हामी अहिले कोरोना रोक्नका लागि घर भित्र बसिरहेका छौं । धेरै युवाहरु फेसबुक, युट्युब , ट्वीटर या अन्य सामाजिक सञ्जालमा या अन्य विद्युतीय माध्यममार्फत मनोरञ्जन, अध्ययन, घरायसी काममा व्यस्त छन् शहरहरुमा । ग्रामिण क्षेत्रमा भने कृषकहरु गाँईभैसी, धान, गँहु तोरीको काममा लागिरहेका छन् ।
विश्वमा ३३ हजार मानिसको ज्यान लिईसकेको, ७ लाख बढीलाई संक्रमित गरेको र यो अझै नरोकिरहेको अवस्थामा हाम्रो देशले पनि कोरोना रोक्न घरबाट बाहिर निस्कन नपाउने गरी लक डाउन गरीरहेको छ । यो एउटा तरीका हो तर के यो अन्तिम र सर्बउपाय हो त कोरोना रोक्ने ? यसमा पूर्ण सहमत हुन सकिदैन ।
यो मोडेल बढी हामीले केही चीनबाट र केही भारतबाट सिकेको जस्तो देखिन्छ । जस्तो कि भारतले २२ मार्चमा जनता कफ्र्युमार्फत पूर्व अभ्यास गरेर भोलीपल्टबाट २१ दिनको लकडाउन लागू गर्यो । चीनले वुहानमा लकडाउन गर्यो करीब २ महिना जति ।
चीन एक हिशाबले सफल भयो तर लकडाउनले मात्र हैन, हामीले बुझ्न के जरुरी छ भने वुहानको लकडाउनले मात्रै ७० हजार बढी बिरामी निको भएको वा कम मृत्यु भएको हैन । यसमा विभिन्न अध्ययन , अनुसन्धान , अस्पताल तथा औषधीको परीक्षण, धेरै द्रुत गतिमा उसले आफ्नो संसाधन परिचालन गरेर आज उ सफलताको दिशामा गएको छ ।
हाम्रो देशको अवस्था
तर हाम्रो देशमा त के देखियो भने लकडाउन भन्यो , सडकमा सुरक्षाकर्मी खटायो । आईसोलेसन भनेर बनाईएको छ त्याहाँ पूर्वाधार र प्रविधि छैन । नागरिकको परीक्षण गर्ने पर्याप्त उपकरण छैन । कैयौ नाफामुखी व्यापारीक निजी अस्पतालहरुले बिरामी भर्ना गर्न मान्दैनन् । ढोकामै ताला लगाएर ज्वरो रुघाखोका बिरामी आए छिर्नै नदिने सम्मको अमानवीय हर्कत देखाईरहेका छन् । सरकारले यसमा कुनै कदम चाल्न सकेको छैन । बरु चीनबाट श्वास्थ्य उपकरण किनेर ल्याउदा मास्कदेखि ज्वरो नाप्ने सम्म भ्रष्टाचार भयो । चाहिने भन्दा बढी मुल्य तिरीयो भनेर आलोचना शुरु भएको छ । सेती अस्पतालमा कोरोनाको बिरामीलाई डाक्टरले नछोएको भन्ने समाचार मिडियामा आएको छ । यसो भए पछि कसरी द्रुत गतिमा उपचार, प्रसार नियन्त्रण र परीक्षण होला त ?
त्यसैले हामीले निश्चित समय मान्छेलाई थुनेर यो कमी भएको महसुस गर्न सक्छौ तर जब सम्म बलियो पूर्वाधार , परीक्षण र उपचार प्रविधिको बन्दोबस्ती, पर्याप्त मात्रामा श्वास्थ्यकर्मीहरुको परिचालन , स्वयसेवकहरुको परिचालन, अधिक ठाँउहरुमा कोरोना परीक्षण र उपचारको भरपर्दो व्यवस्थापन नगरी हामीले यसमाथि बिजय हात पार्न सक्दैनौ । भलै पशुपतिको कृपा नै भन्नु पर्छ नेपालमा कोरोनाले महामारीको रुप लिएको छैन ।
हामीले अन्तराष्ट्रिय उडानहरुमा प्रतिवन्ध, नाकाहरु प्रतिवन्ध, धेरै मानिसहरु भेला हुन नदिने मापदण्ड बनाएर काम गरेको बेठीक होईन, तर लक डाउन लम्ब्याउने घरमा बसिराख भन्ने , तर बसिराखेका लाखौं मान्छे कोरोना भन्दा बढी भोकको चिन्ता तर्फ गएको छ । त्यो ख्याल गर्नु पर्छ । मित्रराष्ट्र पाकिस्तानले जनताको गरीबीदेखेर लकडाउन गर्न नसक्ने बरु सेल्फ आईसोलेसन गर्ने अर्थात अधिक मानिसहरु घरमै स्वेच्छाले बसुन् र राज्यलाई सहयोग गरुन् भन्ने नीति लिएको देखिन्छ । पाकिस्तानमा कुल जनसंख्याको २५ प्रतिशत नागरिकहरु गरीबीको रेखामुनि छन् । हाम्रो देशको स्थिति पनि लगभग त्यही हाराहारीमा छ गरीबीको रेखा ।
भारतले एक अर्ब ३० करोड मान्छेलाई घरमा बसाउन कोशिस गरेको छ । चामल, दालको राहतको घोषणा गरे पनि करोडौं गरीब मजदुरहरुले जीवन धान्ने अवस्था गुम्ने देखे पछि लक डाउनको अवज्ञा गर्दै ठूलो संख्यामा दिल्लीबाट अन्य राज्यहरु तर्फ गएको र कतिपयको बाटोमै मृत्यु भएको दृष्य देखिएको छ । मानिसरुलाई त्याहाँ पनि के कुराले पिरोल्यो भने कोरोनाले भेट्नु अघि भोकले हाम्रो अन्त्य हुन सक्छ । र भारतमा कोरोनाका बिरामीको संख्या दिनहुँ बढिरहेको छ । मृतकको संख्या पनि । तर यसले चीन, इटाली या अमेरीकाको रुप भने लिएको छैन । तर लकडाउनले जनताको जुन हालत पैदा भएको छ त्यसले सरकार विरुद्ध नागरिकहरुमा आक्रोस पैदा हुने स्थिति बन्दै नजाला भन्न सकिन्न ।
यता नेपालमा लक डाउन बढी भारतीय मोडलमा देखा पर्दछ । सडकमा हिडेका मानिसलाई नियन्त्रणमा लिने, जेल हाल्ने सम्मको सार्वजनिक सन्देश दिईएको छ । लक डाउनमा जनता बस्न तयार हुन्छन् तर उनीहरुलाई जब गाँसको ग्यारेन्टी, श्वास्थ्योपचारको ग्यारेन्टी नभए पछि मानिस कहिले सम्म यसरी बस्न सक्छन् त ? जब जनताको चुल्हो बल्न छाड्छ तब मानिस कैद भईरहन सक्छन् त घरभित्र ? त्यस कारण राहत, द्रुत परीक्षण र उपचारको व्यवस्था गरेर विस्तारै नागरिकहरुको जीवन सहज बनाउदै अघि बढ्नु उपयुक्त होला । किन भने भाईरस कहिले नियन्त्रणमा आईसक्छ भन्ने निश्चित छैन । अहिले भ्याक्सिनहरुको परीक्षण चलिरहेको छ यसमा पनि ६ महिना देखि १८ महिना सम्म लाग्न सक्ने भनिराखिएको छ । अमेरीका जस्तो शक्तिशाली देशको होस उड्ने स्थिति छ । कहिले सम्म लकडाउन ? यसलाई व्यवस्थित बनाउने केही नयाँ उपायहरुको खोजी गर्नु जरुरी छ । सिमानामै बिजोग भएका नागरिकहरुको अवस्थामाथि हाम्रो ध्यान कति पुगेको छ ?
अहिले हुने खानेहरुले महिनौ सम्मका लागि ग्यास, अत्यावस्यकीय वस्तुहरुको जोहो गरेका छन्, तर दैनिक मजदुरी गरेर छाक टार्ने लाखौं मानिसहरु भरै के खाने र भोली के खाने , कसरी चल्ने भन्ने पीडामा छन् , हो ती नागरिकहरले राज्य छ सरकर छ भन्ने कुराको महसुस गर्न सक्ने वातावरण राज्यले बनाउन जरुरी छ ।
जस्तै एउटा उदाहरण राजदरबारमै बसिरहेका बेलायतका राजकुमार चाल्र्सलाई कारोना लाग्यो ? उनी बाहिर कतै गएका थिएनन् नि । यो भनेको कम्युनिटि ट्रान्समिसन हो । जो मान्छे प्रभावितको सम्पर्कमा नपुगे पनि, कतै यात्रा नगरेको भए पनि हुन सक्छ यस्तो चरणमा देश गयो भने के हुन्छ ? त्यो भनेको परीक्षण र उपचार एवं रेखदेखको राम्रो अवस्था तयार पार्नु नै हो । अरु तरीकाबाट मात्र हुदैन ।
अर्कोतिर सरकारले राहत प्याकेज त घोषणा गर्यो । यो आवश्यक थियो । यसका लागि सरकारलाई आम नागरिकले धन्यवाद दिनपर्छ तर के यो राहत प्याकेज साच्चै प्रभावकारी छ त ? यसबारेमा पनि विश्लेषण गर्न जरुरी छ । साथै राहत पनि निम्न वर्ग, मजदुर, आर्थिक अवस्था कमजोर भएका वर्गं अथवा जसका लागि राहत आवश्यक छ उनीहरुकै हातमा पुग्ला त ? यो चुनौती पुर्ण छ । किनकी सरकारले जसका लागि राहत ल्यायो उनीहरुको नै एकिन तथ्याङक छैन । एउटा सानो उदाहरण नै लिदा, सरकारले श्रमीकहरुको एकिन तथ्याङक माग्यो तर श्रम तथा रोजगार कार्यालय विराटनगरले प्रदेश १ मा श्रमिकको कुनै आँगडा नभएको र हाल कुनै संयन्त्र प्रयोग गर्दा पनि प्राप्त गर्न नसकिएकोले तथ्याङक पठाउन असमर्थ छौ । अन्य प्रदेशमा कुनमा धेरै श्रमिक छन् त्यसैलाई आधार मान्दा हुन्छ भन्ने पत्र पठायो । अन्य प्रदेशको पनि हालत यो भन्दा फरक पाउन सकिन्न, लकडाउनले यो तथ्याङक संकलन नै सम्भव छैन ।
यस्तो अवस्थामा दैनिक ज्यालादारी गर्ने मजदुरले राहत कसरी पाउलान् ? अर्को तर्फ निजि विद्यालयको १ महिनाको शुल्क छुट गर्नु कत्तिको प्रभावकारी छ ? बिद्यालय बन्द हुनु अघि नै नीजि विद्यालयले शुल्क लिईसकेका छन् । के त्यो शुल्क नयाँ भर्ना गर्दा कटाउछन् त , यसबारेमा सरकारले प्रष्ट बोलेको छैन । शुल्क नतिरि परिक्षामा सामेल नै नगराउने नीजि बिद्यालयले शुल्क फिर्ता गर्नेमा आम नागरिक विश्वस्त हुन सक्ने अवस्था छैन ।
घरभाडा छुट भनेपनि अनिवार्य गर्ने भनेर कडिकडाउ नगरेसम्म यो पनि कार्यान्वयनमा आउन गाह«ो देखिन्छ , किनकी बहालकरमा छुट दिन्छु घरभाडा नलि भनेर घरबेटि त्यसमा पनि उपत्यकामा मान्नेवाला देखिदैन । मानिहाले पनि मजदुर र दैनीक ज्यालादारी गरेर परिवार पाल्नेसम्म यो पनि सहजै कार्यान्वयन तहमा पुग्ने संयन्त्र अनुगमन र कडाई भए मात्रै पुग्छ नत्र हुनेखानेहरुले मात्रै यसको फाईदा लिने पक्का छ ।
दक्षिण कोरीयाबाट केही सिक्ने कि ?
अहिले कोरोना नियन्त्रणमा एशियाली मुलुक मित्र राष्ट्र दक्षिण कोरीयाले सिकाएको पाठ हाम्रो लागि केही काम लाग्ने हुन सक्छ । कुनै समयमा हामी भन्दा गरीब, आशा हराएको देश भनिने कोरीयाले तीव्र आर्थिक विकाससगैँ कोरोना नियन्त्रणमा देखाएको नयाँ मोडलले विश्वमा अर्को ध्यानाकर्षित गर्न सफल भएको छ ।
चीन पछि विश्वमा सबै भन्दा धेरै कोरोना संक्रमित कोरीयामा हुने अनुमान गरियो । शुरुमा त्याहाँको सरकार डरायो पनि । २५ लाख मानिस जोखिममा भनेर उसले केही कडाई गर्न शुरु गर्यो । फेब्रुअरीको अन्त्यमा २४ घण्टा भित्र ९ सय भन्दा बढी संक्रमित हुने स्थितिमा थियो कोरीया । तर अहिले दुई अंकको हाराहारीमा मात्र बिरामी देखा परेका छन् । मृत्यु दर त्यत्रो छैन । संक्रमितको संख्या ९ हजार हारहारीमा सीमित छ । पूरै निर्मुल नपारे पनि नियन्त्रण भित्र राखेको छ उसले कोरोनालाई ।
त्याहाँका प्रधानमन्त्री चुगंले देश संकटपूर्ण अवस्थाबाट बाहिर निस्किएको बताएका छन् । उनले लक डाउन भन्दा दोस्रो प्रयास हामीले गरीरहेका छौं र अब अन्तराष्ट्रिय समुदायले हाम्रा तौरतरीकारु हेरिरहेका छन् ।
अहिले अमेरीका, साउदी,स्पेन लगायतका देशले कोरीयामा सम्पर्क गरेर त्याहाँको अनुभवबारे जानकारी लिईरहेका छन् । तीव्रता, पारदर्शीता, ईन्नोभेसन र जनसहभागीता कोरीयाको कोरोना नियन्त्रण गर्ने यी चार उपाय हुन् । अर्थात उसले तीव्र गतिमा नागरिकको श्वास्थ्यको निगरानी, परीक्षण गरीरहेको छ । उसले दैनिक दश हजार संकास्पद कोरोनाका बिरामीको परीक्षण गर्यो , जुन अहिले दोव्वर अर्थात दैनिक २० हजार नागरिकको परीक्षण गरीरहेको छ । करीब ४ लाख नजिक मानिसहरुको परीक्षण कोरीयाले गरीसकेको छ ।
त्यस पछि उसले कोरोनाले पारेको प्रभाव, संक्रमण र जनताले गर्नु पर्ने कामबारे दिनमा दुई पटक सम्म नियमित पत्रकार सम्मेलन गरेर पारदर्शी कुरा राख्यो । जसले जनतामा कुनै गुनासो बढेन ।
त्यसै कारण सरकारले भने अनुसार जनताले स्व अनुशासन, नियम पालना गरे , आदेश गरेर , लकडाउन भनेर लाठी बोकेर उसले घर भित्र खाँदेन , जनताले सुरक्षाका आवस्यक उपायहरु अवलम्बन गरे जुन कोरोना नियन्त्रणमा सरकार र जनता सगँसगैँ रहेको दृष्टान्त हो । प्रधानमन्त्रीले जनताको यही अपार सहयोगले कोरोना विरुद्धको युद्ध जीतेको प्रधानमन्त्रीले विदेशी पत्रकारहरुसगँ बताए ।
सोसल डिस्टेन्सिगं,हात धुने,मास्क लगाउने शंका लागेमा परीक्षण गर्ने सबै कुरामा सरकारले आदेश दिएन, शिक्षा र सन्देश दियो र नागरिकहरुले खुसीका साथ पालना गरे । बजार , बाटो तगारो राखेर बन्द गर्नु परेन,मान्छेलाई हिड्न प्रतिवन्ध लगाउनु परेन ।
त्यस पछि उनीहरुले किट, पिपिई गुणस्तरीय रुपमा आविष्कार र परीक्षण गरे । जुन अहिले विस्वस्तरीय बन्न सक्ने दिशामा गएको छ ।
एशिया टाईम्समा छापिएको खबर अनुसार प्रधानमन्त्रीले कोरीयाको अनुभव प्रभावकारी र बढी भएको भन्दै अरु देशलाई पनि सहयोग गर्न सक्ने बताएका छन् । मर्स लगायतका भाईरसको संक्रमण रोक्न गरेको पुरानो अनुभवले पनि हुन सक्छ उनीहरु सफल भएका ।
हो हामीले कोरीयामा जस्तो प्रविधि, पूजी, शिक्षा र चेतनाको स्तर नभएको अवस्था हुन सक्छ । तर यसबाट जनतामा नियन्त्रण भन्दा बढी शिक्षा र सन्देश फैलाउन सक्छौं । कमजोर आर्थिक अवस्था भएका मानिसहरुलाई गाँसको ग्यारेन्टी गरेर, धनीहरुलाई कोरोना विरुद्धको युद्धमा आर्थिक योगदानका लागि प्रोत्साहित गरेर अघि बढ्नु उपयुक्त हुने देखिन्छ ।
केवल बन्द र प्रतिवन्धले मात्रै कोरोना रोकिदैन, हामीले प्राविधिक विकास र व्यवस्थापन, श्वास्थ्य तथा प्राविधिक जनशक्ति तयार पार्ने,सामाजिक दुरीमा जनचेतना अभिवृद्धि गर्ने शिक्षा र स्वास्थ्य क्षेत्रको व्यापारीकरण कम गर्दै लैजाने र राज्यको दायित्व बढाउने कदम चाल्नु उपयुक्त होला नत्र घोषणाले मात्रै देश बन्न मुस्किल छ । कोरोनाले धनी र गरीब छुट्याएको छैन तर प्रणली र अर्थव्यवस्थाले गरीबहरुमाथि ठुलो बज्रपात भएको छ । ख्याल गरौं । सचेत बनौं ।
लेखक विद्यार्थी हुन् ।