धनगढी, पुस १ ।
धनगढीको समैजी स्टोरका सञ्चालक भवानीसिंह भण्डारीले दृष्टि फाउण्डेशनमा जन्मदिन मनाएका छन् । दृष्टि फाउण्डेशनलाई मंगलबार परेको जन्म दिनको अवसरमा भण्डारीले खाद्यान्न सहयोग गरेका हुन् । भण्डारीले फाउण्डेनमा आश्रीत मनोरोगी तथा असहाय महिलाको सहयोगार्थ दुई कठ्ठा चामल, पाँच लिटर तेल, आठ किलो दाल, लुगा धुने सोडा, चाउचाउ, चिउरा, नम्कीन तथा असहाय बच्चाका लागि दुध र लुगा सहयोग गरे । एक पेटी बिस्कुट, नुन, मसला तथा बच्चाको लुगा खरिदकालागि उनले नगद एक हजार रुपैया सहयोग गरेका थिए ।
भण्डारीले मानसिक सन्तुलन ठिक नभएका तथा असहाय महिलालाई जन्मदिनको अवसरमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले पछिल्लो समय होटलमा गएर जन्म दिन मनाउदै अनावश्यक खर्च गर्ने परिपाटी रहेको भन्दै त्यसलाई निरुत्साहित गर्न आफूले असहायसंग जन्म दिन मनाएको बताए । दृष्टि फाउण्डेशनमा अहिले ३० मानसिक सन्तुलन गुमाएका महिला र तीन अनाथ एवं सडक छाप बालबालिका छन् । फाउण्डेसनकी सञ्चालक कल्पना भट्टले भण्डारीलाई जन्म दिनको अवसरमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गरिन् ।