विराटनगर, फागुन २४ गते । प्रदेश एक सरकारले अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा १५ जना श्रमिक महिलाहरुलाई नगद सहित सम्मान गरेको छ । आज सामाजिक विकास मन्त्रालय र सयुक्त ट्रेड युनियन संगठनको आयोजनामा भएको कार्यक्रममा मुख्य मन्त्री मुख्यमन्त्री शेरधन राईले सम्मान गरेका थिए ।
प्रदेश सरकारले ११० औं अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर पाँच क्षेत्रमा क्रियाशिल १५ जना महिला श्रमिकलाई नगदसहित सम्मान गरेको हो ।
सरकारले सफाई, निर्माण, औद्योगिक, चिया र स्वास्थ्य क्षेत्रमा श्रमिक महिलाहरुलाई नगद पाँच हजार रुपिँयासहित सम्मानपत्र, दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
सम्मानित हुनेमध्ये निर्माण मजदुरहरु निर्मला थापा, सिर्जना उराँव, दुरालीदेवी सर्वरिया, औद्योगिकतर्फ खेदनीदेवी ऋषिदेव, कागती ऋषिदेव र निर्मला डंगोल, चिया मजदुरतर्फ अम्बिका अधिकारी, समी हेमरन र हर्कमाया सार्की रहनु भएको छ । यसैगरी सरसफाईतर्फ सितादेवी डोम र यमकला मंग्राति, स्वास्थ्यतर्फ अन्जना श्रेष्ठ, कृषितर्फ वविता विश्वासलाई सम्मान गरिएको हो ।
सम्मानित भएपछि यमकला मंग्रातिले सरकारले विशेष अवसर पारेर महिला श्रमिकहरुलाई दिइएको सम्मानले समाजमा मुख देखाउन लायक भएजस्तो बनेको बताईन् ।
सो अवसरमा बोल्दै मुख्य मन्त्री राईले महिलाका लागि अधिकारको प्रयोग गर्ने अवसर आएको भन्दै तर त्यसका लागि महिलाले हस्क्षेपकारी भूमिका खेल्न सक्नु पर्ने बताए ।
विश्वमै संविधानमै उल्लेख गरेर महिला अधिकार सुनिश्चित गर्ने देशमा नेपाल रहेको दावी गर्दै उनले राईले प्रधानन्यायधिश, सभामुख, राष्ट्रपतिसम्म भईसकेका नेपाली महिलालाई कानुन र संविधानले दिइएको समान अधिकार व्यवहारतः प्रयोगमा आउनुपर्नेमा जोड दिए ।
११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा पनि विराटनगरका केहि उद्योगहरुले महिलालाई विदा नदिएको मजदुर नेताहरुले गुनासो गरेपछि मुख्यमन्त्री राईले त्यस्ता उद्योगहरुलाई संविधानको परिपालना गराउन आफू दृढ रहेको बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले नेपालमा महिलालाई क्रमशः अधिकारहरु प्राप्त हुँदै गएको बताउँदै व्यवहारमा देखिएका कठिनाई विस्तारै हटाउँदै जानुपर्नेमा जोड दिए ।
यसैगरी उपसभामुख सरस्वती पोखरेलले न्यायलय, सेना, प्रहरी जस्ता निकायसँगै निजामति कर्मचारीमा पनि महिलाका लागि विशेष अवसरको खाँचो रहेको बताईन् ।
कार्यक्रममा अखिल नेपाल ट्रेड यूनियन महिला महासंघ प्रदेश १ अध्यक्ष सीता सापकोटाले महिलाले पाउनु पर्ने अधिकार व्यवहारिक कार्यन्वयन नहुँदासम्म निरन्तर महिला पक्षीय आन्दोलन आवश्यक रहेकोमा जोड दिईन् ।
यसैगरी नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) प्रदेश अध्यक्ष निलम ढुंगेलले महिलालाई अधिकार सम्पन्न बनाउन संविधानमा उल्लेख गरिएका प्रावधान कार्यन्यवन हुनुपर्नेमा जोड दिनुभयो ।