विराटनगर, ९ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विराटनगरमा ३९ सय थान मास्क वितरण गरेका छन् । विराटनगर महानगरपालिकाको वडा नम्बर १२ का १३ टोलमा आफै पुगेर नेता कोईरालाले मास्क वितरण गरेका हुन् ।
उनले केहि टोलमा आफै पुगेर स्थानीयलाई मास्क बाडे भने केहीमा आफ्ना प्रतिनीधिलाई मास्क दिएर बाड्न पठाएका थिए । हाल बजारमा मास्कको अभाव भईरहेका बेला कोइरालाले निशुल्क मास्क वितरण गरेका हुन् ।
कोरोना संक्रमण खतराको बेला धेरै समूह भेला हुन नहुने भएकोले प्रतिनिधिमार्फत घर घर पुगेर मास्क वितरण गर्ने प्रबन्ध गरिएको कोइरालाले बताए । जनचेतनाका लागि मात्र मास्क र कोरोनाबाट बच्न सकिने उपाय छापिएको पर्चा लिएर टोल पुगेको हुँ ।’’ उनले भने ।
यस्तो संकटको बेला सबैले आ–आफ्नो घरमा बस्नुपर्ने पनि कोईरालाको सुझाव छ ।
नेपाली कांग्रेसका प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले जनचेतनाका लागि सानो प्रयास गरिएको बताए । वडाका उत्तरबखरी, दक्षिण बखरी, पान्चाली, रोडशेष चौक, मझुवा, दरेहैया,दरेहैया आदर्श टोल, गढा टोल, कोशी प्रोजेक्ट, सिकियाही, मलहनुवा, कृष्ण मार्ग र सगरमाथा टोलमा मास्कसंगै दुई दुई थान साबुन पनि वितरण गरिएको कांग्रेसका क्षेत्रीय सभापति जितेन्द्र गोल्छाले जानकारी दिएका छन् । मास्क वितरणलाई निरन्तरता दिइने गोल्छाले बताएका छन् ।
