काठमाडौँ। नेकपा (एमाले) भित्रको आन्तरिक विवाद र नेतृत्व परिवर्तनको बहस उत्कर्षमा पुगेका बेला अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
गत बिहीबार अध्यक्ष ओलीले एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई भेटेर पार्टीको वर्तमान संकटमा साथ दिन आग्रह गरेका थिए। तर भण्डारीले ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आफू स्पष्ट रूपमा पार्टी पुनर्गठनकै पक्षमा रहेको बताएकी छन्। “तपाईंले पार्टी चलाउन सक्नुभएन, आफ्नै टिमलाई जोगाउन सक्नुभएन र फरक मत राख्नेलाई पनि टिक्न दिनुभएन। अब तपाईंले सहजीकरण (नेतृत्व हस्तान्तरण) गर्दा नै राम्रो हुन्छ,” भण्डारीको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ। ओलीले तत्काल नेतृत्व छाड्ने अवस्था नरहेको र उपयुक्त पात्र नभएको बताएपछि भण्डारीले व्यक्तिभन्दा विधि र पद्धति ठूलो हुने जवाफ दिएकी थिइन्।
यसैबीच, महासचिव शंकर पोखरेलले पनि बालुवाटारस्थित भण्डारी निवास पुगेर ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ को प्रतिवेदनबारे जानकारी गराएका थिए। भेटमा भण्डारीले कार्यदलले तल्ला कमिटी र कार्यकर्ताको सुझावका आधारमा प्रतिवेदन तयार पारेकाले यसलाई कुनै व्यक्तिविशेषको भन्दा पनि विधि र सिद्धान्तको आधारमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिइन्।
कार्यदलका सदस्यसचिव रहेका पोखरेलले ओलीको कार्यशैलीलाई मुख्य कारक मान्दै ६५ पृष्ठको पुनर्गठन प्रतिवेदन ल्याएपछि अध्यक्ष ओलीले त्यसलाई अस्वीकार गर्दै संयोजक रामबहादुर थापा ‘बादल’ मार्फत काउन्टर प्रतिवेदन तयार पार्न लगाएका थिए। बल्थलीमा भएको आवासीय बैठक निष्कर्षविहीन बनेपछि असोज १ गते बस्ने कार्यदलको बैठकका लागि सहमति जुटाउन उपाध्यक्षद्वय थापा, विष्णु पौडेल र महासचिव पोखरेललाई सम्पादनको जिम्मा दिइएको छ। असोज ५ देखि ७ गतेसम्म बस्ने केन्द्रीय कमिटी बैठकअघि पूर्वराष्ट्रपति भण्डारीको यो अडानलाई एमालेको भावी शक्ति सन्तुलनका दृष्टिले निकै महत्त्वपूर्ण मानिएको छ।