नेपालमै विश्वस्तरीय शिक्षाको अवसर रहेको जानकारी गराउन विराटनगरमा दुई दिने शैक्षिक मेलाको बिहीबार देखि सुरु भएको छ ।
मिडिया इन्कर्पोरेशनले विराटनगरस्थित इष्टर्न स्टार होटलमा शैक्षिक मेला आयोजना गरि विद्यार्थीसँग परामर्श गरेको हो ।
नेपालका सबै विश्वविद्यालय, आंगिक तथा सम्बन्धन क्याम्पस र माध्यमिक विद्यालयसहित ३४ शैक्षिक संस्थाको सहभागीतामा मेलाको आयोजना गरिएको छ ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मेलाको उद्घाटन गर्दै नेपालमै विश्वस्तरीय शिक्षाको अवसर रहेको सन्देश सबै नागरिकमा दिन आवश्यक रहेको बताउनुभयो ।
अध्ययनका लागि विदेशिने युवापुस्ताले सबै विश्वविद्यालय र शैक्षिक कार्यक्रमको विषयमा नबुझेका कारण विदेश जाने गरेको उहाँको भनाई थियो । अध्ययनका लागि वा कुनै रोजगारीका लागि विदेशिनु पर्ने अवस्थाको अन्त्यका लागि सबैको पहल आवश्यक रहेको उहाँको जोड थियो । स्वदेशका अवसरले विश्वलाई आवश्यकता पर्ने जनशक्ति उत्पादन हुनसक्ने बताउँदै मन्त्री घिमिरेले नेपाली शिक्षा कमजोर नरहेको दावी गर्नुभयो ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्दै प्रविधिसँग विद्यार्थीलाई जोड्ने कार्यक्रम प्रदेश सरकारले अगाडी सारेको बताउँदै सरकारले दक्ष जनशक्ति उत्पादनका लागि लगानी बढाउने बताउनुभयो । स्वदेशै रहेका अवसर सदुपयोगले मात्रै समृद्ध नेपालले सार्थकता पाउने उहाँको विश्वास थियो ।
मेलामा व्यवस्थापन, इन्जिनियरिङ र सूचना प्रविधिसँग सम्बन्धित शैक्षिक पाठ्यक्रमको विषयमा जानकारी गराइने मिडिया इन्कर्पोरेशनका निर्देशक तारामान रावलले जानकारी दिनुभयो ।