लकडाउनमा श्रमिककाे पीडाः न काम, न माम, घर जाम भने न साधन  ! भन्छन्- काठमाडौंमा भोकै मर्नुभन्दा हिँडेरै पुग्छाै गाउँ 

लकडाउनमा श्रमिककाे पीडाः न काम, न माम, घर जाम भने न साधन  ! भन्छन्- काठमाडौंमा भोकै मर्नुभन्दा हिँडेरै पुग्छाै गाउँ 

  • बिहिबार, चैत्र २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडाैं, २० चैत ।

लकडाउनका कारण राजधानीमा बिचल्लीमा परेका श्रमिक हिँडेरै घर जान लागेका छन् । दैनिक मजदुरी गरी बिहान र बेलुकाको गुजारा गर्ने श्रमिक अहिले घरको न घाटको भएका छन् । सरकारले पहिलोपटक घोषणा गरेको एक हप्ताको लकडाउन त जेनतेन गुजारेकै थिए । तर, लकडाउनको अवधि १५ दिन लम्बिएपछि मजदुरहरूको धैर्य भने टुटेको छ ।

लकडाउनका कारण श्रमिक कामविहीन भएका छन् । काम नभएपछि छाक टार्न गाह्रो भएको छ । लकडाउनको अवधि अझै बढ्ने अवस्था देखिएपछि मजदुरहरू हिँडेरै भए पनि आ-आफ्ना घरतर्फ लाग्न थालेका छन् ।

लकडाउनका कारण प्रहरीले दिउँसोमा आमनागरिकलाई सडकमा हिँड्नसमेत बन्देज गरेको छ । त्यसैले, साँझ र बिहानको समयमा मानिसहरू समूह नै बनाएर काठमाडौंका नाकाहरूबाट बाहिरिँदै छन् । साँझको ५ बजेपछि काठमाडाैंको कोटेश्वर, धुलिखेल, बनेपा हुँदै सप्तरी, सिराहा, बारा, धरान, सिन्धुली जाने श्रमिकको लाम लागेको देखिन्छ । वृद्धवृद्धा, बालक, महिला, पुरुष सबै खालका श्रमिक यात्राका लागि खानाको जोहो गर्दै काठमाडाैंबाट फर्कँदै छन् ।

साँझ ६ बजे हामी धुलिखेल पुग्दा सडकमा झुण्डझुण्ड बनाएर श्रमिकहरू गन्तव्यतर्फ लाग्दै थिए । कोही सडकमा नै धपेडी मार्दै थिए । यसरी हिँड्दै गरेका श्रमिकसँग हामीले कुरा गरेका थियाैं । उनीहरू सबैको एउटै उत्तर थियो– न दाम न काम अब काठमाडाैंमा के काम ? सरकारले खान त दिएन, तर घर जाने व्यवस्था पनि गरेन, उनीहरूको गुनासो छ ।

सुनसरीका सञ्जीव चौधरी हिँडेरै घर जाँदै छन् । लकडाउन भएपछि काम नै भएन । काम नभएपछि साहूले पैसा दिएन । पैसा नभएपछि खानै समस्या भयो । त्यसैले, अब हिँडेरै भए पनि घर जान लागेको उनले बताए । ‘अब लकडाउनको पनि कुनै निश्चित छैन । काम नभएपछि खान पनि पाइँदैन । यहाँ बसेर के गर्नु,’ उनले भने ।

करिब १२ जनाको समूहमा रहेका उनीहरू एउटै गाउँका हुन् । सबैजना काठमाडौंमा लेबर काम गर्छन् । बाटोका लागि चाउचाउ  र विस्कुट बोकेर हिँडेका उनीहरू रात कसरी कटाउने चिन्तामा छन् ।

धुलिखेलनजिक भेटिएका निमेष राजवंशी पनि हिँडेरै मोरङ बेलबारी पुग्ने सुर कसेका छन् । निमेष गौशालामा पेन्टिङको काम गर्छन् । उनीसँगै अन्य चारजना साथी पसिन पेन्टिङकै काम गर्छन् । तर, लकडाउन भएपछि साहूले पैसा दिन छोडेको उनीहरू बताउँछन् । ‘साहूले पैसा पनि दिएन । भएको अलिअलि पनि सकियो । बरु हिँडेरै भए पनि घर पुग्न पाए हुन्थ्यो,’ उनले भने । तीन दिनमा मोरङ पुग्ने उनीहरूको आँट छ । यति लामो लकडाउन हुने भए त पहिला नै गाडीमा चढेर घर गइन्थ्यो नि । अहिले त न काम, न माम, घर जाम भने न साधन । त्यसैले, हिँडेरै घर जान आँटेको उनीहरूले बताए । साथमा खानका लागि चाउचाउ, बिस्कुट पनि बोकेका छन् ।

धुलिखेल हुँदै सिन्धुली जाँदै गरेका सानु अधिकारी पनि चार दिनमा सिन्धुली पुगिने बताउँछन् । अधिकारी काठमाडाैंमा ग्रिल कम्पनीमा काम गर्थे । तर, लकडाउनले कम्पनी नै बन्द भयो । पैसा नभएपछि खान नै धौधौ भएपछि उनी पनि आफ्नो परिवारसहित सिन्धुलीतर्फ लागेका छन् । उनीसँगै अन्य पाँचजना पनि छन् । सर्लाहीका गंगा चौधरी पनि अधिकारीकै समूहमा मिसिएर घर जाँदै छन् । उनी भने पाँच दिनमा घर पुगिने बताउँछन् । बाटोका लागि चामल, दाल, आलुसँग पकाउने भाडा र स्टोभको जोहो गरेका छन् । नयाँपत्रिका दैनीकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ