‘नानीको स्वास्थ्य ख्याल गर्नू, हाम्लाई ठीकै छ

‘नानीको स्वास्थ्य ख्याल गर्नू, हाम्लाई ठीकै छ

  • सोमवार, चैत्र १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

कोभिड–१९ पुष्टि भएकी बागलुङकी युवतीका घरमा आईतवार बिहान परिवारका सबै सदस्य व्यस्त थिए । युवतीकी फुपू बाहिर ड्रमबाट पानी झिक्दै हुनुहन्थ्यो । हजुरबा, हजुरआमा, बाबा र फुपूका छोराछोरी घरभित्रै थिए । उहाँका छिमेकी आआफ्ना काममा व्यस्त थिए । कोही खेतमा काम गर्दै थिए त कोही छतमा घाम तापेर बस्दै थिए । बाहिर मिडिया र सामाजिक सञ्जालमा आएजस्तो कुनै त्रास त्यहाँ थिएन । सबै आफ्नै धुनमा व्यस्त देखिन्थे ।
एकैछिनमा नगरपालिकाले पठाएको दमकल पुग्यो । युवतीमा कोराना भाइरसको संक्रमण पुष्टि भएपछि छापा गाउँ बढी प्रभावित भन्दै दमकल कीटनाशक औषधि भरेर त्यहाँ पुगेको थियो । दमकल पुग्दा सबैले ‘पहिला प्रभावित घरलाई सुरक्षित बनाउनुपर्छ’ भन्दै त्यहाँ पुगेका स्वास्थ्यकर्मी दिनेश जिसीलाई सल्लाह दिए । जिसी बागलुङ नगरपालिकाका हेल्थ असिस्टेन्ट तथा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम टिमका ’फोकल पर्सन’ पनि हुनुहुन्छ ।
आफ्ना तीन सहकर्मीसहित त्यहाँ पुग्नुभएका स्वास्थ्यकर्मी जिसीले छिमेकीको सल्लाह मान्नुभयो । फुपूलाई भित्र बस्न भन्नुभयो र चोकमा दमकल राखेर संक्रमित युवती बसेको घरसहित वरपर कीटनाशक औषधि छर्किन लगाउनुभयो । छिमेकी घरको छतमा बसेर दमकलबाट निस्केको ‘डिस्इन्फेक्सन स्प्रे’को फोहरा रमाइलो मानेर हेरिरहेका थिए । एकैछिनमा जिसीले माइकबाट छिमेकीसहित सबैैलाई भित्र बस्न अनुरोध गर्नुभयो । उहाँ भन्दै हुनुहुन्थ्यो, ‘हामी तपाईँहरुको सुरक्षा लागि काम गरिरहेका छाँै ,हजुरहरु घरभित्रै वसेर सहयोग गर्नुहोस् ।’
दमकलले संक्रमितको घर मात्रै होइन, छापा गाउँभरी तीन हजार लिटर ‘डिस्इन्फेक्सन स्प्रे’ क्षणभरमा छर्केर सक्यो । स्थानीय अगुवा सोकेन्द्र थापा, जगन्नाथ सापकोटालगायतले त्यसको अगुवाइ गर्नुभयो । प्रहरी बिटका प्रमुख कमल बस्याल पनि दमकल टोलीलाई सहयोग गर्न साथमै हुनुहुन्थ्यो ।
दमकमलले स्प्रे सकेपछि सेल्फ क्वारेन्टाइनमा रहेर दूरी कायम गर्दै जम्मा भएका स्थानीयवासीले एकै स्वरमा भने, ‘पहिला त नानीको स्वास्थ्य राम्रो होस्, हाम्रो यही कामना छ ।’ उनीहरुले थप्दै गए, ‘त्यसपछि परिवार सुरक्षित हुनुप¥यो । हामी त आफैँ पनि ध्यान दिइरहेका छौँ ।’ उनीहरुमा त्रासभन्दा पनि बढी युवती र उनका परिवारलाई केही भइहाल्छ कि भन्नेमा बढी चिन्ता थियो । युवतीका परिवार सबै सामान्य अवस्थामा नै थिए, न रुघाखोकी लागेको थियो, न त श्वासप्रश्वासमा कुनै समस्या नै । अहिलेसम्म परिवारका कुनै पनि सदस्यलाई ज्वरो पनि नआएको युवतीकी फुपूले बताउनुभयो ।
त्यहाँ कसैमा पनि कुनै चिन्ता देखिएन, सबै आआफँै सुरक्षित भएर काम गरिरहेका थिए । खेतबारीमा काममा नगएकाहरु भने परिवारसँगै लकडाउनलाई पालना गरिरहेका थिए । ‘हामी सेल्फ क्वारेन्टाइनमा छाँै, अगुवा सोकेन्द्र भन्दै हुनुहुन्थ्यो, चिन्ता गर्नुपर्ने केही छैन । बाहिर मिडियामा आएजस्तो बिग्रेको पनि केही छैन ।’ त्यतिबेला फोकलपर्सन जिसी भने लकडाउनलाई पालना गरेर मात्रै कोरोना भाइरसको संक्रमणलाई जित्न सकिने कुरा सम्झाउँदै हुनुहुन्थ्यो स्थानीयवासीलाई । सिंगो कुडुँलेभर नै डिस्इन्फेक्सन स्प्रे छर्केर सुरक्षाको अनुभूति दिन स्थानीयवासीले माग गरे । छिमेकी रीता शर्माले भन्नुभयो, ‘पहिला नानीको स्वास्थ्यको ख्याल गर्नुहोस्, अनि हामीलाई सुरक्षित बनाउनुहोस् ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी