विराटनगर, १६ पुस ।आजदेखि नेपाल पर्यटन वर्ष २०२० औपचारिक रूपमा सुरु भएको छ।
प्रदेश १ सरकारले पर्यटन वर्ष २०२० को भव्य शुभारम्भ गरेको छ । भारतीय पाहुनालाई कार्यक्रममा सहभागी गराउँदै भ्रमण वर्ष २०२० को भव्य रुपमा शुभारम्भ गरिएको हो ।
विराटनगर शहीद रंगशालामा बुधबार मुख्यमन्त्री शेरधन राईले भ्रमण वर्षको उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा भारत सिक्किम सरकारका प्रचार संयोजक वीरेन्द्र ताम्ली र पश्चिम बंगालस्थिल सिलिगुडीका पर्यटन व्यवसायी राज बासुलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सम्बोधनको अवसर दिइएका बासुले प्रदेश १ पर्यटन भित्र्याउन सक्ने प्रदेशमा पर्ने धारणा राख्नुभयो । उहाँले कोशी टप्पुदेखि, पहाड र हिमालसम्म आकर्षक गन्तव्य रहेको बताउँदै घुम्नै पर्ने देश नेपाल रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री राईले विश्वको अग्लो शिखर सगरमाथा, नेपालको होचो क्षेत्र केचना कवच र नेपालकै होचो अरुण उपत्यकासहितका क्षेत्रमा घुम्न आउन पर्यटकलाई आग्रह गर्नुभयो ।

उहाँले नेपाल घुम्न र प्रदेशमा बस्नका लागि आउने पर्यटकलाई विशेष सम्मान र स्वागत गरिने धारणा राख्नुभयो । तीनवटा राष्ट्रिय निकुञ्ज, आरक्ष क्षेत्रसहित धार्मिक, पुरातात्विक, प्राकृतिक क्षेत्र रहेको प्रदेशलाई पर्यटक गन्तव्यको रुपमा विकास गरिने मुख्यमन्त्री राईको जोड थियो ।

कार्यक्रमलाई भव्यता प्रदान गर्न नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि समेत गराइएको थियो । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी, राष्ट्रिय सेवा दलका विद्यार्थीले परेड कौशल प्रदर्शन गरेका थिए ।
आदिवासी, जनजाति, शैक्षिक संस्था, वन उपभोक्ता, संरक्षण क्षेत्रले झाँकीसहित प्रदर्शन गरेका थिए । यसैगरी राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा ख्याती कमाएका प्रदेश १ का बासिन्दालाई पर्यटन दुतको रुपमा सम्मान समेत गरिएको थियो । नेपालका अग्ला व्यक्ति, हिमाल आरोही, कलाकार, धाविका, सुन्दरी प्रतियोगिता विजेतासहितलाई पर्यटन दुतको रुपमा नियुक्त गरिएको छ ।
सीमामै स्वागत
भ्रमण वर्ष २०२० मा नेपाल घुम्न आउने भारतीय पर्यटकलाई नेपाल–भारत मैत्री युवा संघले सीमामै स्वागत गरेको छ ।
विराटनगरबाट भित्रने पर्यटकलाई बुधबार बिहान सीमा क्षेत्रमा स्वागत गरिएको हो । भ्रमण वर्षको जानकारी गराउन सीमा क्षेत्रबाट प्रवेश गर्ने पर्यटकलाई स्वागत गर्दै पर्यटकीय गन्तव्यको बारेमा जानकारी गराइएको मैत्री युवा संघका संयोजक महमम्द सदरुलले जानकारी दिनुभयो ।