जनकपुर पुष २२ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले सूचना माग्ने पत्रकारमाथि आक्रमण गरेका छन् । कार्यकक्षमैै उनले मरणासन्न हुने गरी पत्रकार कुटे पछि महासंघले कार्बाहीको माग गरेको छ ।
मेयरको कार्यकक्षमा उनकै निर्देशनमा नगर प्रहरी, कर्मचारी, कार्यकर्ताको प्रत्यक्ष निर्देशनमा पत्रकारमाथि आक्रमण र कुटपिट गरेको नेपाल पत्रकार महासंघका महासचिव किरण कुमार कर्णले बताए। ‘हामी आक्रोशपूर्ण वातावरणलाई साम्य पार्न गएका थियौं’, उनले भने, ‘तर उनको कार्यकर्ताले हामीमाथि संघातिक आक्रमण गर्यो।’
संघातिक आक्रमणबाट एपीवान टेलिभिजनका ब्यूरो प्रमुख विकासकुमार साह, सञ्जय यादव, कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता अमरकान्त ठाकुर, उज्यालो नाइन्टी नेटवर्कका संवाददाता सुभाष कर्ण, देशसंचार डटकमका संवाददाता राजा झा, एबीसी टेलिभिजनका संवाददाता सुमित मिश्र संघातिक आक्रमणबाट घाइते भएका छन्। घाइते सबैलाई प्रादेशिक अस्पतालमा उपचारपछि घर पठाइएको नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले जानकारी दिए।
‘पत्रकारलाई तीन घण्टा कुराएर प्रतिक्रिया लिने क्रममा मिडिया आतंक मच्चाएको भन्दै कुटपिट गर्नु अत्यन्त लज्जास्पद र आपत्तिजनक विषय हो’, उनले भने, ‘सूचनाको हक नमान्नु, सम्बन्धित विषयमा प्रतिक्रिया दिन आलटाल गर्नु तथा पत्रकारलाई कुराएर कुटपिट गर्न लगाउनु निन्दनीय हो।’
कुटपिटको क्रममा पत्रकारको मोबाइल र क्यामेरासमेत खोसिएको छ।
पत्रकारलाई हेलमेट, पाईप जस्ता बस्तु प्रहार गरेर हानीएको देखिएको छ । पत्रकार महासंघले विज्ञप्ति जारी गरी घटनाको दोषीमाथि कार्बाहीको माग गरेको छ ।