बृहत् लुम्बिनी गुरुयोजना बनाउँदै

बृहत् लुम्बिनी गुरुयोजना बनाउँदै

  • शुक्रबार, चैत्र ७, २०७६
  • – सञ्चिता घिमिरे

  • 6.6K
    SHARES

काठमाडौँ, ७ चैत । लुम्बिनी, कपिलवस्तु र रामग्रामको संरक्षणका लागि ‘बृहत् लुम्बिनी गुरुयोजना’ बनाइने भएको छ ।

विश्वका विभिन्न देशबाट आउने पर्यटकलाई लुम्बिनीसँगै कपिलवस्तु र रामग्राम लैजान तथा यहाँस्थित एतिहासिक र पुरातात्विक महत्वका संरचनाको संरक्षणका लागि योजना बनाउन लागिएको हो ।

लुम्बिनी क्षेत्र विकास कोषले कार्यान्वयन गरिरहेको लुम्बिनीको गुरुयोजनाले अरू क्षेत्र नसमेटेको भन्दै कोषले बृहत् योजना अघि बढाएको हो । विगतमा रामग्राममा धेरै अध्ययन भइसकेको कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले बताउनुभयो ।

विगतमा भएका अध्ययनानुसार बीचमा चैत्य भएको रामग्राम क्षेत्र पाँच सय मिटर क्षेत्रसम्म फैलिएको पाइएको छ । अहिले चैत्य नजीकै धेरै अरू संरचना बनिरहेको छ । विगतमा रामग्राम क्षेत्रमा खनेर राखिएका वस्तु हेर्न अहिले सङ्ग्रहालय जानुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यस क्षेत्रमा भेटिएका वस्तु त्यही नजीकै राखेर आगन्तुकलाई हेर्ने व्यवस्था मिलाउने योजना छ ।”

यस क्षेत्रलाई व्यवस्थित गर्न सरकारले जग्गा अधिग्रहण गर्नुपर्ने उहाँले बताउनुभयो । यस क्षेत्रलाई व्यवस्थित गर्दा कतिपयलाई प्रत्यक्ष र कतिलाई अप्रत्यक्ष रोजगारी मिल्ने उहाँको भनाइ छ । यो योजनाबाट यस क्षेत्रका झण्डै तीन हजार दुई सयजनाले आर्थिक लाभ लिने देखिएको छ । उहाँले भन्नुभयो, “हामीले यहाँको विस्तृत सर्वेक्षण गरेर सरकारलाई दिएका छौँ ।”

बौद्ध परम्पराको महत्व कतिपय अर्थमा कपिलवस्तुको महत्व लुम्बिनीको भन्दा पनि बढी रहेको छ । बुद्धका २१ ठूला घटनामध्ये १४ घटना कपिलवस्तुसँग जोडिएको पाइन्छ । बौद्ध धर्मावलम्बीले गौतम बुद्धका बुबा शुद्धोधन, आमा मायादेवी, पत्नी यशोधरादेवी र छोरा राहुलकुमारको कथा पढ्ने हुँदा उनीहरुका बारेमा थप बुझ्न पनि कपिलवस्तु जान चाहन्छन् । आगामी दिनमा यहाँ बुद्ध वंश पार्क बनाउनुपर्ने कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले बताउनुभयो । गौतम बुद्धले पहिलो समाधिको अनुभव सात वर्षको उमेरमा कपिलवस्तुको जामुनको रूखमुनि गर्नुभएको पाइन्छ । उहाँले भन्नुभयो, “यी लगायतका घटनाले पनि कपिलवस्तुको व्यवस्थापन गर्नुपर्ने देखाएको छ ।”

विगतमा कपिलवस्तु जहाँ खनेपनि धेरै सामग्री भेटिएको उहाँले बताउनुभयो । प्राचीन कपिवस्तुको चित्रण भारतका चैत्यमा समेत पाइन्छ । उहाँले भन्नुभयो, “भारतको साँची दरबारमा रहेका चारद्वारमध्ये एउटामा कपिलवस्तु दरबार र यसको परिसरको चित्रण पाइन्छ ।”

लुम्बिनीमा अहिले सरकारसँगै र अन्तरराष्ट्रिय क्षेत्रको पनि लगानी छ । धेरै देशका बौद्ध धर्मावलम्बीले विगतमा विहार निर्माण गरे पनि अहिले नयाँ विहार थप्न सकिने अवस्था छैन । १२ देखि १४ गुरु विहार निर्माणको योजना बनाएका छन् । ती व्यक्तिलाई तिलौराकोटमा जग्गा उपलब्ध गराएर त्यहाँको संरक्षणको जिम्मेवारी दिन सकिने उहाँले बताउनुभयो । यस क्षेत्रको सबैभन्दा ठूलो प्राचीन व्यवस्थित शहरका रुपमा रहेकाले पनि तिलौराकोटको विशेष महत्व छ । अहिले पनि एक फुट खन्दा व्यवस्थित संरचना भेटिएको कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले बताउनुभयो । यो क्षेत्रमा हिन्दू मन्दिर पनि भेटिएको छ । उहाँले भन्नुभयो, “यसले बौद्ध र हिन्दू धर्मको सम्बन्ध देखाएको छ ।”

विगतमा खन्दा भेटिएका संरचनाको संरक्षण नगरेको पाइएको उहाँले बताउनुभयो । ती संरचनाको संरक्षण गर्ने र आगन्तुकले हेर्न मिल्ने गरी राख्नुपर्ने खाँचो देखिएको छ । उहाँले भन्नुभयो, “खनिसकेका संरचना पुरिन नदिएर आगामी दिनमा जति खनिन्छ त्यसलाई संरक्षित गरेर देखाउनुपर्छ ।”

लुम्बिनी जाने केही पर्यटक तिलौराकोट जाने गरेका छन् । उनीहरु बस्तीको बीचबाट जानुपर्ने र पर्खाल फुटेको ठाउँबाट प्रवेश गर्नुपर्ने अवस्था छ । यस क्षेत्रमा काठको पैदल मार्ग निर्माण गर्ने, बस्ने ठाउँ बनाउने र खानेपानीको व्यवस्था मिलाउने कोषको योजना रहेको कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले बताउनुभयो । कतिपय स्थानमा चैत्य बस्तीले घेरिएको अवस्थामा रहेकाले तीनको संरक्षणको खाँचो रहेको छ । ती सबैको संरक्षणका कुरा बृहत् योजनाले समेट्नेछ । उहाँले भन्नुभयो, “अहिले हामीले तयारी गरिरहेकाले आगामी सात महिनामा यो बृहत् योजना सरकारलाई दिन सक्छौँ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ