नेपालगन्ज चैत्र ९ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सर्तकता स्वरुप नेपालगन्जस्थित नेपाल–भारत सीमानाका बन्द गरिएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले आज बिहान ११ बजेबाट उक्त नाका एक साताका लागि बन्द गरिएको जानकारी दिए। ‘अबको एक साताको लागि नेपालगन्ज–रुपैडिहा नाका बन्द भएको हो । गरिएको हो । नेपालको छिमेकी राज्य बिहार र उत्तर प्रदेशमा कोरोना निकै फैलिसकेको अवस्थामा ठूलो सख्यामा मानिसहरु नेपाल प्रवेश गरीरहेकाले जोखिम बढेको भन्दै नाकाबन्द गर्न सरकारमाथि दवाव परेको छ ।
भारतमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सीमासँग जोडिएका जिल्ला उच्च जोखिममा परेको भन्दै आम सर्बसाधारणले नाका बन्द गर्नुपर्ने आवाज उठाउँदै आएका थिए। सरकारको निर्देशन बमोजिम नाका बन्द भएको हो ।
भारतको विभिन्न प्रदेशमा कोरोनाको संक्रमण बढ्दै गएपछि रोजगारी र औषधी उपचार गर्न गएका नेपालीहरु नेपालगन्ज नाकाबाट ठुलो संख्यामा फर्किएका छन्। त्यसरी घर फर्किने नेपालीसँगै भारतीय नागरिक पनि नेपाल आएका छन्।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षमा बसेको जिल्ला स्तरीय ‘टास्क फोर्स’ को बैठकले खाद्यान्न, औषधी लगायत अत्यावश्यक बाहेक जिल्लाका सम्पूर्ण पसल, ब्यवसाय बन्द गर्ने निर्णय गरेको थियो।
बैठकले नेपालगन्जस्थित लायन्स डेन्टल अस्पतालमा ४० बेडको आइसुलेसन कक्ष स्थापना गर्ने पनि निर्णय गरेको छ। नेपालगन्ज उपमहानगरपालिकाको वडा स्तरमा क्वारेन्टाइनका लागि स्थानीय तहलाई अनुरोध गर्ने, सेल्फ आइसुलेसनका लागि आम नागरिकलाई आब्हान गर्ने, कोरोनाविरुद्ध राज्यले गरेको निर्णय कार्यान्वयनका लागि कडाईका साथ प्रस्तुत हुने निर्णय बैठकले गरेको प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिए।