कोरोना प्रभाव र राष्ट्रिय चिन्तन

कोरोना प्रभाव र राष्ट्रिय चिन्तन

  • सोमवार, बैशाख ८, २०७७
  • डा. रामकृृष्ण तिमल्सीना

  • 33.6K
    SHARES

संसार गतिहिन छ । यसलाई गतिमय बनाउन जरुरी छ । कोरोना नकारात्मक तरीकाबाट सिकिने सकारात्मक उर्जा हो । यसले मानवजातिमा चेत खोलेको छ । अहिले सम्मको विकासको अंह चकनाचुर भएको छ । घर भित्र बस्न नदिने भूकम्प र घर बाहिर बस्न नदिने कोरोना दुवैले मान्छेको हैसियतमा चेत खुलाए । त यो क्षणिक चेत बन्ने डर छ । यसलाई दीर्घकालीन वनाउने हो भने हामीले केही सोच्नै पर्दछ । धेरै कुरा गर्नै पर्दछ । अझ धेरै कुरा छाड्नु पर्दछ ।

सोच्नै पर्ने कुरा

१. रेमिट्यान्समा भर पर्ने अर्थतन्त्रलाई कसरी बदल्ने र स्वतन्त्र अर्थ व्यवस्था कसरी कायम गर्ने ।
२.नेपालको अहिलेको अल्छी शिक्षा पद्धति , अति पढेकाले साधारण काम गर्न नहुने भन्ने शिक्षा र कर्ममा नउतार्ने ज्ञानको शिक्षालाई त्याग्न के गर्नु पर्छ सोच्नै पर्ने भएको छ ।
३.देशमा रहेको युवा बेरोजगारीलाई कसरी रोजगार बनाउने सोच्नै पर्ने भएको छ ।
४. राजनीतिलाई उत्तरदायी, पारदर्शी, योग्य,सक्षम र ईमान्दार कसरी बनाउने ? राजनीतिक शुद्धीकरण र भ्रष्टाचार उन्मुलन कसरी गर्ने ?
५. देशमा रहेको बर्गीय एवं आर्थिक असमानता एवं सामाजिक विभेदलाई कसरी अन्त्य गर्ने सोच्नु पर्ने अर्को बिषय हो ।
६. कृषि र पशुपालनको दायरालाई कसरी फराकीलो बनाउने ? व्यशायीक कृषिलाई कसरी प्रवद्र्धन गर्ने ? यो पनि अर्को बिचारणीय पक्ष हो ।
७. पर्यटन क्षेत्र, पुर्वाधार विकास र पर्यटनको व्यपारीकरण कुन तरीकाबाट गर्ने ?
८. नैतिकतायुक्त समाजको विकास कसरी गर्न सकिन्छ ? खस्किदो आचरण र व्यवहार एवं संस्कारलाई कसरी माथि उठाउने ?

यी माथिका कुराहरुलाई पूरा गर्न हामीले तुरुन्त केही गरीहाल्न पर्दछ । ती मुख्य कुराहरु देहायबमोजिम छन् ।

(क) नेपालका युवाहरुलाई उनीहरुको दक्षता र क्षमता अनुसारको काम लगाउन आवस्यक प्रवन्ध गर्ने । यसको लागि कृषि, पशुपालन र पर्यटनमा आवस्यक तालिम दिई, सहुलियत दरमा क्रृण दिई काम गर्न लगाउने । यो सजिलो कुरा होईन । यसमा व्यापक जागरणको खाँचो छ । प्रदेश र स्थानीय तहको समन्वयमा यो कुरा गर्न सकिन्छ । अहिले बाँझो परीरहेको जमिनलाई कुनै पनि हालतमा उर्वर बनाउने । एक क्षेत्र एक खेतीको पहिचान गरी कृषिमा सहकारीता वा कम्पनी मार्फत काम गर्ने । सरकारले बजारको व्यवस्थापन, मलविउको अनुसन्धान र आपुर्तिको व्यवस्था मिलाउने । यसका लागि गाँउमा सामुहिक बस्ती बसाउने । सामुहिक बस्ती बस्ने जग्गाको पहिचान गरी आवस्यकता अनुसार स्वामित्व नदिई भोगाधिकार बाट यो कार्य गर्ने, यसको लागि स्थानीय तहसगँ समन्वय गरी नीति बनाउने ।
(ख) अहिलेको शिक्षाको पाठ्यक्रम परिवर्तन गरी नीतिगत र व्यवहारीक बनाउने । शिक्षामा सिद्धान्त भन्दा बढी व्यवहारलाई जोड दिने । नक्कली प्राक्टिकल नगराई सक्कली काम मात्रै लगाउने । ईन्टर्नसिप अनिवार्य गर्ने । अनुसन्धानमुखी बनाउने । कृषि र पर्यटनमुखी शिक्षा दिने तर त्यसमा योजना सम्पन्न नगरी डिग्री नदिने ।
(ग) जडीबुटी र बन पैदावारको अनुसन्धान र विक्री वितरण प्रवद्र्धन गर्ने । सालको पनि बोट लगाउन दिने, काट्न दिने । पाँच औले र कस्तुरीको खेती गर्ने,यार्सा गुम्बा संकलन गर्न दौडिने होईन, त्यसको खेती गर्ने, रक्त चन्दनको खेती गर्ने वा रुख लगाउन दिने ।
(घ) संसारमै महंगो भएका चीजको नेपालमा उत्पादन गर्ने, प्रशोधन गर्ने र विक्री गर्ने ।
(ङ) अन्तराष्ट्रिय पर्यटनलाई लक्षित गरी धार्मिक पर्यटन, आध्यात्मिक पर्यटनको विकास गर्ने । गौरी शंकर हिमाल नै वास्तविक कैलाश भएकाले त्यसमा पूर्वाधार विकास गरी गौरीशंकर सहितको कैलाश बनाउने ।
(छ) कन्फरेन्स पर्यटनका लागि अन्तराष्ट्रिय स्तरका होटल, काठमाण्डौं बाहिर खोल्ने, पदयात्राको विकास गर्ने ।
(ज) बुद्धको अध्ययन पद्धति सिकाउने स्कुल खोल्ने र वुद्धत्व कसरी प्राप्त गर्न सकिन्छ भनी सिकाउने ।
(झ) वैदिक ज्ञान र सभ्यतालाई आधुनिक मान्यतासगँ मिसाई शुरु देखि नै वालवालिकालाई संस्कारयुक्त शिक्षा दिने । वैदिक शिक्षालाई कर्मकाण्ड र ज्ञानकाण्डमा विभाजन गरी ज्ञान काण्डको अन्तराष्ट्रियकरण गर्ने , छुट्टै विश्व विद्यालय खोल्ने वा संस्कृत विश्व विद्यालयलाई नयाँ तरीकाबाट डिजाईन गर्ने । यसमा गृहकार्य गर्ने ।
(ञ) युवा बेरोजगारहरुलाई देश भित्र नै परिचालन गर्न उनीहरुको जोश, जाँगर र प्रौढहरुको अनुभवलाई साथै राख्न सक्ने वनाउन क्षेत्रीय सन्तुलन र संभाव्यतालाई विचार गरी ठूला ठूला कृषि, पर्यटन,वन,पशुपालनसगँ सम्बन्धित योजना बनाउने र कार्यन्वयन गर्ने । यसका लागि आगामी बजेटमै व्यवस्था गर्ने ।
(ट) गृहीणी महिलालाई लक्षित गरी स्थानीय तहमा स्वावलम्बी कार्यक्रम सञ्चालन गर्ने,घरेलु सिपको अन्तराष्ट्रिय प्रवद्र्धन गर्ने ।
(ठ) देशलाई चाहिने स–साना उत्पादनका सामाग्रीहरु पहिचान गरी बनाउन लगाउने , त्यसमा स्थानीय सामाग्रीको प्रयोग गर्ने ।
(ड) बर्गीय असमानता हटाउन गरीब केन्द्रीत आयमुलक कार्यक्रम विकास गर्ने,भूमिहीन गरीबहरुलाई राज्यले खेती गर्ने जग्गा उपलव्ध गराई सामुहिक खेती व्यवस्थापन गर्ने ।
(ढ) दीर्घकालमा अन्तरजातिय विवाहबाट जात जातिको विभेद हटाउन सकिन्छ । आरक्षणबाट भन्दा क्षमता विकासबाट सामाजिक विभेद हटाउने रणनीति लिने । आर्थिक शसक्तिकरणका उपायबाट नै असमानता हटाउन सकिन्छ ।

अहिले बाँझो परीरहेको जमिनलाई कुनै पनि हालतमा उर्वर बनाउने । एक क्षेत्र एक खेतीको पहिचान गरी कृषिमा सहकारीता वा कम्पनी मार्फत काम गर्ने । सरकारले बजारको व्यवस्थापन, मलविउको अनुसन्धान र आपुर्तिको व्यवस्था मिलाउने । यसका लागि गाँउमा सामुहिक बस्ती बसाउने । सामुहिक बस्ती बस्ने जग्गाको पहिचान गरी आवस्यकता अनुसार स्वामित्व नदिई भोगाधिकार बाट यो कार्य गर्ने, यसको लागि स्थानीय तहसगँ समन्वय गरी नीति बनाउने ।

(ण) कानुन र व्यवस्था कायम गर्न सरकारी संयन्त्रको सुसासन आवस्यक हुन्छ । सरकारले कानुन कार्यन्वयनमा बिशेष जोड दिनु पर्दछ । अदालत पनि विकास मैत्री हुनु पर्दछ ।
(त) राजनीतिज्ञको योग्यता तोकिनु पर्दछ र अवकासको उमेर पनि तोक्नु पर्दछ ।
(थ) वालवालिकालाई आत्मनिर्भर हुने शिक्षा दिनु पर्दछ । अंशवण्डाको प्रथालाई खारेज गर्नु पर्दछ । अत्याधिक परनिर्भरता हटाउन आवस्यक छ । वृद्धवृद्धाको लागि वृद्धाश्रमको सट्टा बाबुआमाको सम्मान गर्न आवस्यक नीति बनाउनु पर्दछ ।
(द) पानी उद्योग नेपालको लागि राम्रो क्षेत्र हो । अन्तराष्ट्रिय रुपमा नै पिउने पानीको संकट छ । त्यसैले पिउने पानीका उद्योग खोली पानी निकाशी गर्नु पर्छ र विद्युतमा आधारीत अर्थतन्त्र बनाउन घरेलु आवस्यकता पूरा गरी बाह्य निकासी गर्न सक्ने वातावरण बनाउनु पर्दछ ।
(ध) विदेशमा रहेका योग्य विद्धान र अनुभवि नेपालीलाई स्वदेश फर्कन आव्हान गरी उनीहरुको विद्धता देशभित्र प्रयोग हुन सक्ने वातावरण नीति , योजना र कार्यक्रम विकास गर्नु पर्दछ ।

छाड्न पर्ने कुराहरु
१. अल्छी र घमण्डीपन छाड्नु पर्दछ । परावलम्वी वा आश्रित संस्कृतिबाट माथि उठ्न आवस्यक छ । महिलाहरुलाई पनि विकासको साझेदार,कामको साझेदार र हकको साझेदार बनाउन आवस्यक भएकाले उच्च, निच्च र भेदभावको संस्कृति छाडी कामको संस्कृतिमा लाग्नु पर्दछ ।
(२) टिका टिप्पणी र गालीगलौज वा अर्काको बारेमा सोच्ने पद्धति छाड्नु पर्दछ ।
(३) औपनिवेशिक र दासताको मनोवृति छाड्नु पर्दछ , दातामुखी हुनु हुदैन । अर्काको भरमा बाँच्नेले आफ्नो निर्णय गर्न सक्दैन ।
(४) भारत र चीनलाई एवं अमेरीका र यूरोपलाई गाली गर्ने प्रवृति छाडी तिनीहरुबाट सिक्न पर्ने कुराको पहिचान गर्नु पर्दछ ।
(५) धनी हुन सिकाउने हो, धनीलाई गाली गर्ने होईन, पढ्न लेख्न सिकाउने हो तर पढेलेखेकालाई गाली गर्ने होईन, रचनात्मक कुरा सिक्ने र विध्वसात्मक कुरा छाड्ने हो । गरीबहरुको बुई चढेर गर्ने राजनीति छाड्नु पर्दछ ।
(६) काम सानो हुदैन , काम नगर्ने बानी छाड्नु पर्दछ । जसले जे जान्दैन त्यसलाई त्यही काम दिने तरीका छाड्नु पर्दछ । योग्यता र क्षमता अनुकुल काम गराउनु पर्दछ ।
(७) मोटो हुने रहर छाड्नु पर्दछ , स्वस्थ्य र दुरुस्त हुनु पर्दछ , रुने बानी छाड्नु पर्दछ ।
लेखकः सर्वोच्च अदालतका पूर्व रजिष्टार हुन् ।

(सूचनाको हकमा विद्यावारिधी गरेका लेखक सर्वोच्च अदालतको संवैधानिक इजलासको विज्ञ तथा पूर्वरजिस्टार हुन् ।)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी