काठमाडौँ। नेकपा (एमाले) ले आगामी असोज ५ देखि ७ गतेसम्म बस्ने गरी केन्द्रीय कमिटीको बैठक बोलाएको छ। पार्टीका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार तीन दिनसम्म चल्ने उक्त बैठकको स्थान र विस्तृत एजेन्डा भने आगामी सचिवालय बैठकले तय गर्नेछ।
बैठकको मुख्य एजेन्डा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तयार पार्ने प्रतिवेदनमाथिको छलफल रहनेछ। वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा गठित कार्यदलमा दुई फरक धारणासहितका प्रतिवेदन पेस भएपछि विवाद कायमै छ। महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा र पार्टी पुनर्गठनको प्रस्तावसहित ६५ पृष्ठको प्रतिवेदन पेस गरेका छन् भने संयोजक बादलले त्यसको विपक्षमा ३९ पृष्ठको प्रतिवेदन तयार पारेका छन्।
दुवै भिन्न प्रतिवेदनलाई मिलाएर एकीकृत दस्तावेज बनाउने जिम्मेवारी संयोजक बादल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव पोखरेललाई दिइएको छ। तीन नेताले तयार पार्ने सम्पादित प्रतिवेदन असोज १ गते बस्ने कार्यदलको बैठकमा पेस गरिनेछ र त्यसपछि असोज ५ को केन्द्रीय कमिटी बैठकमा छलफलका लागि लगिनेछ। यससँगै अध्यक्ष ओलीको राजनीतिक भविष्य र पार्टीको भावी दिशालाई लिएर केन्द्रीय कमिटी बैठकलाई अर्थपूर्ण मानिएको छ।