धनुषा, ३० मंसिर ।
धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ मा भेटिएको बम सेनाले आज बिहान निष्क्रिय पारेलगत्तै नजिकै फेरि अर्काे शंकास्पद वस्तु फेला परेको छ।
प्रहरीका अनुसार पहिले बम भेटिएको संकटमोचन मन्दिरदेखि दुई सय मिटरजति पूर्व बाह्रबिघास्थित सरस्वती उच्च माविनजिक सडकमा शंकास्पद वस्तु देखिएको हो।
एउटा बम डिस्पोज गरेलगत्तै देखिएको उक्त वस्तु बम हो कि होइन भनेर अहिले सुरक्षाकर्मी अनुसन्धानमा जुटेका छन्। प्लाष्टिकमा बेरिएको अवस्थामा बमजस्तै शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।
विद्यालयनजिक सडक बीचमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले उक्त क्षेत्रमा आवतजावतमाथि रोक लगाएको छ।
यसअघि संकमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोछेउमा आइतबार राति ९ बजे बम भेटिएको थियो। जसलाई आज बिहान मात्रै सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो।
स्थानीय एक पसलको पर्खालमा झोलामा राखिएको बम रातभर सुरक्षा घेरा हालेर राखिएको थियो। यसअघि धनुषाकै महेन्द्रनगरमा शुक्रबार राति बम विस्फोट हुँदा प्रहरी निरिक्षकसहित तीन जनाको मृत्यु भएको थियो। चार जना गम्भीर घइते भएका छन् ।
यो घटना सेलाउन नपाउँदै पुनः शंकास्पद वस्तु भेटिएपछि स्थानीय त्रसित बनेका छन् ।