भेन्टिलेटरमा जानु अघि मैले सोँचे, अहिले मेरो मर्ने समय होईन

भेन्टिलेटरमा जानु अघि मैले सोँचे, अहिले मेरो मर्ने समय होईन

  • मङ्लबार, बैशाख २, २०७७
  • डेविड लाट

  • 15.9K
    SHARES

भेन्टिलेटर राष्ट्रिय चाहना र विवादको विषय बनेकोछ। यसअघि धेरैले राम्रोसँग यसको उपादेयता नबुझे पनि कोभिड १९को महामारीपछि यो विश्वभर चर्चाको शिखरमा पुगेकोछ। भाइरसको संक्रमणले बेसरी च्यापेका बिरामीलाई श्वासप्रश्वासमा निकै समस्या पर्छ। उनीहरुको श्वासप्रश्वास प्रक्रियालाई सहयोग गर्न भेन्टिेलेटरमा नराखे ज्यानै जान सक्छ।

न्युयोर्क विश्वविद्यालयअन्तर्गतन्युयोर्क सिटीमा रहेको लानगन मेडिकल सेन्टरको सघन उपचार कक्षमा मैले ६ दिन भेन्टिलेटरमा बिताएँ। भेन्टिलेटरमा नबसेको भए सायद म अहिले यो अवस्थामा हुने थिइनँ।

हामीले के सुनिश्चित गर्नुपर्छ भने भेन्टिलेटरको आवश्यकता भएको बिरामीले सो उपकरणको उपचार पाउनैपर्छ, जसका कारण ऊ बाँच्न सक्छ।

गत मार्च १६मा म कोरोना भाइरसको संक्रमणका कारण अस्पताल भर्ना भएको थिएँ। भर्ना हुनुअघि मलाई ज्वरो, जिउ कठ्यांग्रिने, जिउ दुख्ने र थकानका लक्षण देखिएका थिए। पछि सबैभन्दा बढी मलाई श्वासप्रश्वासमा कठिनाइ भयाे ।

सुुरुका केही दिनमा मेरो स्वास्थ्य स्थिरनै थियो। मलाई अतिरिक्त अक्सिजन मात्र दिइएको थियो। तर मार्च २० को साँझ भाइरसको संक्रमणले बेसरी च्याप्यो। त्यही रात मलाई भेन्टिलेटरमा राख्न आवश्यक भइसकेको रहेछ। त्यो थाहा पाएपछि म डराएँ। फिजिसियनसमेत रहेका मेरा बुवाले अस्पताल भर्ना हुनुअघि मलाई भनेका थिए, ‘भेन्टिलेटरमा सकेसम्म जान हुँदैन, मानिसहरु सामान्यतया त्यहाँबाट फर्कंदैनन्।’

भेन्टिलेटर मेसिनसम्म पुग्ने पाइप राख्न जब नर्सहरुले तयारी गर्दै थिए, त्यति बेला मैले सोचें–यो मेरो मर्ने समय होइन। मेरा श्रीमान् र दुई वर्षको धर्मपुत्र छन्। म छोराले स्कुल र कलेज उत्तीर्ण गरेको हेर्न चाहन्छु। मेरो श्रीमान्ले अर्काे बिहे गरे भने अथवा अरु बच्चा पाए भने पनि म त्यो अवस्थासम्म बाँच्नुपर्छ। मैले जिसस क्राइस्टकी आमा मेरीको नाम लिएर बारम्बार प्रार्थना गर्न थालें।
भेन्टिलेटरसम्म पुग्नेगरी श्वासनलीमा पाइप राख्दाको धमिलो याद मसँग छ। मलाई बेहोस गर्ने डाक्टर क्यारेबियन एक्सेन्टमा बोल्ने एक महिला थिइन्। उनी बिरामीलाई ढुक्क पार्ने आचरणकी थिइन् र कडा स्वभावकी पनि। त्यो अवस्थामा त्यो उपचार कोठामा एकदर्जन मानिस भएझैं लागेको थियो तर वास्तवमा केही सीमित मानिसको मात्र उपस्थिति थियो। एनेस्थेसियाका कारण म मस्त निद्रामा गइसकेको थिएँ। त्यसपछिका ६ दिन मैले सुतेरै बिताएँ। भेन्टिलेटरले मेरो कृत्रिम फोक्सोको काम गरेको थियो र औेषधिका कारण म लट्ठ थिएँ। त्यति बेलाको अवस्थाको मलाई केही सम्झना छैन। भेन्टिलेटरमा बस्दा अरु बिरामीमा दुस्वप्न अर्थात्‘हेलुसिनेसन’ को अवस्था हुने मलाई पछि थाहा भयो तर म त्यो हिसाबले भाग्यमानी थिएँ।

अन्ततः मेरो उपचारमा संलग्न चिकित्सकसँग दुई विकल्प थिए। भेन्टिलेटरबाट बाहिर निकालेर म आफैंले श्वासप्रश्वास गर्न सक्छु वा सक्दिनँ भनेर हेर्ने एउटा विकल्प थियो भने अर्काे विकल्प मेरो घाँटीमा प्वाल पारेर कृत्रिम श्वासनली मेरो श्वासनलीमा जोड्ने थियो।

मेरो श्वासप्रश्वास गर्न सक्ने क्षमताको परीक्षण गरेपछि चिकित्सकहरुले मलाई भेन्टिलेटरबाट बाहिर निकाल्ने निर्णय गरेका थिए। त्यो निर्णय सही थियो। अतिरिक्त अक्सिजनको सहायतामा पुनः आफैंले श्वासप्रश्वास गर्न म सफल भएको थिएँ।

भेन्टिलेटरका कारण आफ्नो जीवन रक्षा गर्न सफल भएको मजस्तो बिरामीलाई हाम्रो जस्तो समृद्ध मुलुकले पनि यो उपकरणको अभाव भएको विषयमा छलफल गरिरहेको देख्दा दुःख लाग्छ। तर हामी भाग्यमानी यस अर्थमा छौं कि अमेरिकाले भेन्टिलेटरलाई निम्न आवश्यकता भएका ठाउँबाट उच्च आवश्यकताभएका स्थानमा स्थानान्तरण गर्न सक्यो। हामीले के सुनिश्चित गर्नुपर्छ भने भेन्टिलेटरको आवश्यकता भएको बिरामीले सो उपकरणको उपचार पाउनैपर्छ, जसका कारण ऊबाँच्न सक्छ।

यो किन आवश्यक छ भने भेन्टिलेटरमा गइसकेको बिरामीको बाँच्न सक्ने सम्भावित दर अत्यन्त न्यून हुन्छ। मेरो बुवाको कडा टिप्पणी पनि त्यसैमा आधारित थियो। भेन्टिलेटरमा पुगेका र श्वासप्रश्वास गर्न कष्टकर अवस्थामा रहेका ४० देखि ५० प्रतिशत बिरामी बाँच्न नसक्नुएउटा कटु यथार्थ हो। म अस्पतालमा भर्ना भएको न्युयोर्क सहरमा कोरोना भाइरसका कारण भेन्टिलेटरसम्म पुगेका ८० प्रतिशत बिरामीको मृत्यु भएकोछ।

भेन्टिलेटरबाट बाहिर आएपछि बाँच्न सफल भएका मजस्ता बिरामीको जीवन यसअघिको जस्तो भने रहनेछैन। भेन्टिलेटरबाट बाहिर आएपनि अधिकांश बिरामी दूरगामी शारीरिक, मानसिक तथा आवेगजन्य समस्यामा रहन्छन्। उनीहरु संज्ञानात्मक तथाडिप्रेसन एवं घटनापश्चात् हुने तनावका कारणमनौवैज्ञानिक समस्या (पोस्ट ट्राउमाटिक स्ट्रेस डिसअर्डर) बाट प्रभावित हुन्छन्।

मेरो सन्दर्भमा मेरो फोक्सोले आफ्नोे क्षमता पुनर्जीवित गर्न आवश्यक छ। हल्का परिश्रम गर्दा पनि मलाई श्वासप्रश्वासको समस्या आउँछ। म म्याराथन दौड्ने गर्थें, अहिले कोठाभित्रै हिँड्दा र भ¥याङ चढ्दा सकस हुन्छ। खुला हावा लिन वरिपरि हिँडडुल गर्न पनि मेरो ह्विलचेयरलाई श्रीमान्ले धकेल्नुपर्छ। नुहाउन बाथरुम जाँदा म पूरा समय उभिन सक्दिनँ। बीचबीचमा स्टुलमा बसेर म विश्राम लिन्छु।

झन्डै एक साता भेन्टिलेटरमा रहेका कारण मेरो आवाज पनि खस्रो भएकोछ। डाक्टरले यो स्थायी नहुने र पछि निको हुने बताएकाछन। समयले यसको सही उत्तर दिनेछ। मैले कसैसँग गुनासो गरेको होइन। म जीवित रहन पाएकोमा अनुगृहित छु। त्यसका लागि सबैभन्दा वढी धन्यवादको पात्र भेन्टिलेटर नै हो।

-अमेरीकी अखबार वासिंग्टनपोष्टबाट

-डेभिड एभव द ल नामक वेभसाईटका संस्थापक सम्पादक समेत हुन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी