवादी र नाटो गठबन्धनमा आवद्ध राष्ट्रहरु र केही एशियाली दक्षिण एशियाबाट भारत लगायतले चीनको नेतृत्व स्वीकार गर्न कठिन छ ।

भविष्यमा विभिन्न देशमा चीन विरोधी प्लेकार्ड बोकेका मानिसहरुको तस्वीर र समाचार आयो भने त्यो कुनै अनौठो बिषय हुने छैन । किन भने त्यसको तयारी लामो समयदेखि भईरहेको र अहिले त अझ बढी ।

अहिले चीनको यो गति रोक्न अमेरीकाले प्रसस्त नस्लवादी र कुटनीतिक अस्त्रहरु प्रयोग गरीरहेको छ । ब्राजिल, फ्रान्स, बेलायत लगायतका मुलुकमा कोरोनाका लागि चीन जिम्मेवार छ भन्ने हल्ला चीन विरोधी भावना विस्तार गर्ने प्रयासहरु भईरहेका छन् । यदी भविष्यमा विभिन्न देशमा चीन विरोधी प्लेकार्ड बोकेका मानिसहरुको तस्वीर र समाचार आयो भने त्यो कुनै अनौठो बिषय हुने छैन । किन भने त्यसको तयारी लामो समयदेखि भईरहेको र अहिले त अझ बढी । चीनीया भाईरस, वुहान भाईरस भनेर अ‍ेमरीकाले गरीरहेको टिप्पणी र कोरोनाको भ्याक्सिन अफ्रीकी नागरिकमा गर्नु पर्ने फ्रान्सका एक जना वैज्ञानिकको प्रस्तावले उपनिवेशवादी पूरानो मान्यताबाट अमेरीका र यूरोप अझै ग्रस्त रहेको देखिन्छ । यसले स्वयं उनीहरुलाई हानी गर्नेछ । यो प्रोपोगण्डाको पछाडी अमेरीकाले आफ्नो भूमिमा कोरोना नियन्त्रण गर्न नसकेको, आर्थिक अवस्था दयनिय बन्दै जाने र करोडौ नागरिक बेरोजगार बन्दै जाने स्थितिलाई मोड्न र आउदो चुनावमा फेरी जीत हात पार्ने ट्रम्पको नीतिको रुपमा पनि कतिपयले व्याख्या गरीरहेका छन् । अहिले फक्स न्यूजले ठूलो लगानीमा रिसर्च रिपोर्ट भनेर जुन प्रचारमा ल्यायो वुहानको ल्याबमा कोरोना भाईरस तयार भएको भनेर त्यस पछि अमेरीकी अधिकारीहरुले वुहानमा अमेरीकी प्रतिनिधिलाई जान दिनु पर्ने माग गरीरहेका छन् । श्रृखलाबद्ध रुपमा यी प्रयासहरुले कोरोना चीनले फैलाएको भनेर विश्वव्यापी जनमतलाई चीन विरुद्ध उभ्याउन प्रयास गर्ने, लगानी नियन्त्रणको बिधिबाट चीनीया लगानी र अर्थव्यवस्था कमजोर तुल्याउने नभए अन्ततः युद्धमार्फत नियन्त्रणको प्रयास गर्ने अमेरीकी मनशाय देखिन्छ । यसले सबै सूचकाक र भूराजनीतिक परिदृष्यहरु हेर्दा यसमा पनि अमेरीका सफल नहुने बरु उल्टै थप कमजोर हुने स्थिति बन्न सक्छ ।
अमेरीकी राष्ट्रपति देशको सिमानामा पर्खाल लगाउने ,फ्रि ट्रेडको सम्झौता हटाउने,क्लाईमेट चेन्ज सम्बन्धि पेरिस सम्झौता लागू नगर्ने मात्र हैन नेटोको औचित्यमाथि समेत ट्रम्पले प्रश्न उठाएका छन् । यसले अमेरीकाको ग्लोवल लिडरसिपमाथि प्रश्न उठेको छ । यहीनेर चीन फ्रि ट्रेडको पक्षमा छ, क्लाईमेट चेन्ज सम्बन्धि पेरिस सम्झौता कार्यन्वयनको पक्षमा छ । सन् २०१४ मा अमेरीकी राष्ट्रपति बराक ओबामाले चीनलाई विश्वव्यापी मञ्चमा चीन फ्रि राईडरको रुपमा आएको कमेन्ट गरेका थिए । तर चीनले कुनै पनि आवस्यकता या बाध्यता जे सुकैले भए पनि सन् २०१४ मा एशियन ईन्फास्ट्राक्चर ईन्भेष्टमेन्ट बैंकको स्थापना र वान वेल्ट वान रोडको महत्वकाक्षी परियोजना अघि बढाउनुले पनि उसले दीगो र नेतृत्वदायी सोच अघि बढाएको तर्क गर्नेहरु पनि छन् ।
अहिले चीनले अमेरीकालाई विस्थापित गर्नु भन्दा पनि साझेदारी गर्नु बुद्धीमानी हुने छ । स्थीरता र शान्ति अनि विकासका लागि दुबै शक्तिको सहकार्य जरुरी देखिन्छ । जुन कुरा चीनले बताउदै आएको छ । शान्ति, आर्थिक विकास र साझेदारीको कुरा गर्ने चीन र युद्ध, उपनिवेश र बन्दुकको बलमा पैसा आर्जन गर्ने अमेरीकाको बिपरीत चरित्र छ । राजनीतिक हिशाबले पनि कम्युनिष्ट र कम्युनिष्ट विरोधी पूजवादी साम्राज्यवादी अमेरीकाको दृष्टिकोण भिन्न छ । अतः चीनको नेतृत्व सजिलै अमेरीकाले स्वीकार गर्ला भनेर मान्न सकिदैन । तर परिस्थिति चाहीँ फेरी त्यतैतिर हिड्दै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी