‘हामीसँग सुरक्षाको कुनै पनि साधन छैन, कसरी विरामीकाे उपचार गर्ने’

‘हामीसँग सुरक्षाको कुनै पनि साधन छैन, कसरी विरामीकाे उपचार गर्ने’

  • बुधबार, चैत्र १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

जाजरकोट, १२ चैत । कोरोना भाइरस सङ्क्रमितको उपचार गर्दा अनिवार्य रूपमा लगाउनुपर्ने पिपिई (व्यक्तिगत सुरक्षा सामग्री) नहुँदा चिकित्सकलाई समस्या भएको छ । स्वास्थ्य सेवा कार्यालयमा पुग्ने बिरामीको उपचारमा पिपिईबिनै खटिनुपरेको चिकित्सकको भनाइ छ ।

स्वास्थ्य संस्थामा आउने बिरामीलाई मास्कमात्रै लगाएर चिकित्सकले जाँच गरिरहेको डा भूपेन्द्रप्रकाश मल्लले बताउनुभयो । “कस्तोखालको बिरामी हो ? के हो ? भन्ने यकिन थाहा पाउनका लागि शुरुमा हामी पहिला सुरक्षित हुनुपर्ने हुन्छ तर हामीसँग सुरक्षाको कुनै पनि साधन छैन”, डा मल्लले भन्नुभयो ।

कोरोना मात्र नभएर अन्य सङ्क्रमणजन्य रोगका बिरामी हेर्ने चिकित्सक पिपिईबिना सुरक्षित नहुने भए पनि ती सामग्री नहुँदा उपचारमा समस्या भएको उहाँको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार पिपिई लगाएर मात्र उपचारमा खटिनु पर्छ । पिपिईले कपालदेखि पैतालासम्म छेक्ने भएकाले भाइरसलाई छिर्नबाट पूर्ण रूपमा रोकिने चिकित्सकको भनाइ छ ।

जाजरकोट जिल्ला अस्पतालमा कोभिडका बिरामी राख्न तयार भएको आइसोलशनमा पिपिई नहुँदा सङ्क्रमित बिरामी आएमा कसरी उपचार गर्ने समस्या रहेको छ । अस्पताल व्यवस्थापन विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले भन्नुभयो, “श्यया छुट्याऊ, बिरामी आए उपचार गर भन्ने निर्देशन छ तर सुरक्षा सामग्री दिइएको छैन, सयौँको सङ्ख्यामा बिरामी आए भने हामीसँग स्रोत, साधनबिना कसरी उपचार गर्ने ?”

भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले भन्नुभयो, “हामीसँग पैसा छ, किन्नका लागि सामग्री छैन ।” त्यस्तै टाढैबाट ज्वरो नाप्नका लागि चाहिने उपकरण नहुँदा अर्को समस्या भएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भन्नुभयो, “आरआर गन, थर्मल गन ल्याउने कामका लागि पहल भइरहेको छ, जुनिचाँदे गाउँपालिकामा औषधि कम भएकाले औषधि खरिदका लागि सबै ठाउँमा सम्पर्क बढाएको छ ।”

विदेशबाट आएकालाई क्वारेन्टाइनमा राखिएको छ भने भारतबाट आएकाको खोजी कार्य जारी रहेको जुनिचाँदे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले बताउनुभयो । सोमबार नेपालगञ्ज बहुमुखी क्याम्पसबाट क्वारेन्टाइन तोडफोड गरी भागेर जाजरकोट आएका भेरी नगरपालिका–११ का मदे लोहार, माया लोहार, केशरे लोहार, कुमारो लोहार, लिले खड्का र परवीर महतारालाई जाँच गरी सुरक्षित ठाउँमाखिएको प्रजिअ पन्तले जानकारी दिनुभयो ।

जिल्लामा खाना पकाउने ग्यासको अभाव हुन नदिन व्यापारीलाई नेपालगञ्ज पठाएको उहाँले बताउनुभयो । सरकारले घोषणा गरेको ‘लक डाउन’ पूरै पालन भएको प्रजिअको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ