कञ्चनपुर , बैशाख, ११ ।
कोरोना भाइरस (कोभीड १९) रोकथाम तथा नियन्त्रण अभियानका क्रममा कञ्चनपुरमा तीस दिनमा तीसवटा उपलब्धि हासिल भएको जिल्ला प्रशासन कार्यालय कन्चनपुरले दाबी गरेको छ। ३० दिनको उपलब्धि सार्जजनिक गर्दै प्रशासनले यस्तो दाबी गरेको हो ।
स्थानीय प्रशासनले कोरोना नियन्त्रणका लागि विभिन्न निकायसँग गरिएको समन्वयदेखि गुनासो सुन्नेसहितका विषयवस्तुहरूलाई उपलब्धिका रूपमा राखेको छ । संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय, सुरक्षा निकायको बैठक, राहत वितरण, यात्रुको स्क्रिनिङ, क्वारेन्टाईन र आइसोलेसनमा राख्ने कामलाई पनि प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले उपलब्धिको बिसयको रूपमा सार्वजनिक गरेका छन् ।
लकडाउनको बीचमा १६ भन्दा बढी जिल्लाका दुई हजार दुई सय ४५ मजदुरलाई उद्धार गरी घर पठाइएको छ। भारतमा उपचार गरी घर फर्किन लागेका ६ नेपालीको भारतबाट उद्धार गरी घर पठाइएको समेत खतिवडाले जानकारी दिए । २०७६ फागुन २३ गतेदेखि नै भीमदत्त नगरपालिकाले कन्चनपुरका सीमा क्षेत्रमा हेल्थ डेस्क स्थापना गरेर कोरोना भाईरस रोकथामको प्रयास थालिएको थियो। खतिवडाले कन्चनपुर जिल्लाका नौवटै स्थानीय तहमा कोरोना जोखिम न्यूनीकरणको पूर्वतयारीसम्बन्धी कामको अनुगमनसमेत गरिएको बताए।
बिहीबार एक सय ३५ ले जिल्ला प्रवेस
कञ्चनपुरको प्रवेसद्वारा पुर्वत्तरी नाका कृष्णपुर नगरपालिका ५ गुलरियाबाट एकै दिन बिहीबार १ सय ३५ जनाले कन्चनपुर जिल्ला प्रवेस गरेका छन् ।

कृष्णपुर नगरपालिका अनुसार सोही नगरपालिका ६, बेदकोट नगरपालिका १०, शुक्लाफाँटा नगरपालिका १७, बेलौरी नगरपालिका ३४, बेलडाँडी गाउँपालिका ७, भीमदत्त नगरपालिका ३, पुर्नवास नगरपालिका ४ र लालझाडी गाउँपालिका ४ जनाले जिल्ला प्रवेस गरेका हुन् । भने बाँकी ५० जनाको ठेगाना खुलेको छैन् ।
गत सातादेखि कृष्णपुर नगरपालिकाका जनस्वास्थ्यकर्मी र सशस्त्र प्रहरीले चेकजाँच गरेर सम्बन्धीत स्थानीय तहको क्वारेन्टाईनमा पठाईरहेका छन् ।
