काठमाडौं, ३ पुस । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले बैठकमा ‘धुँवाले छोपिदै दियो !’ शीर्षककाे कविता सुनाउँदै आफ्नो भनाइ राखेका छन्। बिहीबारको स्थायी समिति बैठकमा बोल्ने क्रममा रावलले आफ्नै पार्टीको नेतृत्व र पार्टीको अवस्थाबारे उनले कवितामा बोलेका हुन् ।
बुधबार बालुवाटारमा राष्ट्रिय जनता पार्टीसँग भएको दुई बुँदे सहमतिप्रति चर्को आपत्ति जनाएका नेता रावलको कविता त्यही विषयवस्तुमा केन्द्रित छ। राजपासँग सहकार्य गर्ने विषयमा पार्टी मुख्यालय धुम्रबाराहीमा एउटा अभ्यास हुँदै गर्दा एक्कासी बालुवाटारबाट निर्णय भएकोप्रति उनको कवितामा आक्रोश पोखिएको छ।
राजपासँगको सहमतिलाई नाकाबन्दीका लागि अंकमाल भएको उनको भनाइ छ। उनले नेतामा देशभक्ति हराएको टिप्पणी कवितामार्फत् गरेका छन्। रावलले सत्ता र धन भए साम्यवाद आवश्यक नभएको मात्र बताएका छैनन् शीर्ष नेताले इमान बेचेको उल्लेख गरेका छन्।
उनले शीर्ष नेता सिद्धान्त र विधिका डम्फु छोडेर सत्ता र धनको जीवनतर्फ लागेको आलोचना कवितामार्फत् नै गरेका छन्।