७ चैत, काठमाडौं ।
सरकारले दिएको निर्देशनको अटेर गर्दै ललितपुरस्थित धापाखेलमा रहेको जेम्स स्कूलले प्रवेश परीक्षालाई निरन्तरता दिएको छ ।
कोरोना भाइरसको संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले चैत मसान्तसम्म बालविकास केन्द्र, निजी, सामुदायिक विद्यालयदेखि विश्वविद्यालयसम्ममा कुनै पनि गतिविधि नगर्न ५ चैतमै निर्देशन दिएको थियो ।
तर जेम्स स्कूलले भने कक्षा १ मा १४४, कक्षा ४ मा ३५, कक्षा ५ मा ९, कक्षा ६ मा १९, कक्षा ७ मा ८ र कक्षा ८ का लागि २ जनाको भर्ना खोलेको छ । २१७ सिटका लागि भर्ना खुले पनि दुई हजारभन्दा बढीले फर्म भरेको विद्यालय स्रोतले जानकारी दिएको छ ।
ललितपुरमा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे यतिबेला प्रवेश परीक्षा गर्नु गैरकानूनी कार्य भएको बताउदै कानून विपरीत प्रवेश परीक्षा लिने जुनसुकै विद्यालय कारवाहीको भागीदार हुने बताए ।
शिक्षा विकास समन्वय इकाइ, ललितपुरका प्रमुख योगेन्द्रप्रसाद बरालले भोलि कोरोनाको संक्रमण देखिए जवरजस्ती प्रवेश परीक्षा सञ्चालन गर्ने विद्यालयले नै पूर्ण रुपमा जिम्मेवार हुने बताए ।
जेम्स स्कूल प्रशासनले प्रवेश परीक्षा लिएको स्विकार गरेको छ । यद्यपि आफूहरूले कोरोना भाइरसकै कारण सबै कक्षाका अभिभावक एकै पटक जम्मा नहुने गरी प्रवेश परीक्षा सञ्चालन गरेको दाबी गरे । अभिभावकलाई प्रवेश परीक्षाबारे टेलिफोनमार्फत जानकारी दिएको उनले बताए ।