काग्रेस बैठक फेरी स्थगित

काग्रेस बैठक फेरी स्थगित

  • बुधबार, पुस २, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

काठमाडौं : कांग्रेस केन्द्रीय समितिको बुधबार बोलाइएको बैठक पनि स्थगित भएको छ। बैठकका एजेन्डामा संस्थापन र असन्तुष्ट पक्षबीच सहमति हुन नसकेपछि बैठक स्थगित भएको हो।

एजेन्डामा सहमित नगरीकन बोलाइएको बैठकमा सहभागी नहुने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट पक्षले बैठक बहिष्कार गर्दै आएको छ। बुधबार पनि असन्तुष्ट पक्षले बैठक बहिष्कार गर्ने संकेत दिएपछि सभापति शेरबहादुर देउवाले पुस ४ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

बैठक स्थगनसँगै संस्थापन र असन्तुष्ट दुवै पक्षका नेताहर आन्तरिक छलफल र गुट बैठकमा व्यस्त भएका छन्। बुधबार देउवा निवास बुढानीलकण्ठमा पनि संस्थापन पक्षको अनौपचारिक छलफल भएको छ।
त्यसैगरी असन्तुष्ट समूहको बैठक असन्तुष्ट समूहका नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा बसेको छ। छलफलमा प्रकाशमानसिंह, कृष्णप्रसाद सिटौला लगायत छन्।

पौडेल र सिटौला पक्षले निरन्तर असहयोग गरेको भन्दै संस्थापन पक्ष पेलेर जाने रणनीति बनाएपछि देउवालाई दबाब दिन असन्तुष्ट पक्ष आन्तरिक छलफलमा जुटेको छ।सोमबारकै बैठकमा केही महत्वपूर्ण निर्णय गर्ने तयारी भएको थियो। तर सिटौला सोमबारको बैठकमा सहभागी भएर सहमतिका लागि पर्खिन अनुरोध गरेका थिए। सिटौलाले सोमबार पनि देउवासँग छलफल गरेका थिए।

नेता सिंहको निवास चाक्सीबारीमा मंगलबार बेलुका पनि सहमति भएको थियो। छलफलमा पार्टी उपसभापति विमलेन्द्र निधि, पूर्व महामन्‍त्री प्रकाशमान सिंह, दीलेन्द्र बडु र हृदयराम थानी सहभागी थिए।
सभापति देउवाले मंसिर २६ गते केन्द्रीय समिति बोलाए पनि अहिलेसम्म बैठक एजेन्डमा प्रवेश गर्न सकेको छैन। असन्तुष्ट समूहको बहिष्कार र असहयोगका कारण बैठक एकछिन बस्दै स्थगित भइरहेको छ। पौडेल नेतृत्वको असन्तुष्ट पक्षबाट निरन्तर बहिष्कार र असहयोग भएपछि देउवा पेलेर अघि जाने रणनीति बनाएका थिए।

महाधिवेशनको क्यालेण्डर, विभाग गठनलगायतका एजेन्डामा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच सहमति नजुटेपछि पौडेल पक्षले बैठकमा भाग लिएको छैन। पौडेल नेतृत्वको असन्तुष्ट समूहमा महामन्‍त्री सशांक कोइराला र नेता कृष्णप्रसाद सिटौला पनि छन्।महाधिवेशको क्यालेण्डर पहिले कि विभाग तथा अरु विषयको व्यवस्थापन पहिले भन्‍नेमा विवाद भएपछि सहमति हुन नसकेको हो।

महामन्‍त्री कोइरालासहितको पौडेल समूहले पहिले महाधिवेशनको क्यालेण्डर टुंगो लगाएर अरु विषयमा प्रवेश गर्नुपर्ने अडान राख्‍दै आएका छन् भने देउवा नेतृत्वको संस्थापन पक्षले विभाग गठन तथा पार्टीका अन्य आन्तरिक व्यवस्थापनका विषय टुंगो लगाएपछि मात्र महाधिवेशनको क्यालेण्डर तय गर्नुर्ने पक्षमा देखिएको छ। हाल कायम रहेका २८ विभागको संख्या बढाएर ४५ पुर्‍याउने तयारी संस्थापन पक्ष छ। ४५ विभाग गठनसम्बन्धी प्रस्तावलाई पारित गराउने रणनीतिमा देउवासहितको टिम रहे पनि असन्तुष्ट पक्षले यसमा विरोध गर्दै आएको छ।

संस्थापन पक्षले केन्द्रीय समिति बैठकमा उपनिर्वाचनको समीक्षा, आगामी पुस ७ देखि १६ गतेसम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियान, सकारको भूमिका, केन्द्रीय विभाग गठन, पार्टीका अन्तरिम संरचना गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालगायत विषय प्रवेश गराएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ