काठमाडौं, ९ वैशाख । काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा आज वर्षा भइरहेको छ । सोमवारराती देखि नै वर्षा भईरहेको छ ।
अपरान्ह पछि पहाडी भूभागका केही स्थानका साथै पश्चिमी तराईका थोरै स्थानमा मेघ गर्जन,चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी तीन दिनसम्म देशका विभिन्न भूभागमा हावाहुरीसहित असिना पानी पर्ने हुँदा सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभावले देशका विभिन्न ठाउँमा मौसम बदली रहने महाशाखाले जनाएको छ ।
मौसमविद मन्जु बासीले ती स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भैरहेको र उक्त प्रणाली उत्तर पूर्वतिर सर्दै गएकाले सतर्कता अपनाउनु पर्ने बताइन् ।
पछिल्लो ६ घण्टामा देशको धेरैजसो स्थानमा वर्षा भइरहेको र थप वर्षा हुने सम्भाना पनि रहेकाले खासगरी कर्णाली, प्रदेश ५, गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ को पहाडी भागबाट बहने नदी तथा खोलामा जलसतह बढ्ने अनुमानसमेत गरिएको छ ।
मौसमविद बासीका अनुसार अहिले प्रिमनसुन गतिविधि सक्रिय छ । त्यसमा पनि स्थानीय वायु र पश्चिमी निम्न चापीय प्रणाली मिसिएको छ । साथै बंगालको खाडीबाट निस्किएको जलवाष्पयुक्त हावा आइरहेकाले पनि नेपालमा पानी परिरहेको छ ।
काठमाडौं उपत्यकाको हकमा अहिले परिरहेको पानी दुई–तीन घण्टापछि रोकिन्छ । तर मौसमी प्रणालीलाई हेर्दा मंगलबार दिउँसो र बुधबारसम्मै पानी पर्ने देखिन्छ । यद्यपि मंगलबारको तुलनामा बुधबार केही कम पानी पर्ने मौसमविदको अनुमान छ ।
‘तुलनात्मक रुपमा आज जति सक्रिय छ, भोलि योभन्दा अलि कम हुने देखिन्छ,’ मौसमविद बासीले भनिन्, ‘पर्सिबाट फेरि अर्को निम्न चापीय प्रणाली प्रवेश गर्दैछ । त्यही भएकाले पर्सि पश्चिमी भूभाग अलि बढी प्रभावित हुन्छ ।’
सोमबार राति १२–१ बजे अगाडिसम्म कर्णाली र प्रदेश नम्बर ५ मा बढी पानी परेको थियो । मंगलबार बिहानदेखि भने गण्डकी, बागमती, प्रदेश २ मा बढी पानी परिरहेको छ । पानी पार्ने यो प्रणाली उत्तरपूर्वतिर सर्ने क्रममा छ । त्यसैले प्रदेश नम्बर १ सम्म पनि यसको प्रभाव देखिने मौसमविद बासी बताउँछिन् ।