विराटनगर, १२ चैत । लकडाउनको दोस्रो दिन विराटनगरको अवस्था पनि समान्य रहेको पाइएको छ । बजारमा मानिसको चहलपहल छैन, सडकमा कुनै पनि सवारी साधनको आवतजावत छैन । सडकमा प्रहरीको तैनाथी छ । दूधको गाडी र सञ्चारकर्मीको सवारी साधन फाटफुट चलेको पाइयो ।
बजार सुनसान छ भने अति आवश्यक औषधि पसल भने खुला छन् । विराटनगरको गुद्रीमा सामान्य अवस्थामा देखिने भीड लकडाउनपछि सुनसान छ । विराटनगरका ठूला डिपार्टमेन्ट स्टोर, भाटभटेनी, आरके सेन्टर र सिटीमलदेखि स–साना पसल पनि बन्द छन् । मानिसले कोरोना नियन्त्रणमा सरकारले घोषणा गरेको लकडाउनलाई सफल बनाउन तीव्र रूपमा नियम पालना गरिरहेको पाइएको छ ।
सवारी साधन प्रहरी नियन्त्रणमा
लकडाउन उल्लङ्घन गर्ने २४८ थान सवारी साधन जिल्ला प्रहरी कार्यालय मोरङले आज बिहान पक्राउ गरी नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मोटरसाईकल- १८२, स्कुटी – १६, कार/भेन- ४, साईकल- २३, CT/टेम्पो – ५, ट्रयाक्टर – २ गरी जम्मा २३४ वटा सवारी साधन र २ जना लाइ नियन्त्रणमा लिएकाे सञ्चार शाखाले जनाएको छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएका बाहेक अन्य कुनै पनि सवारी साधन चल्न नदिने प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो । अतिआवश्यक काम तथा पसल खोल्नु परेमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा खुलाउने र लकडाउनलाई कडाइका साथ पालना गराउनेतर्फ सबैको ध्यान जानुपर्ने उपरीक्षक अधिकारीको भनाइ छ ।
आम नागरीकलाई घर भित्रै बस्न आग्रह
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले आम नागरीकलाई घर भित्रै बस्न आग्रह गरेकाे छ । बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस नेपालमा समेत देखिसकेको अवस्थामा सचेत र सुरक्षीत रहन अनुराेध गरेकेा छ ।
कोरोना भाईरसको सक्रमण भएको पुष्टीभएसँगै नेपाल सरकारले चैत्र ११ गते देखी १८ गते सम्म लकडाउनको घोषणा गरेको अवस्थामा यसकाे पूर्ण पालना गर्न अनुराेध गरिएकाे हाे ।
जारी विज्ञप्तिमा भनिएकाे छ, ‘कोरोना भाईरसको सक्रमणबाट जोगिन सबै जनालाई आ-आफ्नो घर भित्रै बसेर लक डाउनको उल्लघंन नगरिदिनु हुन अनुरोध गर्दछाै। हाम्रो आफ्नै सानो लापरवाहीले ज्यान समेत जान सक्ने जोखिम रहेको हुँदा घर बाहिर जथाभावी ननिस्किदिनु हुन, प्रहरीले गरेको माईकिङ लगायतको अनुरोधलाई सहयोग गर्न हुन, स्वास्थ्य स्वंय ब्यक्तिको सचेतनामा भर पर्ने कुरा भएकोले गाउ घर छिमेकमा कोही बिदेशबाट आएको ब्यक्ति भएमा नजिकको प्रहरी कार्यालय वा १०० मा खबर गर्नु हुन १ नम्बर प्रदेश प्रहरी कार्यालय आम नागरीकहरुमा हार्दिक अनुरोध गर्दछ ।’
आज चैत्र १२ गते बेलुका ६ बजे सम्म १ नम्बर प्रदेशका बिभिन्न स्थानहरुमा स्थापना गरिएका क्वारेन्टाईन गृहहरुमा कोरोना भाईरसको आशंका गरिएका ११२ जनाले स्वास्थ्य लाभ लिईरहेका छन् भने आईसोलेसन सेन्टरमा ५ जनाको उपचार भईरहेको छ ।
यसैगरी होम क्वारेन्टाईनमा ६९ जनालाई राखिएको छ । नेपाल सरकारले चैत्र ११ गते देखि लागु हुने गरी जारी गरेको लकडाउनको समयमा लक डाउनको उल्लघंन गरी सवारी साधन चलाउने २०९ जनालाई नियन्त्रणमा लिईएको थियो भने ठुला साना गरी ८८१ वटा सवारी साधनलाई नियन्त्रणमा लिईएको छ ।