नायिका महिमा सिलवालको सडक दुर्घटनामा परी मृत्यु भएको छ । उनी चढेको स्कुटरलाई बसले ठक्कर दिदा सिलवाल र उनकी बहिनीको समेत ज्यान गएको प्रहरीले जनाएको छ ।
धादिङको गजुरी इलाका प्रहरी कार्यालयका अनुसार बुधबार साँझ पौने ६ बजेतिर धादिङको गजुरी–२, चम्बासमा नायिका सिलवाल र उनकी बहिनी सर्मिला सवार स्कुटरलाई विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिँदा दुवैको मृत्यु भएको हो।
गजुरी इलाका प्रहरी कार्यालयका डीएसपी खगेन्द्रराज खड्काका अनुसार ठक्करबाट गम्भीर घाइते भएकी २२ वर्षीया महिमाको उपचारका क्रममा गजुरी स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो भने उनकी बहिनी २० वर्षीया सर्मिलाको उपचारकै क्रममा काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो।
दिदीबहिनी बा ९८ प ७०५८ नम्बरको स्कुटरमा काठमाडौंबाट आफ्नो घर भरतपुर महानगरपालिका–१२ शिवनगर जाँदै थिए। यसै क्रममा भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले उनीहरू सवार स्कुटरलाई ठक्कर दिएको उनले टेलिफोनमा नेपालखबरलाई जानकारी दिए ।
चलचित्र ‘कारबाही’ बाट डेब्यु गरेकी नायिका महिमाले अप्रिल फुल, चियर्स, दानव, जिग्लो लगायत चलचित्रमा काम गरेकी थिइन्।