लकडाउनमा तस्करी बढ्यो

लकडाउनमा तस्करी बढ्यो

  • सोमवार, बैशाख १, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

कोरोना भारइस नियन्त्रणका लागि मुलुकभर लकडाउन भइरहँदा कञ्चनपुरमा भने वन्यजन्तु तथा काठ तस्कर गर्ने गिरोह सक्रिय बनेको छ । यहाँका निकुञ्ज तथा राष्ट्रिय वनमा लकडाउनको समयमा काठ तस्करीमा संलग्न व्यक्तिलाई काठसहित धमाधम पक्राउ गर्न थालिएको छ ।

यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाल सेनाले निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सालका काठ काटिरहेको अवस्थामा तस्करीमा संलग्न गिरोहलाई यहाँको विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिएको छ । निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको देवीदल गण मझगाउँ ब्यारेकले दुई सातामा १०३ भन्दा बढीलाई नियन्त्रणमा लिई कारवाहीका लागि शुक्लाफाँटा निकुञ्जको कार्यालय पठाएको छ ।

तीन दिनअघि शुक्रबार अवैधरूपमा निकुञ्जभित्र प्रवेश गरेर अवैधरूपमा सालको रुख काट्ने चार जनालाई नियन्त्रणमा लिइएको देवीदल गणका गणपति प्रमुख सेनानी राजु बस्न्यातले जानकारी दिनुभयो । “हामी संरक्षणकर्मी भनेर सक्रियता देखाउने पनि यो अवधिमा काठ तस्करीमा संलग्न देखिए”, उहाँले भन्नुभयो, “अवैध क्रियाकलापमा संलग्न कसैलाई छोडिँदैन ।” उहाँले निकुञ्जको मध्यवर्ती क्षेत्रमा इँटाभट्टामा धानको भुसभित्र लुकाएर राखेको अवस्थामा अर्जुनी ब्यारेकले ४२३ घनफिट काठ बरामद गरेको छ ।

त्यसैगरी निकुञ्जभित्र विभिन्न ठाउँमा वन्यजन्तु शिकार गर्न थापेका पासोसमेत थापेको भेटिएको सेनाले जनाएको छ । गणपति बस्न्यातले सेनाले निकुञ्ज र आसपासका क्षेत्रमा गस्ती तथा सुरक्षा सतर्कता बढाएको जानकारी दिनुभयो । “मौका हेरेर तस्करी गर्नेप्रति सेना पनि सचेत छ”, उहाँले भन्नुभयो, “हामीले पनि विभिन्न ‘अपरेसन’ बढाएका छौँ ।” लकडाउनको अवस्थामा निकुञ्जभित्र अवैधरूपमा प्रवेश गरी काठ तस्करी, माछा मार्ने, शिकार गर्ने कार्य बढेपछि निकुञ्जको सुरक्षामा चुनौती थपिएको निकुञ्ज प्रशासनले जनाएको छ ।

यता डिभिजन वन कार्यालय कञ्चनपुरले लकडाउनको अवधिमा काठ तस्कर सल्बलाएको जनाएको छ । डिभिजन वन कार्यालयले यहाँको पुनर्वास नगरपालिकाको जनजागरण सामुदायिक वनबाट ३६ घनफिट काठ बरामद गरेको छ । त्यस्तै लालझाडी गाउँपालिकाबाट अवैधरूपमा काठ तस्कर गर्ने मोटरसाइकलसहित दुईलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालयका सूचना अधिकृत शिवराज अवस्थीले जानकारी दिनुभयो । तस्कर सक्रिय भएपछि वन कर्मचारीले प्रहरीसँगको समन्वयमा सुरक्षा २४सै घण्टा गस्ती गरिरहेको अवस्थीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ