फागुण ३० काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण देखाउँदै संयुक्त राष्ट्रसंघले शान्ति मिसनमा तत्काल सेना नपठाउन नेपाली सेनालाई पत्र पठाएको छ। राष्ट्रसंघको आग्रहपछि मिसनका लागि दक्षिण सुडान उड्ने तयारीमा रहेका ६ सय ९९ जना सैनिक अधिकारीको यात्रा रोकिएको छ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले कोरोना भाइरसको कारण देखाउँदै राष्ट्रसंघले पत्र पठाएपछि दक्षिणी सुडान जान लागेका सैनिक अधिकारीहरू रोकिएको बताए ।
राष्ट्रसंघको निर्णयसँगै दक्षिणी सुडानबाट फर्कने तयारीमा रहेका टोलीको कार्यावधि केही लम्बिएको छ। नेपालमा अहिले रोकिएका सैनिक अधिकारीहरूको पहिलो टोली दक्षिणी सुडान पुगेपछि त्यहाँ रहेका सैनिक अधिकारी फर्कनेछन्। राष्ट्रसंघले अर्को निर्णय नगरुन्जेलसम्म त्यहाँ पुरानै टोलीले काम गर्नेछ।
राष्ट्रसंघको आग्रहमा नेपाली सेनाले कंगो, दक्षिणी सुडान, सुडान, वेस्टर्न सहारा, इजरायल, लेबनान, माली, सिरिया, सेन्ट्रट अफ्रिकन रिपब्लिक, इराक र लिबियाका विभिन्न मिसनमा शान्ति सेना पठाउँदै आएको छ।