धादिङको बृचेत माविका विद्यार्थी अझै टहरामा पढ्न बाध्य

धादिङको बृचेत माविका विद्यार्थी अझै टहरामा पढ्न बाध्य

  • शुक्रबार, माघ १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

धादिङ, १० माघ ।
विनाशकारी भूकम्प गएको चार वर्ष भइसके पनि उत्तरी धादिङको बृचेत माविका विद्यार्थी अझै टहरामा पठनपाठन गर्न बाध्य छन् । भारत सरकारले पुनःनिर्माण गर्ने जिम्मा लिएर पनि काम शुरु नगरेपछि बृचेतजस्तै धादिङका १० ठूला विद्यालय अझै टहरामा पढ्न बाध्य छन् । एशियाली विकास बैंकले निर्माणको जिम्मा लिएको पाँच विद्यालयका पुनःनिर्माण शुरु नै भएको छैन ।

भूकम्प गइसकेपछि क्षतिग्रस्त विद्यालयमा त्रिपाल र अस्थायी टहरा बनाई पढाइ सञ्चालन गरेका विद्यालयमा विभिन्न सङ्घसंस्था तथा विद्यालय आफँैले पनि विद्यालय भवन निर्माण गरेका छन् । विद्यालय निर्माणमा ढिलाइ भएका कारण विद्यार्थी अझैसम्म पनि अस्थायी टहरामा नै बसेर पढिरहेका छन् । पुनःनिर्माणकार्य प्रभावकारी नहुँदा विद्यार्थी हिउँदमा चिसो र बर्खामा घामपानीको कष्टप्रद अवस्थामा पढ्न बाध्य छन् ।

जिल्लामा अझै पनि भूकम्पले भत्काएका ३५ प्रतिशत विद्यालयको पुनःनिर्माण गर्न बाँकी छ । हालसम्म २५१ विद्यालयका दुई हजार ५२१ कक्षाकोठा निर्माण सम्पन्न भइसकेका छन् । निर्माण सम्पन्न गरिएको विद्यालयमा नियमित पठनपाठन भइरहेको छ । भत्किएका विद्यालय निर्माण तीन वर्षभित्र सक्ने शिक्षा मन्त्रालयको योजना बनाएको थियो तर निर्माण सम्पन्न गरिने समयसीमाभन्दा थप साढे एक वर्ष बितिसक्दा पनि विद्यालय पुनःनिर्माण पूर्णरूपमा सम्पन्न हुनसकेको छैन ।

निर्माण सामग्रीको अभाव, ढुवानीको समस्या, कामदारको कमीजस्ता कारणले विद्यालय पुनःनिर्माणमा ढिलाइ भएको नेपाल सरकार शिक्षा मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ जिल्ला आयोजना कार्यान्वयन एकाइ धादिङका सूचना अधिकारी ईश्वरकुमार श्रेष्ठले बताउनुभयो । अझै विद्यालय पुनःनिर्माण गर्न डेढ वर्ष लाग्ने श्रेष्ठको भनाइ छ ।

क्षतिग्रस्त सबै विद्यालयमा पुनःनिर्माणको काम भइरहेको छ । कुनै विद्यालयमा कक्षाकोठा थोरै भएका कारण थप भवन निर्माण शुरु गरिएको छ, यसले पनि ढिलाइ भएको हो । निर्माण गरिएको विद्यालय भूकम्प प्रतिरोधी छ भने छात्रछात्रा र अपाङ्गतामैत्री शौचालयको पनि निर्माण गरिएको छ । विद्यार्थीमैत्री खानेपानीको धारा पनि निर्माण गरिएको छ । ह्वीलचियर गुड्ने गरी विद्यालय तथा शौचालयको संरचना निर्माण गरिएको आयोजनाको दाबी छ तर विद्यालय पुनःनिर्माण गर्दा आपाङ्गतामैत्री संरचना नबनाएको अपाङ्गताको क्षेत्रमा कार्यरत अपाङ्गता कल्याण सङ्घका अध्यक्ष गुणराज खतिवडाले बताउनुभयो ।

विद्यालय पुनःनिर्माण गर्दा एउटा स्ल्याब हालेर अपाङ्गतामैत्री नहुने भन्दै संयुक्त राष्ट्रसङ्घले भनेअनुसार शौचालय पाँच÷पाँच फिट फराकिलो हुनुपर्ने, दृष्टिविहीनका लागि पनि संरचना बनाउनुपर्ने, शौचालयमा अनिवार्यरूपमा कमोडसहित दुवैतर्फ समात्ने डण्डी राख्नुपर्नेजस्ता आधार पूरा नगरेको अपाङ्गता अधिकारकर्मी यमकुमारी इटनीको भनाइ छ । जिल्ला शिक्षा तथा समन्वय एकाइका सूचना अधिकारी कृष्णकुमार श्रेष्ठका अनुसार जिल्लामा हालसम्म निर्माण भएकामध्ये तीन विद्यालय मात्र पूर्ण अपाङ्गतामैत्री रहेको बताउनुभयो ।

भूकम्पले क्षति पु¥याएको ५८२ विद्यालयमध्ये २५१ विद्यालय पुनःनिर्माणको काम सम्पन्न भएको छ । चार हजार ४३९ कक्षाकोठामध्ये दुई हजार ५२१ कक्षाकोठा निर्माण सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाले जानकारी दिएको छ । एशियाली विकास बैंकले बनाउने छ विद्यालयमध्ये सदरमुकामको नीलकण्ठ मावि नमूना विद्यालयका रूपमा निर्माण गरिसकेको छ भने अन्य पाँच विद्यालयको पुनःनिर्माण शुरु नै भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी