सुजन तिमल्सिना
प्राकृतिक सुन्दरता, हिमश्रीङ्खला, जैविक विविधता, सूर्योदय र सुर्यास्त अवलोकन गर्न इलाको सन्दकपुर गाउँपालिकामा कुनै कृतिम टावरको आवश्यकता पर्दैन । इलामकै सबैभन्दा अग्लो चुचुरो सन्दकपुर, छिन्तापु, कालपोखरी, कैयाकट्टा, जौबारी, टप्पु, माबुथाम, हाँगेथाम जस्ता अग्ला अग्ला डाँडा थुम्काहरु जहाँबाट जता फर्केर हरेपनि धित नमर्ने मन नअघाउने सधै हेरिरहु, यतै बसिरहु लाग्ने आहा, कल्पना बाहिरको सुन्दरता । समुन्द्र सतहदेखि ३ हजार ६ सय ३६ मिटरको उचाइ रहेको सन्दकपुर नेपालको प्रमुख पर्यटकीयस्थल हो । भारतीय सीमा क्षेत्रमा पर्ने सन्दकपुर पर्यटन क्षेत्र भारतीय पर्यटन नक्सामा नम्बर १ पदमार्गमा राखिएको छ । र भारततीरबाट बर्षेनी डेढ लाख बढी पर्यटकहरु सन्दकपुर आउने गरको छन् ।
सन्दकपुर नेपाल भारत भुटानका ६० भन्दा बढी हिमाललाई कुम जोडिएझै १ सय ८० डिग्रीको सोझो सतहमा अंगालो हालेजस्तै आँखा अगाडी अवलोकन गरिने दक्षिण एसियाकै एक मात्र ठाउँ हो ।

सूर्योदय, सूर्यास्त अनेकौ प्रजातिमा फुल्ने लालिगुराँस हेरेर विश्वभरका पर्यटक आनन्द लिने गरेका छन् । सामरिक दृष्टिले पनि महत्वपूर्ण सन्दकपुर नेपालको सबैभन्दा बढी एकैठाउँबाट सगरमाथा, कंचनजङ्गा, मकालु पाथिभरा, कुम्भकर्ण लगायत हिमाललाई नजिकबाट नियाल्ने उत्तम गन्तव्य हो सन्दकपुर । छिनछिमा बदलिरहने मौसम र आँखै अगाडी देखिने हिमश्रृंखलाको दृश्यले सन्दकपुर डाँडामा पाइला टेक्दा पर्यटकलाई धर्तिमै स्वर्गीय आनन्द दिलाउँछ ।

यहाँ हिउँ परेको बेलामा हिउँ खेल्ने पर्यटकहरुको संख्या बढ्दो छ । इलामको चार खोलामध्ये पवित्र माई नदीको मुहान रहेकाले सन्दकपूरमा विश्वभरका श्रद्धालु भक्तजनले पुजा गर्दै आएका छन् । सन्दकपुरको डाँडाबाट सुर्योदय र सुर्यास्तको अलौकिक दृश्य अनि इलाम झापा र पश्चिम बंगालका अधिकासं गाउँबस्तिहरु हत्केलामा राखेर हेरिरहु जस्तो लाग्छ । बंगालको खाडिबाट बिहान झिसमिसेमै उदाउने कलिलो झुल्केघामको सबैभन्दा राम्रो दृश्य इलामको सन्दकपुरबाट मात्रै देखिन्छ ।

त्यही पहिलो घामको लालिमा पारिपट्टिको हिमालहरुमा टल्किदा आहा उचाई चुम्नुको मज्जा कत्तिहो कति । सन्दकपुर गाउँपालिका २ र ४ मा अवस्थित सन्दकपुर पर्यटकीय क्षेत्र देशभरका पर्यटकीय क्षेत्रमध्ये घुम्नै पर्ने हिमाली पर्यटकीय क्षेत्रमा रहेको छ ।


