पुष ३, काठमाडौं ।
गृह मन्त्रालयले नेपाल प्रहरीका महानिरीक्षक (आईजी) सर्वेन्द्र खनाललाई पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
नेपाल प्रहरीले बेरुजु फस्र्योटमा यो बर्षपनि उत्कृष्टता प्रदर्शन गरेपछी गृहमन्त्रालयले महानिरीक्षक (आईजी) खनाललाई १० हजार नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
नेपाल प्रहरीमा आर्थिक वर्ष २०७३÷७४ को कुल बेरुजुमध्ये समग्रमा ८५ दशमलव १४ प्रतिशत फर्स्यौट गर्दै सरकारी कार्यालयमध्ये सर्वोत्कृष्ट भएपछी गतबर्ष पनि गृहमन्त्रालयले नेपाल प्रहरीलाई पुरस्कृत गरेको थियो ।
यो बर्ष गरिएको आर्थिक बर्ष २०७४÷७५ को लेखापरीक्षणमा बेरुजु फर्स्यौटको दर अघिल्लो आर्थिक बर्षको तुलनामा तीन दशमलव छत्तीस प्रतिशतले बढ्न गई कुल बेरुजुमध्ये ८८ दशमलव ५० प्रतिशत कायम भएको छ ।
बेरुजु फर्स्यौटमा यो बर्षपनि सर्वोत्कृष्ट भएपछि गत मंसिर २४ गतेको मन्त्रीस्तरीय निर्णयले प्रहरी महानिरीक्षक (आईजी) खनाललाई नगद पुरस्कार दस हजार रुपैयाँ र प्रशंसा पत्रसहित सम्मान गर्ने निर्णय गरेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।
यता, बेरुजु फर्स्यौटमा दोश्रोपटक पनि सर्वोत्कृष्ट भएपछी महानिरीक्षक (आईजी) खनालले प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखाका प्रमुख एसएसपी दीपक थापासहितका अधिकृतहरुलाई पुरस्कृत गर्ने भएका छन् ।
बिगत दुई बर्षदेखी आर्थिक प्रशासन महाशाखाको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका एसएसपी थापाले बेरुजु फर्स्यौटमा उल्लेखनीय भुमिका खेल्दै आएका छन् । संगठनमा आर्थिक अनुशासन कायम राख्दै बेरुजु फर्स्यौटमा उत्कृष्ट भुमिका खेलेको भन्दै गतबर्ष पनि पुरस्कृत भएका थिए ।
प्रहरी महानिरीक्षक भएलगत्तै सांगठनिक सुदृढीकरण, आन्तरिक शुद्धीकरण र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउदै आएका खनालले तीसबर्षे सेवाहदका कारण आगामी माघ २८ गतेदेखि अनिवार्य अवकाश पाउदैछन् । यद्यपि महानिरीक्षक (आईजी) खनालले गर्दै आएको उत्कृष्ट कामबाट प्रभावित भएको सरकारले तीसबर्षे सेवा हद हटाएर केही समय उनलाई नै निरन्तरता दिने बिषयमा अध्ययन शुरु गरेको बुझिएको छ । उक्त बिषयमा उच्च राजनीतिक तहमा छलफल भईरहेको स्रोतको दावी छ ।