इलाम, ६ चैत ।
परिक्षा दिन हिडेकी छोरी भोलीपल्ट माटोले पुरिएको अवस्थामा मृत भेटिईन् । त्यो सुन्दा उनका बिरामी बाबु विछिप्त जस्तै भए । प्रहरी घटनास्थल आईपुग्यो । तब वास्तविकता खुल्यो, उनको बलात्कारपछि हत्या गरिएको ।
कक्षा ११ मा पढ्ने आकृति राई मंगलवार स्थानीय ज्योति माध्यमिक विद्यालयमा परिक्षा दिन गएकी थिइन् । इलाम सूर्योदय नगरपालिकाकी १७ बर्षिय उनी साझ सम्म घर नफर्किएपछि खोजी सुरु भयो ।
आकृति बुधवार विद्यालय पुग्नुभन्दा करिब १५ मिनेटको बाटोमा क्षतविक्षत अवस्थामा भेटिईन् ।जतिबेला उनको प्राण गईसकेको थियो । प्रहरीले घटनास्थलमा मुचुल्का तयार गर्यो र अनुसन्धान सुरु गर्यो । प्रहरीका अनुसार किशोरीले लगाएको कपडा घुँडाभन्दा तल झारेर खुट्टामा बेरी नहल्लिने बनाएर, टाउको प्लास्टिकको बोरामा हाली पुरिएको अवस्थामा शव भेटिएको छ।
उनकाे शव खाडलमा गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी हीराबहादुर पाण्डेले बताए। ‘बिहान साढे ९ बजेतिर घरबाट स्कुल हिँडेकी किशोरीलाई स्कुल पुग्नुअघि नै बलात्कार गरी हत्या गरेर खाडलमा पुरिएको फेला परेको छ,’ बिहीबार सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा एसपी पाण्डेले भने, ‘अघिल्लो दिनसम्म परीक्षा दिइरहेकी किशोरी मंगलबार विद्यालय नपुगेपछि शिक्षक र स्थानीय अभिभावकले खोजतलास गरे। बुधबारमात्र शव फेला परेको हो।’
घटनामा संलग्न भएको आशंकामा अनुसन्धानका लागि ४ जना पक्राउ परेकामा १ जनाले आफैंले हत्या गरेको बयान दिएका छन्, प्रहरीले भन्याे । आकृतिकाे हत्या आरोपमा सूर्याेदय नगरपालिका–१३, लक्ष्मीपुरकै २१ वर्षे रोशन राईलाई प्रहरीले पक्राउ गरेको हो । उनी किशाेरीका छिमेकी हन् ।
आकृतीलाई बलात्कार गरेर जंगलमा लगी हत्या गरेको रोशनले बयान दिएको पाण्डेले जानकारी दिए । ‘पक्राउ परेका राईले आकृतिको आफूले बलात्कारपछि हत्या गरेको स्वीकारेका छन्,’ एसपी पाण्डेले भने, ‘पक्राउ परेका अन्य ३ जनालाई सोधपुछपछि छाडिएको छ।’
बुधबार प्रहरीले घटनाको मुचुल्का उठाएर शव निकालेको थियो । शवलाई थप परिक्षणका लागि बीपी स्वास्थ्य प्रतिष्ठान धोपा धरान पठाइएको छ ।
प्रहरी सामु रोशनले बलत्कार गरेको घटना सार्वजनिक गर्छु भनेपछि आकृतीलाई हत्या गरेको खुलाएका छन् । ढुंगाले टाउकोमा प्रहार गरेर हत्या गरेको र आफ्नै गाइ बाँध्ने गोठ नजिकै रहेको अम्लिसो बारीमा गरेर खाल्डो खनेर गाडेको रोशनको वयान उदृत गर्दै प्रहरी प्रमुख पाण्डेले बताए ।
यसरी भयाे उनकाे हत्या
कक्षा ११ को परीक्षा दिन २ दिन मात्रै बाकीँ थियो । आकृती सधैंझैं मंगलबार बिहान साढे ९ बजेतिर घरबाट परीक्षा दिन बिद्यालय हिडिन् । घरबाट करिब आधा घण्टाको पैदल दूरीमा रहेको विद्यालय पुग्न १५ मिनेट बाँकी नै थियो। तर उनी बिद्यालय पुग्न नपाउँदै सदाका लागि बिदा भईन् ।
परीक्षा सुरु भइसक्दा पनि आकृति स्कुल पुगिनन् । लगत्तै हिक्षकले घरमा फोन गरेर सोधे, आकृती किन परीक्षा दिन नआएकी ? उताबाट जवाफ आयो, सधैंको समयमा नै उनी बिद्यालय गईकि हुन् ।
लगत्तै शिक्षकले स्थानीय अभिभावकलाई आकृति बेपत्ता भएको खबर गरे। प्रहरीका अनुसार आकृतिलाई सबैतिर खोजियो, कतै फेला पारिएन। भोलिपल्ट बुधबार स्कुल पुग्नुअघि नै उनलाई खाडलमा पुरिएको आशंका गर्दै प्रहरीलाई खबर गरे ।
‘किशोरीलाई हत्या गरी पुरिएको आशंका गरी हामीलाई खबर आयो,’ पशुपतिनगर इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर रमेश राईले भने, ‘हामी घटनास्थल पुग्दा साढे १ बजेको थियो।’
स्थानीयसँग सोधपुछ र अनुसन्धानपछि खाडल खनेर हेर्दा पुरिएको शव आकृतिकै भएको पुष्टि भएको उनले बताए। ‘रोशनले आकृतिलाई ढुंगाले टाउकामा प्रहार गरेर हत्या गरेको, हत्यापछि बालिकाको चप्पल र किताब नजिकै रहेको गोठको मलखाडीमा लगेर पुरेको पनि बयान दिए,’ इन्स्पेक्टर राईले भने, ‘किशोरीलाई प्रहार गरेको ढुंगा र उनको चप्पल रोशनले नै देखाएर हामीले भेट्टाएका हौं।’ पक्राउ परेका रोशनको चप्पल र लुगामा समेत रगत लत्पतिएको इन्स्पेक्टर राईले जनाए।
रोशनले किशोरीलाई बलात्कार गरेपछि किशोरीले ‘अरूलाई भनिदिन्छु’ भनेकाले ढुंगाले हानी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। तर, पक्राउ रोशनले किशोरीको हत्या गरिसकेपछि पुरेको बयान दिएपनि हत्या भइसकेपछि हो या उनको मृत्यु नै नभई खाडलमा पुरिएको हो भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ। बालिकाको शव घना अम्लिसोबारीभित्र तरुल खनेर छाडेको खाडलमा पुरिएको थियो।
आकृति र रोशनको घर करिब आधा किलोमिटर दूरीमा पर्छ । तर, किशोरीको हत्या भएको स्थाननजिकै रोशनको गाईगोठ रहेकाले रोशन त्यसदिन बिहानैदेखि गोठमै थिए। रोशनका बुबा–आमा त्यसदिन पाथीभरा घुम्न गएकाले रोशन गोठमा एक्लै रहेको प्रहरीले जनाएको छ। ‘रोशन र आकृतिको चिनजान भएपनि अन्य सम्बन्ध नभएको बुझिएको छ,’ इन्स्पेक्टर राईले भने, ‘घटना पनि योजनाबद्ध नभई आकस्मिक रूपमा भएको अहिलेसम्मको अनुसन्धानले देखाउँछ।’
हत्या गरिएकी आकृतिका बुबा पूर्णबहादुर करिब ७ महिनाअघि अरिंगालको टोकाइबाट बिरामी भएपछि निको भएका छैनन्। आमा अर्काे बिहे गरेर गएपछि उनी बाबुकाे स्याहार र भाइकाे हेरचाह गरेर बसेकी थिइन् । उनका १३ र १० वर्षका २ भाइ छन्।