६ चैत, काठमाडौं । कोरोना संक्रमणको रोकथामका लागि सरकारले शुक्रवारबाट ६६ वटा मुलुकबाट नेपाल प्रवेशमा प्रबितन्ध लगाएको छ । यूरोप, पश्चिम एसिया, खाडीसँगै, इरान, मलेसिया, दक्षिण कोरिया, जापानबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । यो प्रतिबन्ध चैत ७ गते मध्यरातबाट लागू हुँदैछ ।
शुक्रवारदेखि प्रतिबन्धित देशका नागरिक, त्यहाँ रहेका नेपाली, गैरआवासीय नेपालीका साथै ती देशलाई ट्रान्जिट बनाएर पनि नेपाल आउन पाउने छैनन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिबन्ध लागेका मुलुकको नाम सार्वजनिक गरेको छ । यसअनुसार नेपालमा कूल ६६ मुलुकका नागरिक र त्यहाँबाट आउने जुनसुकै मुलुकका नागरिकलाई समेत प्रतिवन्ध लागेको हो ।
प्रधिकरणले त्यहीअनुसार उडान व्यवस्थापन गर्न एयरलाइन्स कम्पनीहरुलाई निर्देशन दिएको छ । प्राधिकरणका अनुसार यूरोपका ४५ देशबाट नेपाल आउन रोक लगाइएको छ । पश्चिम एसिया र गल्फका १९ देशका साथै इरान, मलेसिया, जापान र कोरियाबाट पनि आउन पाइने छैन ।
यूरोपका रसिया, जर्मनी, बेलायत, फ्रान्स, इटली, स्पेन, युक्रेन, पोल्याण्ड, रोमानिया, नेदरल्याण्ड, बेल्जियम, चेक रिपब्लिक, ग्रीस, पोर्चुगल, स्वीडेन, हंगेरी, बेलारुस, अष्ट्रिया, सर्विया, स्वीटजरल्याण्ड, बुल्गेरिया, डेनमार्क, फिनल्याण्ड, स्लोभाकिया, नर्वे, आयरल्याण्ड, क्रोएसिया, मोल्दोभा, बोस्निया हर्जगोभिना, अल्वानिया, लिथुवानिया, नर्थ म्याकडोनिया, स्लोभानिया, लात्भिया, इस्टोनिया, मोन्टेनेग्रो, लक्जेम्वर्ग, माल्टा, आइसल्याण्ड, अन्डोरा, मोनाको, लिचेन्स्टाइन, सानमारिनो, होली सीका नागरिकलाई नेपाल आउन प्रतिबन्ध लगाईएको छ ।
यस्तै पश्चिम एसिया र गल्फ राष्ट्रहरु टर्की, इराक, साउदी अरेविया, यमन, सिरिया, अजरवैजान, यूएई, इजरायल, जोर्डन, लेवनान, प्यालेस्टाइन, ओमान, कुवेत, जर्जिया, अर्मे्निया, कतार, बहराइन, साइप्रस, साउदी अरेवियाका नागरिकले पनि नेपाल आउन पाउदैनन् ।भने इरान, मलेसिया, दक्षिण कोरिया, जापानमाथिका नागरिकलाई पनि प्रतिबन्ध लगाईएको छ ।
काठमाडौंसम्म सिधा उडान बन्द
सरकारको निर्णयअनुसार वायुसेवा कम्पनीहरुको धेरै उडान स्वतः बन्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालले प्रतिबन्ध लागेका ६८ मुलुकमध्ये ९ देशसँग नेपालको सिधा हवाई सम्पर्क स्थापित थियो । ९ देशका ११ गन्तब्यलाई नेपालबाट १३ वटा एयरलाइन्सले जोडिरहेका थिए । अब ती देशसँग हवाई सम्पर्कसमेत टुटेको छ ।
नेपालमा २८ वायुसेवा कम्पनीले दैनिक ६५ भन्दा बढी अन्तर्रा्ष्ट्रिय उडान भर्दै आएका थिए ।
तर कारोनाको प्रभावपछि ९० प्रतिशतभन्दा बढी उडान कटौती भइसकेको छ । अहिले अधिकांश उडान भारतीय शहरमा मात्र सिमित भएको छ ।