सूर्यग्रहणले गर्भवतीलाई असर गर्दैन !

सूर्यग्रहणले गर्भवतीलाई असर गर्दैन !

  • बिहिबार, पुस १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

वैज्ञानिकहरू भन्छन्, ‘परमाणु संयोजनले सूर्यलाई उज्यालो पार्ने भाग अर्थात् सूर्यको भित्री भागमा न्युट्रिनो कण उत्पन्न हुन्छन् र तीव्र गतिले सूर्यबाट निस्केर अन्तरिक्षमा जान्छन् ।’ यी कण ग्रहणको समयमा समेत चन्द्रमाको वारपार हुन्छन् र पृथ्वीमा आइपुग्छन् ।

क्षितिजमा सूर्य तल वा माथि भए पनि हरेक सेकेन्ड मानिसको शरीरमा यस्ता अर्बौं कणको वर्षा भइरहन्छ । अमेरिकास्थित नासाले भनेको छ, ‘यी कण पूर्णतः हानिरहित भएकाले मानिसलाई कुनै असर पुर्‍यादैन ।’

बिहीबार खण्डग्रास सूर्यग्रहण । विशेषज्ञहरुले ‘गर्भवतीले सूर्य ग्रहण हेर्दा बच्चामा नकारात्मक असर पुग्ने प्राचीन मान्यता गलत भएको’ बताएका छन् । नांगो आँखाले ग्रहण हेर्दा दृष्टिमा क्षति पुग्नेबाहेक कुनै शारीरिक हानी नहुने उनीहरूको भनाइ छ । उनीहरूका अनुसार ग्रहणको समयमा तयार पारिएको खाना खाँदासमेत कुनै असर पर्दैन । पूर्ण सूर्य ग्रहणको समय कोरोनाबाट प्रकाशका रूपमा निस्किने विद्युत् चुम्बकीय विकिरण सुरक्षित रहेको नासाले जनाएको छ ।

‘सूर्य ग्रहणको समय कुनै विशेष किरण वा कणको उत्सर्जन हुँदैन,’ भौतिकशास्त्री उदयराज खनालले भने, ‘त्यसैले शरीरमा नकारात्मक असर पर्ने कुरै आउँदैन ।’ वरिष्ठ नेत्ररोग विशेषज्ञ प्राडा डीएन साहले ग्रहण लागेको सूर्यलाई नांगो आँखाले नहेर्न सुझाव दिए । ‘निरन्तर हेर्दा फोटो रेटिनाइटिस अर्थात् आँखाको पर्दामा नकारात्मक प्रभाव पर्छ,’ उनले भने, ‘ग्रहण हेर्नुपरे विशेष प्रकारको ग्लास प्रयोग गर्दा उत्तम ।’

बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका अनुसार ग्रहणको समयमा मानिसमा पर्ने प्रभावबारे कुनै वैज्ञानिक आधार प्राप्त हुन सकेको छैन । समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माका अनुसार ग्रहणलाई नांगो आँखा, बाइनाकुलर वा टेलिस्कोप प्रयोग गरेर हेर्नु हुँदैन । हिमालय आरोहणमा प्रयोग हुने विशेष प्रकारको गाढा रङको धातु लेपन गरिएको चस्माबाट मात्रै अवलोकन गर्न उपयुक्त हुन्छ ।

काठमाडौंमा बिहान ८ बजेर ४३ मिनेटमा सुरु हुने सूर्य ग्रहण पश्चिमी नेपालको महेन्द्रनगरबाट ८ बजेर ३८ मिनेटमा र पूर्वी नेपालको भद्रपुर झापामा ८ बजेर ४८ मिनेटमा सुरु हुनेछ । काठमाडौंमा ग्रहण अवधि २ घण्टा ५० मिनेट, महेन्द्रनगरमा २ घण्टा ४१ मिनेट र झापामा २ घण्टा ५३ मिनेट रहनेछ । काठमाडौं र महेन्द्रनगर–कञ्चनपुरमा चन्द्रमाले सूर्यलाई ३९ प्रतिशत र भद्रपुर–झापामा ३६ प्रतिशत ढाक्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी