लुम्बिनी, १३ चैत्र ।
नोभल कोरोना भाइरस ९कोभिड १९ ० को संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि सिद्धार्थनगरपालिका रुपन्देहीले दैनिक ज्याला मजदुरी गरेर जिविका निर्वाह गर्नेहरुको लगत संकलन शुरु गरेको छ ।
नगरपालिकाको बिहीबार बसेको कार्यपालिकाको बैठकले नगरभित्र रहेका मजदुरहरुको वास्तवीक तथ्याकं संकलन गरेर उनीहरुको परिवारलाई दैनिक रुपमा आवश्यक पर्ने राशनको व्यवस्थापन नगरपालिकाले गर्नेगरी तयारी थालेको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताउनुभयो ।
नगर प्रमुख अधिकारीले भन्नुभयो, ‘हाम्रो नगरमा दिनभर काम गरेर सांझबिहानको जोहो गर्नेहरु पनि छन् । त्यस्ता व्यक्तिहरु कति छन् । तीनको पारिवारीक संख्या कति छ । यकिन गर्नकोलागि तयारी थालेका छौं । ’
कार्यपालिकाको बैठकले कोभिड १९ को कारण देखिएको विपदलाई व्यवस्थापन गर्न तत्कालकोलागि ११ लाख ५१ ह्जारको विपत व्यवस्थापन कोष स्थापना गर्ने निर्णय समेत गरेको छ । उक्त रकम नगरका विभिन्न आयोजनाबाट भएको बचत र हुन आउने बचत रकमबाट व्यवस्थापन गरिने भएको छ ।
यसैगरी बैठकले उक्त कोष सन्चालनकोलागि नगर प्रमुख अधिकारी संयोजक रहेको ९ सदस्यीय समिती पनि गठन भएको छ । समितीको सदस्यहरुमा नगर उपप्रमुख उमा काफ्ले, वडा नम्बर ७ का अध्यक्ष भिमसेन कर्माचार्य, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, उद्योग व्यपार संगठनका अध्यक्ष नारयण प्रसाद भन्डारी रहेका छन् । यसैगरी उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद शर्मा, समाजसेवी नारयण अग्रवाल, नागरिक समाजका अध्यक्ष र बैंकर्स एशोसियसनका अध्यक्ष सदस्य रहेको समिती गठन भएको हो ।
उक्त कोषमा नगरप्रमुखले व्यक्तिगत रुपमा २१ ह्जार, उपप्रमुखले १५ हजार र सबै वडा अध्यक्षहरुले एक हजारका दरले १३ वडाबाट १३ हजार संकलन भइसकेको छ ।
यसैगरी बैठकले नगरमा खाद्यान्न, तरकारी, दुध औषधी लगायतका अत्यावश्यक बस्तुहरु जनतालाई सहज रुपमा पुराउन प्रत्येक वडामा वडाध्यक्ष र सदस्यहरुले समन्वय गर्ने जिम्मेवारी समेत दिएको नगरका सूचना अधिकारी देव प्रसाद ज्ञवालीले बताउनुभयो ।