चुरियामाई, २३ फागुन ।
सामुदायिक विद्यालयमा बस सञ्चालनका लागि वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले त्रिपक्षीय सम्झौता गरेको छ । आज मन्त्रालयले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, विद्यालय रहेको गाउँपालिका अध्यक्ष र मन्त्रालयबीच बस खरिदको सम्झौता गरेको हो । पच्चीस विद्यालयका लागि विद्यार्थी बसको सम्झौता भएको मन्त्रालयले जनाएको छ । तीन महिनाभित्र बस सञ्चालन गर्ने बताइएको छ ।
दुर्गम तर सडक सञ्जाल भएका विद्यालयले विद्यालय बस सञ्चालनमा ल्याउने भएपछि विद्यार्थीको पठनपाठनमा समेत गुणस्तर वृद्धि हुने भएको प्रदेश सामाजिक विकासमन्त्री युवराज दुलालले बताउनुभयो । उहाँले भन्नुभयो, “गुणस्तरीय शिक्षाका लागि प्रदेशका विकट स्थानका पाँच विद्यालयलाई आवासीय विद्यालय बनाएर गुणस्तर शिक्षा दिनका लागि हामी तत्पर छौँ, अब विद्यार्थीले घण्टौँ लगाएर विद्यालय पुगेर पठनपाठन गर्नुपर्ने समस्या समाधान हुने भएको छ ।” मन्त्री दुलालले २० विद्यालयलाई नमूना विद्यालय बनाइसकेको जानकारी दिनुभयो । विद्यालयलाई गाभेर आधा बनाउँदा सरकारलाई भौतिक पूर्वाधारको विकास गर्न पनि सहज हुने उहाँको भनाइ थियो ।
दुर्गममा भएका विद्यालयमा विद्यार्थी सङ्ख्या थोरै भएको र विभिन्न किसिमबाट जागिर खुवाउनकै लागि भर्ना गरिएको शिक्षकको योग्यताका कारण पनि दुर्गम क्षेत्रको पठनपाठन गुणस्तर नभएको उहाँले बताउनुभयो । उहाँले विद्यालय गाभ्दा सरकारले गुणस्तरीय शिक्षाका लागि चाहिने सबै पूर्वाधार तयार गर्न आर्थिकरूपले पनि सक्षम हुने जानकारी दिनुभयो । बस सञ्चालनका लागि विद्यालयसँगै स्थानीय जनप्रतिनिधिलाई पनि राखेर सम्झौता गर्दा बस सञ्चालनमा अझ सहज हुने मन्त्री दुलालको भनाइ थियो ।
सामुदायिक विद्यालयमा बस सञ्चालन गर्दा अभिभावक तथा विद्यार्थी दुवैको आकर्षण बढ्ने र लामो दूरीका विद्यालयमा पनि आफ्ना बाबु/नानी पढाउन सहज हुने भएकाले प्रदेश सरकारले दिन लागेको बसले दुर्गमका विद्यालयलाई गुणस्तरीय बनाउन सबैको चासो हुने कालिका गाउँपालिका रसुवाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताउनुभयो । सरकारले दिन लागेको एउटा बस पर्याप्त नहुने भएकाले एक वर्षभित्र यसले पार्ने प्रभावका आधारमा स्थानीय तहले पनि बजेट छुट्याउन सक्ने उहाँले बताउनुभयो ।
कालिका हिमालय माध्यमिक विद्यालय व्यवस्थापन समिति रसुवाका अध्यक्ष मेघनाथ घिमिरेले उक्त विद्यालयमा करिब डेढ घण्टाको बाटो हिँडेर आउने विद्यार्थी रहेकाले बस सञ्चालनले उनीहरूलाई सहज हुने बताउनुभयो । हालसम्म विद्यार्थी घरबाट विद्यालयका लागि हिँडे पनि बाटोमै खेलेर बसिदिनेसम्मका समस्याका कारण बस सञ्चालन हुँदा विद्यार्थीलाई विद्यालय र अभिभावकको निगरानीमा राख्न सकिने बताउनुभयो ।
त्यसैगरी चण्डेश्वरी मावि विदुर नुवाकोटका व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद रिजालले सामुदायिक र संस्थागत विद्यालयबीचको दूरी कम गर्न यो कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार सफा बसमा विद्यालय जान पाउँदा विद्यार्थीको मनोबल उच्च हुने र यसले सिकाइमा पनि सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
हाल वाग्मती प्रदेशभित्र छ हजार ९०० सामुदायिक विद्यालय रहेको मन्त्रालयको शैक्षिक योजना तथा अनुसन्धान महाशाखाका प्रमुख दीपेन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशमा जम्मा एक हजार ३५० माध्यमिक विद्यालय छन् । तीमध्ये २७४ माध्यमिक विद्यालयमा मावि शिक्षक दरबन्दी छैन । यसका लागि प्रदेश सरकारले चालू आवदेखि एक÷एक शिक्षक दरबन्दी दिएको जनाइएको छ ।