आज (पुस ७) पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सम्मानित नेता कृष्णप्रसाद भट्टराईको ९६औं जन्मजयन्ती।
आफ्नो जीवनकालभर सादगी जीवन बिताएर देहत्याग गरेका, बहुदलीय व्यवस्था आएलगत्तै अन्तरिम सरकारका प्रधानमन्त्रीसमेत भएका भट्टराईलाई प्रायः आदरका साथ ‘किसुनजी’ भनेर सम्मान गरिन्छ। उनै भट्टराईको सम्झनामा पुराना काँग्रेसका नेता जयप्रकाशप्रसाद गुप्ताले आफ्नो संस्मरण लेखेका छन्।
यो त्यही बेलाको कथा हो, जुन बेला भट्टराई अन्तरिमकालका प्रधानमन्त्री भएर विराटनगर कोइराला निवास पुगेका थिए, जहाँ उनलाई नोना कोइरालाले खाना र रेड लेबल ह्विस्की खुवाएकी थिइन्। त्यही बेला भट्टराईले भावुक बन्दै सोधेछन्, ‘के प्रेरणाले मलाई १६-१६ वर्ष जेल बसायो?’
गुप्ताको संस्मरणमा भट्टराईः
हामी एक-दुई अपवादबाहेक कोइराला परिवारकै सदस्यहरूबाट कोठा भरिएको थियो। यो त्यही कोठा हो, जहाँ केशवप्रसाद कोइरालाको देहावसान भएको थियो। यस्तै अनेकन् भावनात्मक लगावका कारणले नोना कोइरालाले यसलाई आफ्नो निजी कोठा बनाउनुभएको थियो।
किसुनजीको व्यक्तित्त्वको चर्चा गरिरहनु पर्दैन। सफा, स्निग्ध र प्रफुल्ल किसुनजी घुँडा माथिसम्मको धोती र कमिज लाएर त्यही भुइँमा बस्नुभएको थियो। कोइराला वर्चस्वको पारिवारिक माहोलमा किसुनजीको बज्रासन बसाइले उहाँलाई एउटै सतहमा बसेकाहरूमध्ये सबैभन्दा अग्लो बनाएको थियो।
त्यसबेला किसुनजी सबै काँग्रेसजनका आँखाका तारा र अपेक्षाको सबैभन्दा अग्ला व्यक्ति हुनुहुन्थ्यो। उहाँको स्वागतमा नोना कोइरालाको खुट्टा भुइँमा थिएन। दुश्मनलाई पनि घरमा माया गर्ने कोइरालाहरूका सामु त्यसबेला सबैभन्दा प्रिय पात्र जो थिए। फेरि किसुनजी नोनाका लागि नेतामात्र थिएनन्, रामनगरकी छोरी नोनाका लागि किसुनजी पारिवारिक पुरोहितका वंशज थिए, जो प्रजातन्त्र स्थापनाको लडाईंमा कोइरालाहरूको इगो सफल भएको प्रतीकको रूपमा त्यस दिन त्यहाँ हुनुहुन्थ्यो।
हामी मस्का भन्छौ नि, मस्का लगाउने! किसुनजी नोनालाई मस्का लगाउँदै हुनुहुन्थ्यो। हामीतिर हेर्दै भन्नुभो, बुझ्नुभो, म जेलमा हुँदा सधैं नोनाजीको हातबाट बनेको खाना सम्झेर बस्थें। २००७ सालमा विराटनगर मजदुर हड्तालका दौरान राणाहरूले एउटै डोरीमा बाँधेर कोइराला परिवारका महिलासमेत ९ जनालाई विराटनगरबाट अड्डासार गरेर काठमाडौं पुर्याएको स्मरण गर्दै नोनालाई सोही परिवारका वीराङ्गना भन्दै हुनुहुन्थ्यो।
नोनाले पस्कनुभएकी ‘रेड लेबल’ ह्विस्कीका केही पेगपछि किसुनजी अचानक गम्भीर हुनुभयो। विस्तारै उहाँका कुराहरू बढी दार्शनिक, आस्थामय र आध्यात्मिक हुँदै गयो। बद्री बस्नेत, अशोक कोइराला, हरि सापकोटा, रमेश घिमिरे, उमेश गिरी, वसन्त भट्टराई, नगेन्द्र ढुंगेल हामीहरू थियौं। यिनै जमाततर्फ हेर्दै किसुनजीले सोध्नुभो, ल भन्नुस् म कुन शक्तिको प्रेरणाले १६ वर्षसम्म जेल बस्न सके हुँला?
यो सबैका लागि समस्या खडा गर्ने जिज्ञासा थियो। संसारिकतामा नफसेको, आध्यात्मका उपासक, चरित्रका हठी, स्वभावका रमाइलो र व्यवहारका कुशाग्र, यो र यो भन्दा धेरै अन्तरनिहीत अदृश्य ज्ञानगुणका किसुनजी यत्रो वर्ष कुन प्रेरणाले जेल बस्नुभो? यो भन्ने सामाथ्र्य त्यहाँ कसैमा थिएन।
शक्तिमा मानिस देवत्व देख्छ। राजालाई त हामीले अवतार नै मान्यौं। राजा महेन्द्रले सत्ता हत्याएपछि भारतका तत्कालीन राजदूतले दूतावासको कार्यक्रममा राजाको आरती नै उतारे। हिन्दूहरूको सबैभन्दा लामो पुजाआजा त शक्ति पीठहरूमै हुन्छ। शक्तिका अगाडि सँगै जेलमा रहेका श्रीभद्र शर्मा, रूद्रप्रसाद गिरीहरू टिक्न सकेनन्। म स्वयं यही आस्थाको परिवेश र व्यवहारमा बाँचेको मानिस के अर्थमा अलग छु र?
किसुनजीमा जीवनका तत्ववोधहरूले ठाउँ ओगट्दै गएको थियो। हामी सब मौन रहेर, किसुनजीका कुराहरू गमिरहेको देखाएर मौन दार्शनिक भइसकेका थियौं। अर्थशास्त्रीका बारेमा भन्छन् नि! चारजना घाघरान अर्थशास्त्रीकाबीच बसेका पाँचौं अज्ञानी त्यतिञ्जेल मात्र अर्थशास्त्री हुन्छ, जबसम्म त्यो अर्थशास्त्रका बारेमा बोल्दैनन्। किसुनजीका सामुन्ने हामी त्यस्तै भएका थियौं। म त निश्चय नै।
तर, स-साना कुरामा रिसाउने, असन्तुष्ट भइरहने, हरबखत आफूमै पुरूषार्थ देख्ने हामी जस्ताका लागि भने यो गह्रुँगो सवाल थियो कि कुन प्रेरणाले किसुनजी यत्रो लामो समयसम्म अविचलित रूपमा, अडिग भई जेलमा बस्न सक्नुभयो!
उहाँ भन्दै हुनुहुन्थ्यो! नोनाजी, राममणि आचार्य दीक्षित जस्ता ऊ बेलाका प्रशासकहरू आउँथे, सादा कागज छोडेर जान्थे। किसुनजी मनमा जे आउँछ, चार लाइन लेखेर दिनोस्। जेलबाट रिहा हुनोस् र गर्नुस् राजनीति भन्थे।
धेरैले यसो गरेका पनि थिए। कतिपटक आफू गलेको र भोलि बिहानै छुट्ने बाटोमा बढ्ने प्रवल इच्छा बन्ने गरेको निश्चयी भएर राति सुत्ने गरेको सुनाउनुभयो। तर, बिहान विषम् अवस्थामा प्रतिदिन बिताउने गरेका साथीभाइहरूको प्रतिबद्धताबाट आफूले ती कुराहरूलाई बिर्सने गरेको सुनाउनुभयो।
‘धेरैले प्रारब्धलाई मानिसको बाह्य देखिने उपलब्धि ठानेका हुन्छन्। होइन, प्रारब्ध भनेको आन्तरिक दृढता हो। अध्ययनको आर्जनबाट मानिसको मनमा प्रारब्धको निर्माण हुन्छ। यही प्रारब्धले बाह्य परिणाम दिन्छ। प्रतिकूलतासँग लडने क्षमता दिन्छ। यही क्षमता मैले जेलमा आर्जन गरेँ र म यत्रो लामो समयसम्म टिक्न सके…!’
किसुनजीले कमसे कम मलाई त यन्त्रवत् श्रोता बनाउनुभएको थियो, त्यस दिनको राति। ह्विस्की फिका भएको थियो। जीवनमा अमिट रंगहरू थपिएको थियो। मध्यरातिसम्म सम्झेर ती कुराहरू लेखि बसेँ।
उहाँले नोना आमातिर उन्मुख हुँदै भन्नुभयो! ‘नोनाजी यही त्यो कुरा हो, जो तपाईंको कुल पुरोहितलाई देशको प्रधानमन्त्री बनायो।’
मैले राम्ररी ठम्याएको थिएँ, नोना आमाको अनुहार किसुनजीको प्रारब्धमा त्यस दिन गौरवान्वित देखिएको थियो।
म आज सम्झिन्छु,
नेपालको राजनीतिमा थोरै समयभित्र सबकुछ कसरी फेरियो। राजनीतिको ध्येय पनि, औचित्य र परिभाषा पनि!
(प्रस्तुत संस्मरण र तस्बिर जेपी गुप्ताको फेसबुक पेजबाट साभार गरिएको हो।)