काठमाडौं, पुस ५ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमन्डलका संयोजक राजेन्द्र महतोले राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ दल नेकपासँग गरेको सहमति सरकारमा जानका लागि नभएको बताउनु भएको छ ।
आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा संयोजक महतोले राष्ट्रियसभामा आफूहरुको दुई सिट सुरक्षित गर्नका लागि नेकपासँग गठबन्धन गरेको बताउनु भएको हो । अहिलेको गठबन्धलाई लिएर ‘राजपा सरकारमा जान लाग्यो’ भनी जनतामा भ्रम सिर्जना गर्न खोजिएको भन्दै नेता महतोले अड्कलबाजीहरुमा कुनै सत्यता नभएको दाबी गर्नुभयो ।
संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ र कार्यकर्तामाथिको मुद्दा फिर्तासहितका माग पूरा नभएसम्म सरकारमा जान नसकिने उहाको भनाइ छ । अर्को एक फरक प्रसंगमा नेता महतोले सीमा विवादको समस्या समाधान नगरेर सरकार कानमा तेल हालेर बसेको आरोप पनि लगाउनु भयो ।
कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद समाधान गर्न सरकारले प्रमाणसहित कूटनीतिकरुपमा जिम्मेवार भएर लाग्नुपर्ने उहाको सुझाव थियो । उहाले आधार, प्रमाण र कूटनीतिक हिसाबले जिम्मेवार भएर लाग्नुपर्ने बताउनु भयो ।