काठमाडौं ६ पुस ।
नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तीन दिने सम्मेलन ३३ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । राजधानीमा चलेको तीन दिने सम्मेलन आज घोषणापत्र जारी गर्दै सकिएको हो ।
फौजदारी अपराध अनुसन्धानलाई विश्वसनीय बनाउन अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन ४,५ र ६ गते काठमाडौंमा चलेको थियो । सम्मेलनमा ६ सय २५ जनाको सहभागीता रहेको थियो ।
प्रहरी अधिकृत ३ सय २०‚ सरकारी वकिल २ सय ७० र पर्यवेक्षक ३५ जना सहभागी भएका थिए । सम्मेलनमा विभिन्न १४ विषयका कार्यपत्र पेश गरिएको थियो । सम्मेलनले फौजदारी अपराध संहिताको कार्यान्वयनमा देखिएका चुनौतीहरुलाई समाधान गर्ने बाटो खोज्ने लक्ष्य राखेको थियो ।
मुद्दाको अनुसन्धानका लागि पनि सरकारी वकिल र प्रहरीबीचको सहकार्यलाई पनि नयाँ उचाइमा र्पुयाउने लक्ष्य सम्मेलनले लिएको थियो ।