चैत्र ८, काठमाडौँ ।
कोरोना भाइरसको महामारीबारे अफवाह र भ्रमपूर्ण अडियो क्लिपलाई सामाजिक सञ्जालमार्फत भाइरल बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई त्यस्तो भ्रमपूर्ण खबर रेकर्ड गरी सामाजिक सञ्जालमार्फत फैलाएको भन्दै प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो।
साइबर व्यूरो स्रोतका अनुसार भ्रमपूर्ण अडियो क्लिप शनिबार बिहान ८ बजेतिर सामाजिक सञ्जालमा देखा परेको थियो । पक्राउ परेका मगरले चलाउने एक अनलाइन पोर्टलमार्फत उक्त अडियो पहिले सावर्ज्निक भएको प्रहरी स्रोतले बताएको छ । पछि सामाजिक सञ्जालमा फैलिएको प्रहरीको भनाई छ । मगरसँग प्रहरीले विस्तृत बयान जारी राखेको छ ।
क्लिप यसरी भयाे भाइरल
शुक्रबार राति १० बजे विवेक थापा मगरले सामाजिक सञ्जाल फेसबुकमा ‘नेपालमा कोरोनाको महामारी फैलिसके पनि सरकारले, किन लुकाए यस्तो खबर । तल दिएको अडियो सुन्नुहोला …अनिवार्य ।’ भनेर एउटा समाचारको लिंक सेयर गर्दै स्टाटस पोस्ट गरे ।
आफैंले सञ्चालन गरेको झोर्लेन्युज डट कम नामक एक वेबसाइटमा राखिएको अडियो क्लिपसहितको समाचारको लिंक सेयर गरेर सुतेका विवेकले शनिबार बिहान ढिलो गरी मात्रै थाह पाए, उक्त अडियो क्लिप त भाइरल पो भएछ।
शनिबार मध्याह्नसम्म उनको फेसबुक स्टाटस ६ जनाले मात्रै सेयर गरेको देखिन्छ। तर सोही समाचारमा राखिएको उक्त अडियो क्लिप भने हजारौंले सामाजिक सञ्जालमार्फत सेयर गरेको देखिन्छ। कतिसम्म भने ग्रुप म्यासेन्जर, भाइबर ग्रुप र हृवाट्सएप ग्रुपबाट पनि यो क्लिप सयौंमाझ सेयर भएको देखिन्छ।
शनिवार दिउँसो २ बजे प्रहरी प्रधान कार्यालयले आफ्नो अफिसियल फेसबुकमा उक्त समाचार भ्रमपूर्ण रहेको सूचना राख्याे । त्यसअघि नै नर्भिक अस्पतालले भ्रमपूर्ण सूचना फैलिएको भन्दै खेद व्यक्त गरेर विज्ञप्ति निकालिसकेको थियो।
साे लगत्तै प्रहरी प्रधान कार्यालयले आदेशमा साइबर ब्युरोको अनुसन्धान टोली खटिएको थियो।दिउँसो ३ बजेतिर प्रहरीले रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने विवेकलाई पक्राउ गरेकाे हाे । अनुसन्धानमा संग्लन एक प्रहरीले उक्त अडियो क्लिप कुन–कुन सामाजिक सञ्जालमा कसरी विस्तार भयो भन्नेबारे अनुसन्धान सुरु गरिसकिएको बताए।