ललितपुर, २५ फागुन । अखिल नेपाल महिला संघ क्रान्तिकारी ललितपुरले बिभिन्न कार्यक्रम गरी ११० औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । दिवसका अवसरमा आज सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
आज आयोजित कार्यक्रममा सहभागीहरुले महिलाको अधिकारका लागि एक जुट भएर आवाज उठाउनुपर्नेमा जोड दिदैँ उत्पिडनका बिरुद्ध अझै संघर्ष गर्नुपर्ने बताएका छन् । विश्वमा अझै पनि महिलामाथिको असमानता र विभेद कायम रहेको भन्दै वक्ताहरुले नेपालमा पनि यसले जरा गाडेर बसेको बताए ।
बिभिन्न स्वरुपमा नेपाली महिलामाथि हिंसा, अन्याय, अत्याचार हुने गरेको भन्दै उनीहरुले यसबारेमा अब पनि सचेत र एकताबद्ध रुपमा अघि नबढे अझै धेरै समय अधिकारकै लागि संघर्ष भईरहने बताए ।
कार्यक्रममा बोल्दै नेकपा ललितपुरका फ्याक्सन इन्चार्ज प्रतिवद्धले नेपालमा भएका हरेक राजनीतिक आन्दोलनमा महिलाको भूमिका अग्रपत्तिमा रहेको भएपनि त्यसबाट प्राप्त उपलब्धि महिलाको हकमा हुन नसकेको बताए । आफ्नो स्वार्थ अनुकुल मात्रै महिलाका मुद्धालाई राजनीतिक पार्टीले बोकेर हिड्ने गरेकाले पनि समस्या उत्पन्न भएको उनको भनाई थियो । विगतमा भएको दश बर्षे नयुद्धका क्रममा महिलाहरुले आफ्नो क्षमता र साहस प्रदर्शन गरिसकेको अवस्थामा आफ्ना अधिकारका लागि फेरी वैज्ञानिक समाजवाद लागु गर्ने अभियामा लामबद्ध हुन आवश्यक रहेको उहाँले बताउनु भयो ।
अनेमसंघ क्रान्तिकारी ललितपुरकी निर्मला खड्काको प्रमुख आथिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यता, अनेमसंघ क्रान्तिकारी काठमाडौं जिल्लाले पनि दिवसका अवसरमा आज कार्यक्रम गरेको छ । जडिबुटिमा भएको उक्त कार्यक्रममा महिला संघका उपत्यका ब्युरो संयोजक राजकुमारी शाहीद्धारा सम्बोधन गरेकी थिईन् ।
सो क्रममा शाहीले महिलाहरुले आफ्नो अधिकार र मुक्तिका लागि एकीकृत जनक्रान्तिमा सहभागी हुन आवश्यक रहेको बताईन् । आवश्यक्ता र स्वार्थ अनुसार महिलाका मुद्धा उठाउने र महिलाका मुद्धालाई सत्तामा पुग्ने भर्याङ बनाउने गरेकाले महिला आन्दोलनले सफलता हासिल गर्न नसकेको बताईन् ।
