३५ वर्षसम्म एउटै विद्यालयमा शिक्षण, बिदाइमा रोए गाउँले

३५ वर्षसम्म एउटै विद्यालयमा शिक्षण, बिदाइमा रोए गाउँले

  • शुक्रबार, फाल्गुन ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

सामान्यतया सरकारी सेवाका कर्मचारीको सरुवा दुईदेखि पाँच वर्षभित्र हुने गरेको पाइन्छ । शिक्षकको पनि विभिन्न समयमा सरुवा हुने गरेका खबर हामी पाउँछौँ तर एउटै विद्यालयमा ३५ वर्षसम्म अध्यापन गराएर सोही विद्यालयबाट अवकास हुने शिक्षकको सङ्ख्या हेर्ने हो भने कमै भेटिन्छन् ।

पर्वतको मोदी गाउँपालिका–६ तिलाहारस्थित नवदुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक बालकृष्ण पुरी ३५ वर्ष एउटै विद्यालयमा अध्यापन गरेर बिदाइ हुनुभएको छ । बुधबार सेवा अवधि पूरा भएर विद्यालयले उहाँलाई बिदाइ गर्दा विद्यार्थी, अभिभावक, शिक्षक र अन्य गाउँलेले भावविह्वल हुँदै बिदाइ गरेका छन् ।

सोही ठाउँमा जन्मिएर विसं २०४१ देखि शिक्षण पेशामा आबद्ध भएका बालकृष्ण पुरीलाई बुधबार विद्यालयले एक समारोहबीच बिदाइ गरेको हो । करिब चार दशकसम्म सँगसँगै एउटै थलोमा काम गर्दै आएका शिक्षकलाई अनिवार्य अवकासको पाँच महिनाअगावै विद्यालय र समुदायले बिदाइ गरेको छ ।

पुरीले २०४१ सालदेखि २०७६ मङ्सिरसम्म निरन्तर सोही विद्यालयमा अध्यापन गराउँदै आउनुभएको थियो । गाउँमा एसएलसी पास गर्ने व्यक्ति खोज्नुपर्ने अवस्थाको समयमा एसएलसी उत्तीर्ण गरेका पुरीले अध्यापन शुरु गरेको सात वर्षसम्म अस्थायी पेशामा रहे पनि सात वर्षपछि मात्रै स्थायी शिक्षण पेशा शुरु गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका वर्तमान प्रधानाध्यापक विष्णुप्रसाद शर्माले निवृत्त भएका शिक्षक पुरीको जीवनी वाचन गर्दा आँखा नरसाउने कोही थिएनन् । “एउटा शिक्षक मात्रै नभई सामाजिक परिवर्तनमा समेत शिक्षक पुरीको ठूलो योगदान थियो”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सामाजिक व्यक्ति देवेन्द्रज्यु ठकुरीले गहभरि आँशु पार्दै भन्नुभयो, “त्यस्तो व्यक्ति हामीबाट बिदाइ हुँदा कसरी आँशु थामौँ ।” उहाँले प्रकृतिको नियम अनौठो भएको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सेती महतले समेत गाउँको मुहार फेर्नका लागि पुरीको अतुलनीय योगदान रहेको भन्दै भोलिका दिनमा विद्यालय बाहिर रहे पनि गाउँ र विद्यालयको उन्नतिका लागि सदैव सक्रिय रहन आग्रह गर्नुभयो ।

वडाध्यक्ष विमल लामिछानेले लामो अवधिसम्म विद्यालयमा कार्यरत शिक्षकको अवकास गरिनु विद्यालयका लागि दुःखद् कुरा भएको बताउनुभयो । उहाँले वडामा सञ्चालन भएको विद्यालयमा उत्कृष्ट विद्यालयका रूपमा स्थापित गराउन पुरीले खेलेको भूमिकाको कदर गर्दै भोलिका दिनमा पनि उक्त साख नगिराउन विद्यालय परिवारलाई सुझाव दिनुभएको थियो । उहाँलाई विद्यालयको तर्फबाट विद्यालय व्यवस्थापन समितिले दोसल्ला ओढाएर सम्मान गरेको थियो भने समग्र गाउँका स्थानीय बासिन्दाले समेत अबिर, खादा र माला पहिराएर बिदाइ गरेका थिए ।

बिदाइ कार्यक्रममा पुरीले विद्यालयप्रतिको माया कहिल्यै नघट्ने बताउँदै विद्यालयमा दरबन्दी गुम्ने भएकाले नै आफूले अनिवार्य अवकासको पाँच महिनाअगावै राजीनामा दिएको बताउनुभयो । “मैले ०७७ वैशाखमा राजीनामा दिएको भए मासिक निवृत्तिभरणमा ७०० रुपैयाँ बढी पाउने थिएँ”, उहाँले भन्नुभयो, “तर मैले दरबन्दी जोगाउनकै लागि रु ७०० को माया मारेर मङ्सिरमा नै राजीनामा दिएको हूँ ।” उहाँले विद्यालय र समाजको उन्नतिका लागि जहाँ रहे पनि सेवामा तत्पर रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी